Logo

Banner-news

श्रमिकको नयाँ तलबमान होटल क्षेत्रमा तत्काल लागू नगर्न हानको आग्रह !


GDP Nepal
   ३ असार २०७८, बिहिबार


काठमाडौं । होटल संघ नेपालले श्रमिकको नयाँ तलबमान होटल क्षेत्रमा तत्काल लागू नगर्न आग्रह गरेको छ । कोभिड महामारीका कारण होटल क्षेत्र धरासायी भएको उल्लेख गर्दै संघले श्रम तथा रोजगार मन्त्री विमलप्रसाद श्रीवास्तवसमक्ष यस्तो आग्रह गरेको हो ।

संघका अध्यक्ष सृजना राणा र प्रथम उपाध्यक्ष विनायक शाहले बुधबार नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रीवास्तवलाई भेटी संक्रमणकालीन व्यवस्था अनुरुप होटल उद्योगलाई बचाई राख्न यस्तो छुट दिन आग्रह गरेका छन् ।

होटल उद्योगको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो समयमा तलबमान वृद्धि नगर्न विभिन्न वैठकहरुमा सुझाव राखी सहमत भए तापनि नेपाँ तलबमान वृद्धिमा होटल उद्योगलाई पनि एउटै समूहमा राखिएको संघको भनाइ छ ।

“नेपाल राजपत्रमा प्रकाशित श्रमिकहरुको नयाँ तलबमान होटल क्षेत्रमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नभएकोले लागू नगरियोस्,” संघले भनेको छ, “तोकिएको तलबमान समेत भुक्तान गर्न नसकिएको यो समयमा होटल संघ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भएअनुसार हस्ताक्षरकर्ता ट्रेड युनियनहरुबीच समेत छलफल भई मान्य भइसकेको अवस्था रहेको छ ।”

यस्तै, सम्झौतामा होटलको स्तर अनुसार विभिन्न परिमाणको तलबमान तोकिएकोले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको हुँदा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्थाका लागि संघले अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ को वार्षिक बजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट व्यहोर्ने घोषणा भए तापनि वर्तमान अवस्थालाई ध्यानमा राखी अति प्रभावित होटल उद्योगलाई ताहाँ मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराई सामाजिक सुरक्षा कोषप्रति आकर्षण अभिवृद्धि गर्न फरक नीति अवलम्बन गरिदिनुपर्ने हानको माग छ ।

होटल उद्योगलाई अतिप्रभावित क्षेत्र मानी संक्रमणकालिन अवस्था र विषम परिस्थितिलाई आधार मानी आवश्यक संशोधनमार्फत नीतिगत सहयोग र सहजिकरणको लागि संघले विशेष अनुरोध गरेको छ ।

प्रकाशित : ३ असार २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह