Logo

Banner-news

इजरायलले केयरगिभरमा हजार नेपाली लैजाने, मासिक आम्दानी दुई लाख


GDP Nepal
   १२ श्रावण २०७८, मंगलबार


काठमाडौं । इजरायलले केयरगिभरका लागि एक हजार नेपाली लैजाने भएको छ । मासिक आम्दानी झन्डै दुई लाख रुपैयाँ रहेको केयरगिभरका लागि आवेदन खुलेको छ।

वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने जनाएको छ।

सूचनाअनुसार इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागले जनाएको छ।

मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर अर्थात सोमबारको विनिमय दरअनुसार एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ० हुने उल्लेख गरिएको छ। जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ। काम हप्तामा छ दिन गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ।

बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने उल्लेख गरिएको जनाइएको छ।

विभागका अनुसार आवेदक नेपाली नागरिक हुनुपर्ने र २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । जसअनुसार उचाई कम्तिमा ४.९ फिट हुनुपर्ने र तौल ४५ केजी हुनुपर्ने उल्लेख छ ।

यस्तै, शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको हुनुपर्ने जनाइएको छ ।

यसका साथै अंग्रेजी भाषामा दक्ष तथा शारीरिक एवं मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको हुनुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह