Logo

अर्थनीति

घरजग्गा कारोबारी सट्टेबाज नै हुन् ?


appharu
   २० असार २०७५, बुधबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा घरजग्गा कारोबारीलाई सट्टेबाजको संज्ञा दिए ।

राष्ट्र बैंकको गभर्नर हुँदा घरजग्गा कारोबारलाई सँधै अनुत्पादक क्षेत्र मान्दै कर्जा नीतिमा कठोर बनेका कारण उनीप्रति धेरैको गुनासो छ । धेरैले उनलाई यही कारण बैंकिङ क्षेत्रका पायोनियर पनि मान्ने गरेका छन् ।

तर, घरजग्गा कारोबारमा कर्जा सीमा तोक्ने नीति अघिल्ला गभर्नर विजयनाथ भट्टराईले गरेका हुन् र खतिवडाले त्यसलाई निरन्तरता मात्र ।

यद्यपि, खतिवडाले घरजग्गा र सेयर कारोबारीलाई कहिल्यै पनि सकारात्मक रुपमा भने ट्रिट गरेका छैनन् । अर्थमन्त्री भएपछि त सम्पूर्ण वित्तीय नीतिमै ‘आफ्नो हात जगन्नाथ’ भएकाले उनले यी दुवै क्षेत्रलाई आफ्नो पदचाप पछ्याउन बाध्य बनाएका छन् ।

संसदमा पनि उनले घरजग्गामा सट्टेबाजी सरकारलाई सह्य नहुने चेतावनी पनि दिए । अर्थमन्त्री खतिवडाले आर्थिक विधेयकमा व्यवस्था गरिएका कर सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा घरजग्गा कारोबारलाई निरुत्साहित गर्ने नीतिअनुरुप पुँजीगत लाभकरको व्यवस्था गरिएको बताए ।

अर्थमन्त्री खतिवडा त्यतिमा मात्र रोकिएनन् । कृषियोग्य जमिनलाई प्लटिङ गरेर सट्टेबाजी गर्नेहरुलाई सरकारले कुनै हालतमा प्रोत्साहित नगर्ने बताउँदै उनले भने, “जग्गालाई वित्तीय उपकरण बनाएर कारोबार गर्नेहरुलाई निरुत्साहित गर्नकै लागि सरकारले ५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरेको हो ।”

आगामी आर्थिक वर्षको बजेट सार्वजनिकपछि घरजग्गा कारोबार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले जमिनमाथि खेलवाड र सट्टेवाजी रोक्न आवश्यक रहेको बताए ।

सेयर बजारप्रति भने पछिल्लो समय उनी केही लचिलो देखिएका छन् । घरजग्गाको रकम पुँजी बजारमा आओस् भन्ने आफ्नो चाहना उनले सुनाए । तर, पुँजी बजारको अर्थ सेयर बजारमात्र हैन ।
“पुँजीबजारतिर लगानी आकर्षित होस् भनेर तथा कृषियोग्य जमिनमाथिको खेलवाड रोक्न पुँजीगत लाभकरको व्यवस्था गरिएको हो” उनले भने ।

खतिवडाले घरजग्गा कारोबारीलाई सट्टेबाज नै भने पनि त्यसमा आंशीक सत्यता भने छ । जग्गाको मूल्य अस्वभाविक रुपमा वृद्धि भइरहेकाले नेपालमा औद्योगिक र व्यावसायिक लागत समेत महँगो बन्दै गइरहेकाले यस क्षेत्रबाहेक अन्यमा संलग्नले यसलाई भने सकारात्मक रुपमै लिने गरेका छन् ।

प्रकाशित : २० असार २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह