Logo

Banner-news

होटलको घाटा प्रतिमहिना १ अर्ब ८० करोड पुगेको छः सृजना राणा


GDP Nepal
   २० चैत्र २०७७, शुक्रबार


सर्वप्रथम ५५ वर्षीय इतिहास रचेको साना तथा ठूला होटलहरुको छाता संगठन होटल संघ नेपालको निमन्त्रणा स्वीकार गरी पाल्नु भएका प्रमुख अतिथि माननीय मन्त्रीज्यू, श्रीमान् सचिवज्यूहरु, विशेष अतिथिज्यू तथा अतिथिज्यूहरु लगायत सहभागी सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।
यस होटल संघ नेपाल सन् १९६६ मा नेपालको होटल उद्योगको हित तथा संरक्षणको लागि स्थापना भएको एक संस्था हो । स्थापना काल देखि नै यस संघले नेपाल सरकारको पर्यटन सम्बन्धित नीति नियम एवम् कार्यान्वयनमा सहयोग पु¥याउँदै आएको तथ्य यहाँहरुलाई अवगत नै छ ।

खर्बौं लगानी भएको होटल उद्योगमा करिब ५ लाखलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको तथा १०औं लाखलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी गराउन चाहन्छौं । यस संघले होटल व्यवसायी र यसका कामदार कर्मचारीहरुको हितको रक्षा गर्नुका साथै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदैं आईरहेको अवगत गराउन चाहन्छौं । यस होटल संघ नेपाल देशकै पहिलो पर्यटन ट्रेड संघ हो । साथै यस संघले होटल उद्योगले सामना गरिरहेको समस्याहरु सम्बोधन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरु सँग समन्वय गर्दछ ।

कोभिड–१९ बाट अति नै प्रभावित पर्यटन उद्योग, विशेष गरी होटल उद्योग रहेको र व्यवसायमा आएको मन्दीले सञ्चालन खर्चहरु धान्न नै नसक्ने अवस्थामा पुगी होटल उद्योग दिन दिनै धरासायी बन्दै गइरहेको छ । कोभिड–१९ को प्रभावलाई मध्यनजर राख्दै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा अन्य सरकारी निकायबाट प्रदान गरिएको राहत तथा सहुलियतले पर्यटन तथा होटल उद्योगलाई टेवा दिई सहयोग गर्नु भएकोमा हामी धन्यवाद व्यक्त गर्न चाहन्छौं । अहिलेको यस्तो जटिल अवस्थामा होटल उद्योगलाई सरकारको साथ र सहयोगको आवश्यकता रहेकोले होटल उद्योगको पुनरुत्थानको लागि अहिलेको जस्तै गरी आगामी दिनहरुमा समेत विशेष नीति मार्फत सरकारले हामीहरुको अभिभावकको भुमिका निर्वाह गर्छ भन्नेमा हामी विश्वस्त छौं । यसका साथै समग्र पर्यटन तथा होटल उद्योगलाई टिकाई राख्न नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला समक्ष निम्न सुझावहरु प्रस्तुत गर्न चाहन्छौंः

कामदार–कर्मचारी सम्बन्धमाः
नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी पश्चात सम्पूर्ण होटलहरु बन्द भएको र होटल खोल्ने सम्बन्धी सरकारको निर्णय सँगै होटल खुलेता पनि निकै नै कम क्षमतामा सञ्चालन भईरहेको अवस्थामा होटलमा कार्यरत कामदार कर्मचारीहरुको जीवन निर्वाहको लागि बाँच र बचाऔं भन्ने उद्देश्यका साथ यस होटल संघ नेपाल र केन्द्रीय ट्रेड युनियन बीच २०२० तथा डिसेम्बर २०२१ सम्म लागू हुने आधारभूत पारिश्रमिक निर्धारण गरेको व्यवस्थाबारे यहाँहरुलाई जानकारी गराउन चाहन्छौं । यो व्यवस्थाले होटल व्यवसायी र कामदार कर्मचारी बीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत पु¥याएको छ ।

आन्तरिक पर्यटन मार्फत अर्थतन्त्र चलायमान बनाइनुपर्ने
अन्तराष्ट्रिय पर्यटक आगमन पूर्ण अवस्थामा नफर्कुन्जेल अर्बौं रुपैयाँ लगानी रहेको यस होटल उद्योगलाई केहि हदसम्म चलायमान बनाउन आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखी सरकारले अल्प तथा दीर्घकालीन योजनाहरु तर्जुमा गरी यस उद्योगलाई सबल बनाउन सहयोग गर्नेछ भन्ने सम्बन्धमा हामी विश्वस्त छौैं ।

राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग
नेपाल सरकारले विगतमा यस उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा अगाढि बढाउन गृह कार्यहरु गरेको भएता पनि कार्यान्वयनमा आउन बाँकी रहेकोले यस उद्योगलाई कानुनी तवरबाटै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग बनाई सो अनुसारको सुविधा तथा सहुलियत प्रदान गरी यस्तो विषम परिस्थितिमा सहयोग गर्न अनुरोध गर्दछौं ।

पर्यटकीय उपजको वर्गीकरण
नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न र स्वदेशी एवम् विदेशी पर्यटकहरुलाई आकर्षित गर्न मुलुकको पर्यटकीय वस्तु, सेवा तथा गन्तव्यहरुलाई वर्गिकरण गरी सरकारबाट वर्गीकरण हुनुपर्ने साथै उक्त पर्यटीय उपजको दायरा (स्थानीय, प्रादेशिक, संघीय वा संयुक्त) तोकिए दीर्घकालीन रुपमा मुलुकको पर्यटन क्षेत्र अझ बढी विकसीत हुनेछ ।

उच्चस्तरीय तदर्थ समिति र कार्यदल
माननीय मन्त्रीज्यू मातहत एक समिति र श्रीमान् सचिवज्यूको अध्यक्षतामा कार्यदल गठन गरी Grievances Handling Cell, Survival Cell & Recovery Cell गठन गर्दै मनोवैज्ञानिक सन्त्रासमा रुमलिएका व्यवसायीहरुको समस्या सम्बोधन गर्दै पर्यटन उद्योगको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गरिनु अति आवश्यक रहेको छ भनी अनुरोध गरिसकेका छौं ।

मापदण्ड तथा सुरक्षा
होटल तथा रिसोर्टहरु ५ वर्षभित्र नविकरण गर्ने समयमा मात्र होटल तथा रिसोर्टहरुको स्थलगत निरीक्षण हुने भएकोेले बेला बेलामा नियमित रुपमा होटल संघ नेपालको सहभागितामा अनिवार्य रुपमा निरीक्षण हुन सके नेपाली होटल उद्योगको स्तर अभिवृद्धि भई अन्तर्राष्ट्रिय अभ्यास अनुकुल बनाउँदै स्तरीकरण गर्नुपर्ने हुन्छ ।

दर्ता तथा स्वीकृति
मुलुकको पर्यटन सम्बन्धी गतिविधि गर्ने व्यवसायजन्य निकायहरु उद्योग तथा अन्य निकायमा दर्ता रहेता पनि सो सम्बन्धी इजाजत उपलब्ध गराउने पर्यटन विभागसँग अनिवार्य रुपमा इजाजत तथा स्वीकृति लिएर मात्र व्यवसाय सञ्चालन गर्दै नियमन प्रभावकारी बनाइनु
पर्दछ । साथै होटल सञ्चालनका लागि विभिन्न निकायहरुमा धाइरहनु पर्ने आजको अवस्थालाई मध्यनजर गर्दै यस कार्यमा एकद्वार प्रणाली लागू गरिनु पर्ने पनि हाम्रो राय रहेको छ ।

कर सम्बन्धमा
अति प्रभावित उद्योगलाई यो समयमा कर मिनाहा गर्दै भारी छुट दिँदा व्यवसायीहरु पलायन हुनबाट मात्र जोगाउँदैन यसले संकटको समयमा लोक कल्याणकारी राज्यको अवधारणालाई कर प्रणालीको अद्यावधिकरण गरी कोभिड कर प्रणाली अनुसार गर्नुहुन पर्यटन तथा होटल उद्योगको माग रहेको छ । हामीले करिब ११ ठाउँमा कर तथा राजस्व बुझाउनु पर्ने अहिलेको अवस्थालाई मनन गरी एकद्वार प्रणाली लागू गरी यस किसिमको झण्झटिलो अवस्थालाई हटाई एकीकृत गरिनु पर्ने ।

एकीकृत तथ्यांक प्रणाली
नेपाल भित्रिने पर्यटकहरुको तथ्यांकहरु निश्चित एकाई वा निकायमा रहने र नीति–नियम, योजना कार्यान्वयनको क्रममा स्पष्ट तथ्यांकको अभाव रहेको हुँदा पर्यटन सम्बन्धी तथ्यांकको वर्गिकरण गरी एकीकृत पर्यटन तथ्यांक प्रणालीको विकास गर्दै सहज पहुँच स्थापित गर्नु अति आवश्यक रहेको छ ।

तारास्तर अंकित चिन्ह
होटल संघ नेपाल, पर्यटन मन्त्रालय र पर्यटन विभागसँगको निरन्तर छलफल र प्रयासपछि हामीले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सहज हुने गरी होटल भित्र प्रवेश गर्ना साथ होटलको स्तर तथा तारा प्रष्ट हुने गरी संकेत चिन्ह राखिने व्यवस्था बारे गर्वका साथ जानकारी गराउन चाहन्छौं र उक्त व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गराउने प्रतिबद्धता गर्दछौं ।

सहुलियत सम्बन्धमाः

सामाजिक सुरक्षा कोष सम्बन्धमाः
सामाजिक सुरक्षा कोष ऐन, २०७४ ले व्यवस्था गरे बमोजिम सम्पूर्ण होटल तथा रिसोर्टहरु उक्त कोषमा आवद्ध भई योगदान सुरु गरि मुलुकको कानूनको परिपालना गरी हामीले आफ्नो जिम्मेवारी वहन गरेका
छौं । त्यसै गरी कोषले पनि दर्ता तथा योगदान गरेका होटल तथा यसमा आबद्ध कर्मचारीहरुलाई अधिकतम लाभ हुने योजनाहरु ल्याउन अनुरोध गर्दछौं । साथै मुलुकको कानून अटेर गरी कोषमा दर्ता हुन बाँकी अन्य संस्थाहरुलाई पनि समयमै दर्ता भई यसको लाभ लिन लगाई आफ्नो जिम्मेवारी वहन गर्न अनुरोध गर्दछौं । अटेर गरी दर्ता नभएकाहरुलाई नियम अनुसार दण्ड जरिवाना गर्न पनि अनुरोध गर्दछौं ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति, २०७७ मार्फत पर्यटन तथा होटल उद्योगलाई टेवा दिन निम्न बमोजिमको सहुलियत प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्न चाहन्छौंः
**पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाह गर्ने ।

**पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधिन आयोजनाहरु निर्माण सम्पन्न गर्न पुँजीको अभाव हुने भएमा त्यस्ता आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगबाट कर्जा उपलब्ध गराउने ।

**पुनरकर्जा सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्दै पुनरकर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा उपलब्ध गराउने ।

**रु. ५० अर्बको कोष परिचालनमार्फत निश्चित मापदण्डको आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने ।

**कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्ने ।

**२०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्नेे साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्ने सुविधा ।

यस बाहेक नेपाल सरकार तथा अन्य सरकारी निकायबाट प्रदान भएका निम्न अनुसारको सहुलियतको लागि पनि यस संघ आभार व्यक्त गर्दछः

**सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम चैत महिना तथा लकडाउन अवधिभरको लागि नेपाल सरकारले व्यहोरेको ।

**काठमाडौं महानगरपालिकाले होटललाई आर्थिक बर्ष २०७७÷७८ को सम्पत्ति करमा थप ७५ (पचहत्तर) प्रतिशत छुट दिएको ।

**होटललाई २०७६ चैत ९ गते देखि २०७७ भाद्र मसान्तसम्मको डिमाण्ड चार्जमा शतप्रतिशत छुट तथा २०७७ असोज १ गतेदेखि २०७७ माघ मसान्तसम्म ५० प्रतिशत छुट प्रदान गरेको छ ।

तालिम तथा प्रशिक्षणः
होटल संघ नेपालले मुलुकभर छरिएर रहेका सदस्य होटल तथा रिसोर्टमा काम गर्ने कामदार तथा कर्मचारीहरुलाई नेपाल सरकारबाट अवलम्बन गरिएका सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर यस परिस्थिति तथा यसपछिका परिस्थितिमा कसरी होटल तथा रिसोर्टहरु सञ्चालन गर्ने भन्ने उद्देश्यले तालिम तथा प्रशिक्षण कार्यक्रमहरु अगाडि बढाईरहेको छ ।

होटलको समग्र स्थितिः
मुलुकलाई अर्बौंको राजस्व बुझाउने यस उद्योगमा हालसम्म साना तथा ठूला होटलहरुमा भएको लगानी करिब १५ खर्ब रहेको छ भने बैंकको ऋण करिब ३ खर्ब रहेको छ । होटलहरु पूर्ण रुपमा बन्द हुँदा प्रति महिना १ अर्ब ८० करोडको घाटा बेहोर्नु परेको छ । होटलहरुमा कार्यरत कामदार तथा कर्मचारीहरुको संख्या करिब १० लाख रहेको छ । साथै मुलुकमा एकीकृत तथ्यांकको कमी रही पर्यटन क्षेत्रको कुल गार्हस्थ्य उत्पादन न्यून देखिए तापनि कम्तीमा पनि यस क्षेत्रको हिस्सा ७.८ प्रतिशत रहेको हाम्रो जिकिर छ ।

हामी यसै सभा मार्फत नेपाल सरकार र अन्य सरकारी निकायहरुमा यस पर्यटन एवम् होटल उद्योग सम्बन्धी समस्या तथा गुनासोहरु एकल वा व्यक्तिगत हिसाबमा सम्बोधन गर्नु भन्दा पनि सामूहिक रुपमा यस संघ मार्फत नै गर्नुहुन विनम्र अनुरोध गर्दछौं । धन्यवाद ।

होटल संघ नेपालको ४७औं वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सृजना राणाको सम्बोधन

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह