Logo

Banner-news

चेम्बर गल्फको पहिलो उपाधि पूर्व सचिव कार्कीलाई


GDP Nepal
   २२ चैत्र २०७७, आइतबार


काठमाडौं । पूर्वसचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि हात पारेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका हुन् ।

कार्कीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि पोखरामा सम्पन्न बाह्रखरी गल्फको उपाधि पनि कार्कीले नै हात पारेका थिए ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोडेका थिए ।

३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बन्न सफल भए भने महिलातर्फको उपाधि गीता गुरुङले जितिन् । उनले ३८ स्कोर बनाएकी थिइन् ।

महिलातर्फ ३५ स्कोरसहित रेखा घिमिरे उपविजेता बनिन् । सिनियर पुरुषतर्फको उपाधि पूर्व सेनाप्रमुख जनरल गौरव शमशेर राणाले जिते भने दिलीपजंग रायमाझी उपविजेता बने ।

चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्र कुमार कार्की भए । प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेश कुमार सिंहले जिते ।

लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेज बहादुर राईले जिते । विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा ८८ जना खेलाडीको सहभागिता रहेको थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी अनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो ।

‘नेपाल गल्फ पर्यटनको गन्तव्य’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आउँदा वर्षहरूमा ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ लाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरिने बताए । उनले गल्फ लगायत खेलकुदमार्फत पर्यटनको विकासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तयार रहेको बताए ।

गभर्नर अधिकारीले गल्फ लगायतका खेल अर्थतन्त्रसँग जोडिएकाले पर्यटन प्रबर्द्धनमार्फत् वैदेशिक मुद्रा आर्जन गर्न सक्ने बताए । देशमा आवश्यकता अनुसारले गल्फ कोर्टहरू बनाई यो खेलको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो ।

रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले नेपाललाई गल्फ पर्यटनको केन्द्र बनाउन सकिने बताए । थाइल्यान्डले गल्फ पर्यटनबाट हरेक वर्ष १० लाख पर्यटक आकर्षित गरी ६ बिलियन अमेरिकी डलरको वार्षिक व्यापार गरिरहेको उदाहरण दिँदै उनले नेपालले यसबाट प्रेरणा लिन सक्ने बताए ।

नेपालको मौसम, जलवायु, प्राकृतिक सुन्दरता, भूगोल र मित्रवत् नागरिकका कारण गल्फ पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

प्रकाशित : २२ चैत्र २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह