काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङको निर्णय पूर्व नै सर्वोत्तम सिमेन्टको सेयर आफ्नी छोरीका नाउँमा खरिद गरेको सम्बन्धी समाचार सार्वजनिक भएसँगै अर्थ मन्त्रालयले बोर्डलाई स्पष्टीकरण सोधेको छ ।
अर्थले बोर्ड अध्यक्ष ढुंगानालाई नभै बोर्डलाई नै सत्य तथ्य यथार्थता स्पष्ट पार्न निर्देशन दिएको हो ।
बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करीव १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो ।
हिमाल खबर डटकममा बोर्ड अध्यक्ष ढुंगानाले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन गरेसँगै यसमा अर्थको समेत चासो देखिएको हो । अर्थल सो समाचारका विषयमा स्पष्ट पार्न तीन दिनको समय दिएर स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा बुझाउन भनेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले यस्तो जानकारी गराएको छ ।
प्रतिक्रिया