Logo

Banner-news

महासंघ राजनीतिमा सफल उद्यमीको आकर्षण, सीआईपी सम्मान पाउने पनि चुनावी मैदानमा !


GDP Nepal
   ७ मंसिर २०७७, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा निजी क्षेत्रका लागि सरकारबाट प्रदान गरिने सबैभन्दा प्रतिष्ठित सम्मान सीआईपी (कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन) पाउने उद्यमी पनि प्रतिस्पर्धामा छन् ।

मंसिर १३ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रहेका उद्यमी चन्द्रप्रसाद ढकाल र एशोसिएटतर्फ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई सीआईपी पाउने व्यवसायी हुन् ।

सरकारले गत माघमा विभिन्न विधाअन्तर्गत २५ व्यवसायीलाई सीआईपी सम्मान प्रदान गरेको थियो । जसमध्ये अधिकांश व्यवसायी महासंघलगायत संस्थागत गतिविधिमा संलग्न नभए पनि ढकाल र संघई भने निजी क्षेत्रको छाता संगठनको नेतृत्व तहका लागि मैदानमा छन् ।

संयोगवस ढकाल र संघई दुवै एकै प्यानलका उम्मेदवार हुन् । आईएमई समूहका अध्यक्ष ढकाल महासंघको हालको कार्यसमितिमा एशोसिएट उपाध्यक्ष हुन् भने त्रिवेणी समूहका निर्देशक संघईले कार्यकारिणी समितिमा उम्मेदवारी दिएर पनि सहमतिका लागि उम्मेदवारी फिर्ता लिएका थिए ।

ढकालले बैकिङ प्रणालीमार्फत रेमिट्यान्स कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनी–व्यवसायीबाट सीआईपी सम्मान पाएका थिए । उनको कम्पनी आईएमईले अघिल्लो वर्ष २६१ अर्ब ९८ करोड ५१ लाख बराबरको विप्रेषण भित्र्याएको थियो ।
यस्तै, उपाध्यक्षका उम्मेदवार संघई स्वदेशी उद्योगमा उत्पादित वस्तुको सबैभन्दा बढी निकासी गर्ने निर्यातकर्ता उद्योगीका रुपमा सीआईपी सम्मान पाएका हुन् । सरकारले धागोतर्फ त्रिवेणी स्पिनिङ मिल्सका अध्यक्ष रामचन्द्र संघाईलाई यो सम्मान प्रदान गरेको थियो ।

संघईको कम्पनीले अघिल्लो वर्ष ३ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको निकासी गरेको थियो । यो मुलुकको कुल निकासीको झन्डै ४ प्रतिशत हो ।

मुलुकका सफल र प्रतिष्ठित व्यवसायीहरुको महासंघप्रति आकर्षण घटेको भन्दै चिन्ता भइरहेका बेला सीआईपी सम्मान पाएका ढकाल र संघईको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

संघई नेपालमा बढी रोजगारी सिर्जना गर्ने त्रिवेणी समूहका निर्देशक पनि हुन् । उनको समूहमार्फत सञ्चालित दर्जन बढी कम्पनीमा १६ हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।

महासंघमा एशोसिएट उपाध्यक्ष स्वतः रोजगारदाता परिषद् सभापति हुने र ठूलो संख्यामा रोजगारी सिर्जना गरिरहेको समूहका निर्देशकले यो भूमिकामाथि न्याय गर्नसक्ने अपेक्षासमेत गरिएको छ ।

प्रकाशित : ७ मंसिर २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह