Logo

Banner-news

कोभिड भ्याक्सिन अग्रपंक्तिका व्यवसायीले पाउनुपर्ने चेम्बरको माग, अर्थमन्त्री सकारात्मक


GDP Nepal
   १३ माघ २०७७, मंगलबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अग्रपंक्तिमा खटिएका निजी क्षेत्रका व्यवसायीहरुलाइ कोभिड भ्याक्सिनका लागि प्राथमिकतामा राखिनुपर्ने माग गरेका छन् ।

सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कोरोना भ्याक्सिनको पहिलो सूचीमा राखिरहेका बेला निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था चेम्बरले व्यवसायीलाई पनि यस्तो सुविधा माग गरेको हो ।

व्यापार व्यवसाय गर्ने खाद्यान्न तथा किराना पसल, औषधि पसल तथा होटल एवं रेष्टुरेन्ट सञ्चालक र त्यसमा काम गर्ने कर्मचारीका लागि भ्याक्सिनमा प्राथमिकता जरुरी रहेको चेम्बर अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले ६९ औं अन्तर्र्रािष्ट्रय भन्सार दिवसको अवसरमा चेम्बरले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष यस्तो माग गरेका हुन् । उक्त कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगाना, भन्सार विभागका महानिर्देशक सुमन दाहाललगायत उपस्थित थिए ।

अर्थमन्त्रीले पनि निजी क्षेत्रले राज्यलाई दिएको योगदानलाई कदर गर्ने उल्लेख गर्दै कोभिड भ्याक्सिनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेको बताएका थिए ।

चेम्बर अध्यक्ष श्रेष्ठले कार्यक्रममा आयात–निर्यातको प्रभावकारिताको लागि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिएका थिए भने यसबाट राजस्वमा प्रतिकूल प्रभाव नपर्ने बरु योगदान बढ्ने धारणा राखेका थिए । उनले भने, “भन्सारमा जति सहज वातावरण हुन्छ, त्यति नै बढी देशको आर्थिक गतिबिधि पनि सहज हुने भएकोले भन्सारलाई प्रविधि तथा उच्च पूर्वाधारयुक्त बनाउनुपर्ने आवश्यकता छ ।”

कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार सेवालाइ प्रभावकारी तथा उत्कृष्ट सेवा प्रदान गर्ने बनाउन प्रविधिमैत्री बनाइएको बताए ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह