Logo

Banner-news

‘कोभिड वारियर’लाई शंकर ग्रुप र इन्फिनिटी होल्डिङबाट साढे तीन करोड बढीको सहयोग


GDP Nepal
   ५ जेष्ठ २०७८, बुधबार


काठमाडौं । कोभिड–१९ को संक्रमण बढेसँगै नेपालका दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त सहयोग अभियान चलाएका छन् । यो अभियानबाट कोरोना महामारीविरुद्ध संघर्षमा रहेका अस्पताल तथा व्यक्तिलाई ठूलो सहयोग मिलेको छ ।

सहयोग अभियानको क्रममा दुई समूहले देशभरका विभिन्न अस्पताल तथा अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’लाई साढे तीन करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण र प्राविधिक सहयोग गरिसकेका छन् ।

शंकर र इन्फिनिटीले वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ । थप सामग्री केही दिनमा प्रदान गर्ने योजना रहेको यी कम्पनीले जनाएका छन् ।

सहयोग अभियानका क्रममा शंकर र इन्फिनिटीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० बेड र आवश्यक म्याटरेस, तन्ना, सिरानी र त्यसको खोल लगायतका सामाग्री प्रदान गरेको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थालाई एक सय बेड र आवश्यक उपकरण तथा सामग्री प्रदान गरिएको छ ।

अभियानका क्रममा कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका रुपन्देहीका ‘कोभिड वारियर’लाई ५० हजार मास्क वितरण गरेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा लगभग डेढ लाख थान मास्क, २०० थान पीपीई सेट वितरण गरिएको जनाएको छ । समूहले वीर अस्पतालमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयंमसेवामा खटिएका ‘हामी नेपाल’का स्वयंमसेवकका लागि २ सय ५० थान पीपीइ सेट, २०० फेस सिल्ड र पाँच हजार मास्क वितरण गरिसकेको छ ।

शंकर र इन्फिनिटीले केही दिनमै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुपयोगी अक्सिजन प्लान्ट जडान गर्दैछ । उक्त प्लान्टले ४५ शय्याका लागि ‘हाइ फ्लो’मा अक्सिजन प्रदान गर्नेछ भने दैनिक सात सय लिटर अक्सिजन उत्पादन गर्ने बताइएको छ ।

शंकर र इन्फिनिटीले चीनबाट मगाएको ५ सय २० थान भल्भस र रेगुलेटर सहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई केही दिनमै हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सहयोग अभियानकै क्रममा सुदूरपश्चिम प्रदेशमा ३ सय २० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिनेछ । त्यस्तै सशस्त्र प्रहरी अस्पताल र कर्णाली प्रदेशलाई एक–एक सय सिलिण्डर हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको छ ।

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिभनटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोग अभियान निरन्तर रहने बताएका छन् । मानवीय संकटमा अधूरा र उधारो बाचाभन्दा तत्काल आवश्यकताको पूर्तिका लागि आफूहरु सक्रिय रहेको अग्रवाल र भट्टको भनाइ छ ।

अध्यक्षद्धय अग्रवाल र भट्ट भन्छन्– ‘महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा सहयोग अभियान चलाएका हौँ । तत्काल आवश्यक पर्ने सामग्री सहयोग गरेर केही व्यक्ति बचाउन सकियोस् भन्ने हाम्रो उद्देश्य हो ।’

शंकर र इन्फिनिटीले काठमाडौंमा सामाजिक संस्था ‘हामी नेपाल’ र सुदूरपश्चिम प्रदेशमा ‘ह्यूम्यानिटी फाउण्डेशन’मार्फत सहयोग हस्तानान्तरण गर्दै आएको हो ।

प्रकाशित : ५ जेष्ठ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह