Logo

Banner-news

प्रशासनको मूर्खतापूर्ण निर्णयले बजारमा झन भीडभाड, कोभिड नियन्त्रणमा प्रत्युत्पादक !


GDP Nepal
   १२ जेष्ठ २०७८, बुधबार


काठमाडौं । कोभिड­ १९ सङ्क्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा जेठ १४ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा कडाइ गरिएको छ । दुई दिन किनमेलका लागि समय छुट्याएर शुक्रबारदेखि निषेधाज्ञामा कडाइ गर्ने उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको निर्णय कोभिड नियन्त्रणका लागि प्रत्युत्पादक बन्ने देखिएको छ ।

जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।

तर, बुधबार बिहानदैखि उपत्यकामा भीडभाड बढेको छ । बेमौसमी झरी बढिरहे पनि दैनिक उपभोग्य पसलमा उपभोक्ताको भीड थामिनसक्नु देखिन्छ । मुख्य चेक र सडकमा स्थिति सामान्य देखिए पनि बसोबास रहेका क्षेत्रमा भने किनमेलका लागि उपभोक्ता सडकमा निस्किएका छन् ।

यसरी सरकारको निर्णयकै कारण कोभिड झन फैलने जोखिम बढेको छ । एक साता उपत्यका ठप्प गरेर कोभिड नियन्त्रणमा लिन्छु भन्ने प्रशासनको रवैयालाई जनस्वास्थ्यविद्ले पनि मूर्खतापूर्ण कदमको संज्ञा दिइरहेका छन् । भीड कम गर्न बरु बजार खुल्ने समय बढाइनुपर्नेमा उल्टै साँघुर्याउँदै लैजाँदा जोखिम बढेको उनीहरुको भनाइ छ ।

यसअघि, काठमाडौँ उपत्यकाका काठमाडौँँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले आगामी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । यसअघिको यही जेठ १३ गते राति १२ बजेसम्मका लागि आदेश जारी भएको थियो । यसपाली भने किराना पसल पनि बन्द गरिएको छ । वबहानी बेलुकाको घुमघाममा समेत रोक लगाइएको छ ।

काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीका अनुसार यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्यास) खरीदबिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो ।

अहिले थपिएका समयमा भने खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्टल स्टोर्सलगायत अन्य पसल सञ्चालनमा रोक लगाइएको छ ।

विगतमा उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । अहिले तेस्रो पटक म्याद थप गरेर आदेश लागू गरिएको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइने छैन ।

औषधी, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दुरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सार्वजनिक एबं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुने छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन सरफमाईमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दुरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राती ९ देखि विहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेकका क्षेत्रमा विक्री बन्द गर्ने र थोक बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ ।

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था÷संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैँक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारी साधान विहान ९ः३० देखि १०ः३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

बाणिज्य बैँकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्युनतम जनशक्ति ९२० प्रतिशत० मात्र परिचालन गर्नुपर्ने छ । यसअघि २५ प्रतिशत सम्म जनशक्ति राख्न सकिने व्यवस्था थियो ।

बैँकका गाडी जम्मा दुई मात्रै सञ्चालन गर्न पाइने छ । सबै अनुगमन प्रशासन कार्यालयले गर्ने भनिएको छ । यस्तै सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गतिविधि सञ्चालनमा रोक लाइएको छ ।

अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा ७ जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु स।सकारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धीत वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा एक जना उपत्यकाभित्र जान पाइने तर अन्यत्र बिरामी भइ जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ ।

सुरक्षा गार्डले पोशाक र परिचयपत्रको आधारमा कार्यस्थलमा आवतजावत गर्न पाइने छ । औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धिका पसल निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ ।
­­­

प्रकाशित : १२ जेष्ठ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह