Logo

Banner-news

फरक मतः दलित–दलितबीचको छुवाछुत चाहिँ किन हट्न सकेन रुपा जी ?


१३ असार २०७८, आइतबार


भुवन थापा

रुपा सुनारलाइ मेरो प्रश्न – कामिको घरमा सार्की / दमाईलाई प्रवेश दिनुहुन्छ ?    

काठमाडौंको एक घरमा सञ्चाररकर्मी रुपा सुनारलाई दलित भएकै कारण कोठा भाडामा नदिएको भन्ने विषयले अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यम तातेका छन् । जातीय विभेदले गर्दा दलितले सजिलोसँग कोठा नपाउने यो पहिलो समस्या र घटना भने हैन । दलित समूदायका कतिपय व्यक्ति कोठा पाउनको लागि आफ्नो परिचय लुकाउन बाध्य छन् । तर, यसरी दलित र गैरदलितको विभेद बहसमा आउँदा समाजमा यसरी बुझिन्छ कि, दलितलाई भेदभाव गर्ने गैरदलित मात्र हुन् । गैरदलितले दलितलाई घृणा गर्छन् । छोएको खाँदैनन । घरमा पस्न दिँदैनन् । दलित दलित एक हुन्, समानता छ ।

लेखक भुवन थापा

तर यहाँ दलितले दलितलाई गर्ने विभेदको बारे समाज मौन छ । यसबारे दलित अधिकारकर्मी भनिनेहरु बोल्दैनन् । न त दलित संगठनले आवाज उठाउँछ्न्, अझ दलित आयोगले त देखेको नदेख्यै गर्दछ। कतिलाई त दलितले दलितलाई गर्ने विभेदको बारेमा थाहा नहुन पनि सक्छ । दलित भनेपछि सुनार वा विक , दमाई , सार्की, चमार, डुम सबैलाइ एकै टोकरीमा राखेर हेर्न गरिन्छ र बुझिन्छ । तर सामाजिक यथार्थ त्यो छैन । अहिले रुपा सुनार आफूमाथि जसरी जातीय विभेद भयो भनेर कानुनको ढोकामा पुग्नु भएको छ । तर, समाजमा त्यहीँ सुनार जाति हो । जसले सार्की र दमाइलाई सबैभन्दा ठूलो विभेद गर्छ । दलित जातिमा सुनार र विश्वकर्मा सबैभन्दा उच्च जातका मानिन्छन् । उनीहरुको घरमा न त्यो भन्दा तल्लो जातका पस्न पाउँछन् न सार्कीले छोएको खान्छन् ।

यसको उदाहरणको लागि ७ वर्ष अगाडिको पर्वतको घटना हेर्दा नै काफी छ । विकको छोराको ब्रतबन्धमा सार्कीको छोराले दाल छोइदिएकोमा दुर्इ पक्षबीच विवाद भएको थियो । भोजमा सार्कीको छोराले छुँदा विश्वकर्मा समुदायले तल्लो जातले छोएर खाना बिटुलो बनाएको भनेर विवाद चर्किंदै गएको र सोही कारण १५ वर्षीय राजेस सार्कीको हत्या नै गरियो । यसरी दलित दलितले जातीय विभेद गरेर एक अवोध बालकको हत्या हुँदा न अधिकारकर्मी बोले न माइतीघर नारा लाग्यो । न त त्यसले संचार माध्यममा अहिलेको जस्तो ठाउँ नै पायो । यो घटनाको रिपोर्ट २०७१ साल वैशाख २१ गतेको नेपाल साप्ताहिकमा पर्वतबाट प्रेम नेपालीले लेखेका थिएँ । जुन प्रति अहिले मसंग सुरक्षित छ ।

दलितले दलितलाइ विभेदको यो एउटा प्रतिनितिध्व घटना मात्र हो । एक दलितले अर्को दलितलाइ पानि छोएको निहुँमा कुटपिट गरेको , कामी र दमाई युवक – युवतीको प्रेम विवाह समाज र परिवारले अस्वीकार गरेको लगाएत अरु थुप्रै घटना भैरहेको छ ।  तर दलितको बारेमा आवाज उठाउने संघसस्था यस्तो घटना थाहा नपाएको जस्तो गर्छन । गैरदलित र दलित बीच विभेद मात्र समाजमा उग्र बनाउँछन् ।

तर संयोग भन्नु  पर्छ  । अहिले जसरी रुपा सुनारले राजधानीमा घरबेटीले कोठा दलितलाई कोठा नदिएको भनेर तहल्का पिटिएको छ । हिजो त्यहीं सुनार जात नै हो । जसले सार्की जातको एक अवोध बालकलाइ ब्रतबन्ध भोज छोएको भनेर हत्या गर्यो । त्यहीं सुनार समुदाय हो । जसले आज पनि सार्की , दमाई , डुम , चमारले छोएको खादैनन न त आफ्नो घरमा पस्न नै दिन्छन ।   त्यसैले म रुपा सुनार लगाएतलाई प्रश्न गर्छु – के तपाईंको घरमा सुनार भन्दा तल्लो जातकालाई प्रवेश छ ? तपाईं वा तपाईंको परिवारले जातिय विभेद गर्दैन ? हो रुपा सुनारको घरमा विभेद छैन होला । तर समाजमा त्यो अवस्था छैन ।                                                                                

            मेरो आफ्नो घरको उदाहरण दिनुपर्दा गाउँमा सायद मेरो घर नै पहिलो घर होला – जहाँ हामी सानै हुँदा देखि दलितलाई प्रवेश थियो । न कामी भनियो न सार्की । विकको घरमा सार्कीलाई प्रवेश नहुँदा हाम्रो घरमा रोक थिएन ।   घरमा टिभी हेर्न आउने हुन वा दसौं तिहारको समयमा घरमा तास खेल्न आउने हुन – मेरो बुबा कोहि भित्र बसेर हेर्न त कोहि बाहिर बसेर चिहाउने गर्नु हुँदैन भन्नु हुन्थ्यो । उहाँले हजुरबुबा र हजुरआमालाइ जातिय विभेदको कुरा  बुझाउनु भएको थियो । तर हजुरबुबा र हजुरआमाको आग्रहमा घरमा प्रवेश गरेर पनि भान्छा कोठामा हाम्रो पालासम्म पस्न पाइदैन भन्नू भयो ।  बुबाले  पनि हजुरआमाको कुरा मान्नु भयो र हजुआमाले पनि बुबाको कुरा । 

मैले यति लेखिरहदा फेरी दलित दलित बीच त विभेद छ – गैरदलित र दलित बीच झन् विभेद हुनुपर्छ भनेको हैन ।  अहिले समाजमा आफ्नो स्तर अनुसारको जातीय विभेद व्याप्त छ ।  उपाध्याय बाहुनले क्षेत्रीले छोएको / पकाएको खादैनन । सबैले आफ्नो हैसियत अनुसार विभेद गरेका र भोगेका छन् समाजमा । त्यसैल यस्तो जातीय विभेद न कानुन मात्र बनाएर अन्त्य हुन्छ । न जबर्जस्त गरेर र अधिकारकर्मी काठमाडौमा कराएर । यो समय अनुकुल आफैँ अन्त्य हुँदैछ । हिजो दलितले जुन जातीय विभेद भोग्नुपरेको थियो । आज त्यो अवस्था छैन । सामाजिक रुपान्तरण सँगै जातीय विभेदको अन्त्य हुँदैछ र हुन्छ । तर नियोजित रुपमा यसरी जातिय विभेदको कुरा उचालेर त्यसले जातिय विभेदको अन्त्य गर्दैन । यसले समाजमा अराजकता मात्र फैलाउछ ।

प्रकाशित : १३ असार २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह