Logo

Banner-news

सिन्धुली सडकमा अख्तियारलाई बदनाम गराउने प्रयास, ठेकेदारलाई ‘क्लिन चिट’ दिइएको छैन !


GDP Nepal
   २१ असार २०७८, सोमबार


भुवन थापा (सिन्धुली) । सिन्धुली जिल्लाको दुधौलीमा गत साताको अविरल वर्षाले भर्खरै पिच गरिएको सडक भताभुङ्ग भएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो सडकको बेसमा खोलाका ढुंगा पुरेर माथि पीच गरिएको स्पष्ट देख्न सकिन्छ । तर, कतिपयले भने सडक गुणस्तरीय नै रहे पनि अविरल वर्षाका कारण क्षतविक्षत भएको दावी समेत गरिरहेका छन् ।

जिल्लाका कतिपय मिडियाले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अध्ययन गरी सडक निर्माणमा गुणस्तरहीन रहेको कुनै प्रमाण फेला पार्न नसकेको समाचार प्रकाशित गरिरहेका छन् । सडकको क्षतविक्षत अवस्था मुलुकभर चर्चाको विषय बनिरहँदा यस्तोखाले समाचार प्रकाशित हुँदा सर्वसाधारणको निशाना अख्तियारतर्फ सोझियो । प्रारम्भिक अध्ययनसमेत पूरा नगरी अख्तियारले कसरी रातारात ठेकेदारलाई क्लिन चिट दियो भन्ने प्रश्न सबैको मनमा परेको छ ।

अख्तियारको क्ल्नि चिटबारे स्थानीय मिडियामा समाचार प्रकाशित भएपछि जीडीपी नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी मणिराज ज्ञवालीसँग जिज्ञासा राख्यो । जवाफमा ज्ञवालीले अख्तियारको टोली सडक अनुगमनमा गएको साँचो भए पनि प्रतिवेदन नआई सडकको बारेमा केही बोल्न नमिल्ने र अनुगमनमा गएका कुनै सदस्यले पनि त्यहाँ कुनै मिडियालाई जानकारी नदिएको प्रष्ट पारे ।

सूचना अधिकारी ज्ञवालीले फिल्डमा गएका अधिकारीले प्रतिवेदन बुझाएर त्यसको छानबिनपछि औपचारिक प्रतिक्रिया दिने भन्दै हाल मिडियामा आइरहेका समाचारको आधिकारिकता नरहेको जीडीपी नेपाललाई बताए ।

ज्ञवाली भन्छन्, सडक भत्किएको देखेपछि हाम्रो कार्यालयको टोली त्यहाँ गएको छ, उहाँहरुले अध्ययन गरिरहनु भएको छ । फिल्डमै प्रतिक्रिया दिएका छैनौं ।

कतिपयले भने यो घटनाले पत्रकार र पत्रकारिताप्रति नै औंला उठेको बताएका छन् । स्थानीय पत्रकारहरु ठेकेदारसँगै फिल्ड रिपोर्टिंगमा जाँदा त्यसबाट निष्पक्ष समाचार आउन नसक्ने टिप्पणी पनि भइरहेको छ ।

सिन्धुलीकै स्थानीय दिनेश अधिकारी फिल्डमा गएका पत्रकार र ठेकेदारको सँगैको फोटोलाई उधृत गर्दै ट्वीटरमा लेख्छन्, सिन्धुलीमा २६ करोडमा बनेको सडक १ महिनामा भत्किएपछि सिन्धुलीका पत्रकार उक्त सडकको ठेकदार सँग हातेमालो गर्दै रिपोर्टिङमा गएका छन् । उक्त सडक निर्माण गर्ने ठेकदार यहीँ पत्रकारको बिचमा छन् । अब कसरी लेखिएला समाचार ?

ग्रामीण कृषि सडकअन्तर्गत बनेको यो सडकमा डोलिडारले २५ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । दुधौलीको लखिमादेखि ठाकुरदमारसम्मको कालोपत्रे सडकअन्तर्गत वडा नम्बर १३ को कामीटारमा सडकको कालोपत्रे सबै भत्किएको छ ।

स्थानीयका अनुसार एक ठाउँमा ७० मिटर र अर्को ठाउँमा २ सय ९० मिटर सडक धुजाधुजा भएर सडक भत्किएको छ ।

प्रकाशित : २१ असार २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह