Logo

Banner-news

प्रधानमन्त्रीसमक्ष महासंघले किन उठायो खोपसँगै ट्रंकलाइन फिडरको मुद्दा ?


GDP Nepal
   १ श्रावण २०७८, शुक्रबार


काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संगठन नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्यो । अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटेको यो टोलीले कोभिडविरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न माग गर्नु स्वाभाविक भए पनि पहिलो भेटमै विवादास्पद डेडिकेटेड र ट्रंकलाइनको विषय उठान गर्नुलाई संशयपूर्ण मानिएको छ ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार महासंघ टोलीले बधाईका लागि मात्र समय माग गरेको थियो । व्यवसायीका कुनै माग पेश हुने कार्यक्रम थिएनन् । निजी क्षेत्रको छाता संगठन भएकै कारण महासंघलाई प्रधानमन्त्रीले राजनीतिक कार्यव्यस्तताका बाबजुद भेट दिएका हुन् ।

तर, महासंघले सदभावना भेटमा पनि डेडिकेटेड र ट्रंकलाइनजस्तो विवादास्पद विषय उठाएर प्रधानमन्त्रीलाई भ्रममा पार्न खोजेको भन्दै आलोचना भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा माओवादी नेतृ पम्फा भुसालले पदबहाली गरिसकेको अवस्थामा डेडिकेटेड र ट्रंकलाइनको विषय प्रधानमन्त्रीसमक्ष पुर्याएर महासंघले विभागीय मन्त्रीलाई क्रस गरेकाले यो विषय भोलिका दिनमा थप जटिल बन्ने पनि देखिन्छ ।

डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी मुद्दामा अदालतको आदेश, संसदीय समितिको निर्देशन तथा विद्युत प्राधिकरणको वित्तीय अवस्था लगायतका थुप्रै कारणले पनि सरकारले व्यवसायीका माग पूरा गर्नसक्ने अवस्था छैन । यद्यपि, नयाँ सरकार गठनलगत्तै व्यवसायीले प्राथमिकताका साथ यसलाई अघि सार्नुले संशय बढाएको हो ।

महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई सहभागी थिए ।

महासंघका तर्फबाट भएका दुवै भेटवार्तामा थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न जोड दिइएको विज्ञप्तिमै उल्लेख गरिएको छ ।

प्रकाशित : १ श्रावण २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह