Logo

Banner-news

मिडिया मालिक फुटे, कैलास सिरोहिया विरुद्ध रामेश्वर थापा र विनोदराज ज्ञवाली एकै ठाउँमा !


GDP Nepal
   ७ आश्विन २०७७, बुधबार


काठमाडौं । नेपालका सञ्चार उद्यमीहरुको नयाँ संस्था जन्मिएको छ । एभिन्यूज टेलिभिजनका संस्थापक भाष्करराज राजकर्णिकारको अध्यक्षतामा केही टेलिभिजन र दैनिक पत्रिकाका सञ्चालकहरुले नयाँ संस्था जन्माएका छन् ।

मिडिया सञ्चालकहरुको संस्था मिडिया सोसाइटी नेपाल यसअघि नै सक्रिय छ । एबीसी टेलिभिजनका संस्थापक शुभशंकर कँडेलको अध्यक्षतामा रहेको यो संस्था पुरानो भए पनि धेरै मिडिया सञ्चालकहरु लामो समयदेखि यससँग असन्तुष्ट रहेर निष्कृय रहँदै आएका थिए ।

पुरानो संस्थामा कान्तिपुर मिडिया ग्रुपका संस्थापककै हालीमुहाली भएपछि नयाँ संस्था खुलेको हो । कान्तिपुरबाटै फुटेर जन्मिएको नागरिकका संस्थापक विनोदराज ज्ञवाली तथा कान्तिपुरकै पूर्व साझेदार अन्नपूर्णका सञ्चालक रामेश्वर थापा नयाँ संस्थामा सल्लाहकारको भूमिकामा देखिएका छन् ।

मिडिया उद्यमीको भेलाले बुधबार काठमाडौँमा ‘मिडिया एलाइन्स नेपाल’ नामक संस्था स्थापना गरेको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त संस्थाको तदर्थ समिति सार्वजनिक गरिएको छ । एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

सोको उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशन प्रालिका अध्यक्ष महेन्द्र शेरचन, माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल छन् भने महासचिवमा इमेज च्यानल प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईँ कोषाध्यक्षमा हिमालय टाइम्सका उज्ज्वल शर्मालाई चयन गरिएको छ ।

सदस्यमा जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा. विजय पौडेल, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, एपिवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शाक्य र नेपाल रिपब्लिका मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली रहेका छन् ।

मिडिया सोसाइटीमा भने कान्तिपुर दैनिकसहित एबीसी टिभी, नेपाल समाचारपत्र, अभियान दैनिक र कारोबार दैनिकका सञ्चालक रहेका छन् । नयाँ पत्रिका भने दुवै संस्थामा छैन ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजकर्णिकारले तीन दशकदेखि सञ्चालित निजी क्षेत्रको मिडियाका लागि स्थापना भएको उक्त संस्था अर्को कालखण्डको प्रारम्भ भएको बताए । “लगानीकर्ताले घर बेचेर लगानी गर्ने तथा श्रमजीवी पत्रकारले जीवनभर श्रमको लगानी गर्दा पनि मिडिया क्षेत्र समृद्ध हुन सकेन”, अध्यक्ष राजकर्णिकारले भने, “त्यसकारण मिडियाको विकास र व्यवसायिकताका लागि संस्थाको स्थापना गर्नुपरेको हो ।” उहाँका अनुसार लामो यात्रा तय गरे पनि मिडिया उद्योग अझै व्यावसायिक बन्न सकेका छैनन् ।

सार्वजनिक जानकारीअनुसार नेपालको मिडिया क्षेत्रमा झण्डै २० अर्ब लगानी छ । नेपालमा वार्षिक रु १२ अर्बको विज्ञापनको कारोबार हुन्छ । व्यवस्थित गर्न सकिए २५ अर्बको विज्ञापन कारोबार हुने अवस्था रहेको जानकारी दिँदै अध्यक्ष राजकर्णिकारले तीन वर्षभित्रमा लक्ष्य प्राप्त गर्ने उद्देश्य संस्थाको रहेको बताए ।

सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा सञ्चार उद्यमी र कार्यरत पत्रकार, कर्मचारी तथा कामदारको हकहित संरक्षण, मिडियामा देखापरेका समस्याको एकीकृत समाधान, तटस्थ, निष्पक्ष र जनउरदायी सूचना सम्प्रेषण तथा गुणस्तरीय समाजको निर्माणमा एलाइन्स सक्रिय हुने जनाइएको छ । संस्थामा आवद्ध हुनका लागि भने रेडियोका हकमा एक–एक हजार वाट क्षमता भएको हुनुपर्ने र टेलिभिजनका हकमा स्याटेलाइटमा गएको हुनुपर्ने छ । त्यस्तै पत्रिकाको हकमा राष्ट्रिय दैनिक पत्रिका हुनुपर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमार्फत मिडिया एलाइन्स नेपालले विभिन्न ३० बुँदे आफ्ना उद्देश्यहरु सार्वजनिक गर्दै सञ्चार उद्योगलाई सेवा उद्योगको मान्यता दिन पहल गरिने, सञ्चारसम्बन्धी नीति तथा कानून निर्माणमा सञ्चार उद्यमीको हकहित संरक्षणमा पहल गर्ने जनाइएको छ ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह