Logo

Banner-news

अर्थमन्त्रीबाट लोडसेडिङ निवारणमा जस्तै उदाहरणीय कार्यको अपेक्षाः चौधरी


GDP Nepal
   ११ श्रावण २०७८, सोमबार


काठमाडौं । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिका संयोजक विनोद कुमार चौधरीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माबाट आफूहरुले लोडसेडिङ निवारणमा जस्तै उदाहरणीय कार्यको अपेक्षा गरेको बताएका छन् ।

अर्थमन्त्री शर्मासँगको बधाई भेटमा चौधरीले अहिलेको प्रतिकूल अवस्थालाई अवसरका रुपमा उपयोग गरी सफल अर्थमन्त्रीका रुपमा नाम लेखाउन मन्त्री शर्मा सफल हुने विश्वास व्यक्त गरे ।

चौधरी नेतृत्वको समितिले देशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्न विभिन्न सुझाव पनि पेस गरेको छ ।

समितिका संयोजक चौधरी तथा सहसंयोजक अनिल रूंगटा लगायतका पदाधिकारीले अर्थमन्त्री शर्मासँगको भेटमा विद्यमान जनस्वास्थ्य र आर्थिक संकटकै बीचमा प्राकृतिक प्रकोपले समेत ठूलो क्षति पुगेको उल्लेख गर्दै आम जनताको आयआर्जनको सुनिश्चितताका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरेका छन् ।

‘एकातिर कोभिडको प्रभाव निरन्तर जारी छ, भने अर्कोतिर बाढीपहिरोका कारण दिन प्रतिदिन निर्माणाधिन परियोजना रोकिएका छन् । साथै बनेका भौतिक पूर्वाधारहरुमा समेत क्षति पुग्नुका साथै नष्ट समेत भएका छन् । पर्यटन क्षेत्रका गतिविधि ठप्प छन्,’ संयोजक चौधरीले भने, ‘अबको परिस्थितिमा हाम्रो जस्तो विकासशील देशले उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात बढाउन सकेमात्र अर्थतन्त्र चलायमान हुनुका साथै सबल र स्थायित्व प्राप्ति हुनेछ । रोजगारीका अवसरसँगै आम जनताको आय आर्जनमा सुधार हुनेछ ।’

मुलुकभित्र उद्यमशीलता विकासका लागि ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको समितिले बैंक तथा वित्तीय संस्थाका ६ हजार शाखामार्फत् प्रत्येकबाट कम्तीमा १० ओटा सहुलियत कर्जा प्रदान गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सके ६० हजार नेपाली युवालाई उद्यमी बनाउन सकिने सुझाव दिदैं एउटा उद्यममा न्यूनतम ३ जनामात्र रोजगार भएको खण्डमा पनि वार्षिक झण्डै २ लाख रोजगारी सिर्जना हुने बताएको छ ।

‘यसले श्रम बजारमा आउने ४ लाख मध्ये आधा श्रम शक्तिलाई यहीं रोजगारी सिर्जना गर्न सकिन्छ, बाँकी श्रम शक्ति अन्य क्षेत्रमा पनि खपत हुन्छन् र बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्न सकिन्छ,’ समितिका सहसंयोजक अनिल रूंगटा भन्छन्, ‘यो नीतिगत व्यवस्थाले मुलुकमा उद्यमशीलता, उत्पादन र रोजगारीको अवसरमा रूपान्तरणकारी परिवर्तन ल्याउनेछ ।’

समितिले यसरी निर्माण हुने उत्पादन र रोजगारीको जगले देशको कुल गार्हस्थ उत्पादन विस्तार, अर्थतन्त्रको स्थायित्व, समावेशी विकास र सरकारका लागि राजस्व प्राप्तिका आधार विस्तार गर्ने बताएको छ ।

अर्थमन्त्रीसमक्ष पेस गरिएको सुझावमा समितिले बैंक तथा वित्तीय संस्थाले कम्तीमा पनि हरेक प्रदेशमा दीगो बैंकिङमार्फत् यस्ता सहुलियत कर्जा कार्यक्रमलाई सहजीकरण गरी उत्पादनमूलक र दीगो विकास लक्ष्यलाई सहयोग गर्ने क्षेत्रमा लगानी गराउनु वाञ्छनीय हुने उल्लेख गरेको छ ।

यसका अतिरिक्त समितिले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) बापत् खर्च गर्नुपर्ने रकमलाई मेन्टरिङ, परियोजना विकासलगायत सहुलियत कर्जा प्राप्ति र परियोजना सञ्चालन, बजारीकरणका क्षेत्रमा गर्नुपर्ने आधारभूत÷पृष्ठभूमिका कामका लागि खर्च गर्न स्वीकृति प्रदान गर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

भेटमा अर्थमन्त्री शर्माले उपयुक्त सुझावहरूलाई ग्रहण गरी कार्यान्वयन गर्ने बताए । उनले मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दीगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताएका छन् । आम नागरिकको जीवनमा रूपान्तरण ल्याउनका लागि तृणमूल तहमा अनुभूत हुनेखालका उद्यमशीलता विकास कार्यक्रम लागू गर्ने ती उद्यमको दीगो सञ्चालन आफ्नो प्राथमिकतामा रहेको मन्त्री शर्माको भनाई थियो ।

गरिखाने अभियान नेपाली कांग्रेसद्वारा गठित ‘लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले सञ्चालन गरिरहेको उद्यमशीलताको देशव्यापी अभियान हो । यो अभियानले आउँदो दुई महिनाभित्रै देशभरमा करिब ५०० परियोजनाका लागि लगानी जुटाई कार्यान्वयनको अवस्थामा पु¥याउनेछ । उद्यमशीलताका अतिरिक्त, त्यसलाई स्थायित्व दिने र सम्भावना अनुसार स्तरोन्नति (स्केल–अप) समेत गराउने काम यस अभियान अन्तर्गत हुँदै आएको छ ।

‘गरिखाने अभियानले’ उद्यमशील बन्न चाहानेलाई उद्यमी बनाउने अभियानस्वरूप अहिले पहिलो चरणमा आकांक्षीहरूलाई वित्तीय साक्षरता र उद्यमका सम्बन्धमा अभिमुखीकरण, दोस्रो चरणमा परियोजना विकासमा सहयोग, तेश्रो चरणमा सहुलियत कर्जाका लागि बैंक तथा वित्तीय संस्थासँग पहल र सहुलियत कर्जाको उपलब्धता तथा परियोजना कार्यान्वयनका क्रममा आवश्यक विभिन्न मेन्टरिङ लगायत सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ ।

‘गरिखाने अभियान’ अन्तर्गत पहिलो चरणमा देशका विभिन्न भागमा ‘रोड शो’ आयोजना गरी उद्यमशीलता विकासका लागि यस अभियानबारे जानकारी गराउने र यसमा जोडिन आउने आकांक्षीहरूलाई उद्यमी बनाउन सम्पूर्ण सहयोग प्रदान गर्ने कार्य यस अभियान मार्फत् हुँदै आएको छ । ‘रोड शो’ कार्यक्रम २०७७ माघदेखि शुरु भएको हो र गरिखाने अभियानमार्फत् वीरगञ्ज, झापा, हेटौंडा, चितवन, पोखरामा ‘रोड शो’ सम्पन्न भई यसमा जोडिएका आकांक्षीहरूलाई उद्यशीलताका लागि मेन्टरिङ र सहुलियत कर्जाको प्रबन्धका काम अघि बढीसकेको छ ।

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह