Logo

Banner-news

भारतसहित दक्षिण एसियामा कोभिड नियन्त्रण उन्मुख, नेपालमा भने सरकार अकर्मण्य !


GDP Nepal
   ६ कार्तिक २०७७, बिहिबार


काठमाडौं । कोरोना संकट सुरु भएयता बुधबार सबैभन्दा बढी मानवीय क्षतिमात्र भएन, संक्रमण दर पनि उच्च देखियो । कुल परीक्षणको तुलनामा २८.५४ प्रतिशत संक्रमण दर हुनु र ३१ जनाको मृत्यु हुनु सामान्य थिएन ।

बुधबार २० हजार ११८ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ जनामा संक्रमण देखिएको थियो भने विशेषतः काठमाडौं उपत्यकामा संक्रमितहरूको संख्या उल्लेख्य रूपमा बढिरहेको छ  ।

एक सय जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोभिड देखिएको र एकै दिन हालसम्मकै धेरैको मृत्युको रेकर्ड हुनुले चाडबाडको मुखमा धेरै सचेत नागरिकलाई झस्काएको छ ।

सरकारले एकातर्फ कोरोना परीक्षण र उपचारमा कडाइ गर्दै लगेको र अर्कोतर्फ संक्रमण दर र मृत्यु बढिरहेको अवस्थाले भयावह अवस्था चित्रण गर्दछ ।

नेपालका छिमेकी भारतसहित कोरोनाको संक्रमण दर सबैभन्दा उच्च रहेको अमेरिकामा कोभिड नियन्त्रणउन्मुख अवस्थामा रहे पनि नेपालमा भने उच्च दरका वृद्धि भइरहेको छ । यद्यपि, नेपालमा यो संक्रमण दर उच्च हो वा अझै वृद्धि हुन्छ भन्नेमा अनुमान बाहिरको विषय बनेको छ ।

सरकारको मुख्य कमजोरी यहिँनेर देखिएको छ । सुरुवातदेखि नै कोरोना नियन्त्रणमा चुक्दै गएको सरकारको अनुमान संक्रमणको वास्तविक दरको छेउसम्म पनि पुग्न सकेको छैन ।

स्वास्य मन्त्रालयको भूमिका देशभरका ल्याबाट तथ्यांक संकलन गरी दिनहुँ प्रशारण गर्नेमै सीमित भएको छ । हाल देशभर ४४ हजार ४७६ अर्थात् ३०.७० प्रतिशत सक्रिय केस रहेको स्वास्थ्यको भनाइ छ ।

सक्रिय संक्रमितमध्ये काठमाडौंमामात्र १८ हजार ८३२, भक्तपुरमा १ हजार ३०८ र ललितपुरमा २ हजार ९८९ जना गरी उपत्यकाभित्र २३ हजार १२९ जना छन् । यसरी हेर्दा देशभर देखिएका कुल सक्रिय संक्रमितमध्ये ५४ प्रतिशत उपत्यकामा मात्र छन्  ।

त्यसो त नेपालमा गत भदौ २४ देखि प्रत्येक दिन १ हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । त्यससयता सरकारका एकपछि अर्को निर्णयले नागरिकमा निराशामात्र बढाइरहेको छ ।

संक्रमितहरूको संख्या बढेसँगै आइसोलेसन, क्वारेन्टाइन, आईसीयू, भेन्टिलेटरसहित अक्सिजनको व्यवस्थापन आवश्यक भए पनि यसमा सरकार चुकिरहेको छ । जबकि आईसीयू र भेन्टिलेटर चाहिने बिरामीको संख्या बढिरहेको छ ।

दक्षिण एसियाका अधिकांश मुलुकहरूमा पनि नयाँ संक्रमितहरू थपिने क्रम सुस्ताउँदै जाँदा नेपालमा बढ्दै जानुले सरकारको कमजोरी छताछुल्ल भएको छ भने नागरिकमा पनि कुनै गम्भीरता देखिँदैन ।

भारतसँगको खुला सीमा व्यवस्थापनमा सरकारको कमजोरी र भारतका विभिन्न स्थानबाट आएका नेपालीहरूलाई एकै स्थानमा क्वारेन्टाइनमा राखेर नेपाल प्रवेश गराउने कार्यले संक्रमण फैलिएको अनुमान गरिएको छ ।

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह