Logo

Banner-news

पर्यटन बोर्डका ५ सदस्य मन्त्रालयलाई बाइपास गर्दै सुविधाको लबिङमा


GDP Nepal
   १५ श्रावण २०७८, शुक्रबार


काठमाडौं । नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्ने पाँच सदस्यले बोर्डसम्बन्धी ऐन र विनियमावलीको व्यवस्था विपरीत पदीय दुरुपयोग गर्दै अर्थ मन्त्रालयमा पत्राचार गरेको पाइएको छ ।

बोर्डका सदस्य कृष्णकुमार साहका अनुसार यी पाँच सदस्यले बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका छन् । यसरी मन्त्रालयमा पत्र बुझाउन जानेमा बोर्ड उपाध्यक्ष चन्द्रप्रसाद रिजालसहित सदस्यहरु विप्लब पौडेल, पम्फा धमला, कृष्णकुमार शाह र ङावा ङिमा शेर्पा रहेका छन् ।

नेपाल पर्यटन बोर्ड ऐन २०५३ अनुसार बोर्डका सदस्यले यसरी आफूखुसी मन्त्रालयमा लबिङ गर्न पाउँदैनन् । ऐनको दफा २४ अनुसार ‘बोर्डले नेपाल सरकारसंग सम्पर्क राख्दा नेपाल सरकार, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत राख्नु पर्ने’ उल्लेख छ ।

यस्तै, बोर्डको विनियमावलीमा पनि सरकारसँग सम्पर्क गर्नुपर्दा प्रतिनिधिका रुपमा प्रमुख कार्यकारी अधिकृतले गर्नुपर्ने स्पष्ट उल्लेख छ । बोर्ड विनियमावलीको बुँदा नं. १३ (ख) मा भनिएको छ– बोर्डका तर्फबाट नेपाल सरकार, स्वदेशी तथा विदेशी व्यक्ति र निकायसँग सम्पर्क अधिकारीको हैसियतले कार्यकारी प्रमुखले कार्य गर्ने ।

तर, बिहीबार अर्थमन्त्री शर्मासँग बोर्डका पदाधिकारीले आफूखुसी भेट गरी विभिन्न माग अघि सारेका छन् । बोर्ड अध्यक्ष तथा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई जानकारी नै नदिइ यसरी पदीय दुरुपयोग गर्दै आफूखुसी मन्त्रालयमा जानुले बोर्डमा चरम अराजकता मौलाउँदै गएको निजी क्षेत्रले जनाएको छ ।

“उहाँहरुले पर्यटन क्षेत्रका माग अघि सार्नुभएको होला तर बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले गर्नुपर्ने काम आफैं अघि सारेर काम गर्न खोज्दा भोलिका दिनमा समस्या आउन सक्छ,” एक व्यवसायीले भने, “राजनीतिक पहुँच र प्रभावका आधारमा बोर्ड सदस्यमा नियुक्ति लिएकाहरुबाट चर्चामा आउनकै लागि बोर्डको मानमर्दन गरिनु दुखद् छ । यसमा बोर्ड अध्यक्ष र सदस्यसचिवले पाँचै जनासँग स्पष्टीकरण माग्नुपर्छ ।”

बोर्डका पाँच सदस्यले निजी क्षेत्रका लागि सुविधा र बैंकको कर्जाका विषयमा ९ बुँदे माग अर्थमन्त्रीसमक्ष पेश गरेका छन् । जसमा व्यवसायीलाई कर्जाको ब्याजमा सहुलियत लगायतका माग समेटिएका छन् ।

तर, बोर्ड सदस्यले यी माग समेत क्षेत्राधिकार नाघेर माग गरेको पाइएको छ । बोर्डको ऐनमा भने पर्यटन बोर्डको काम कर्तव्य र अधिकारबारे स्पष्ट पार्दै यसको काम पर्यटन प्रवद्र्धनका लागि रहने स्पष्ट व्याख्या गरिएको छ ।

यस्तै, बोर्ड गठनको उद्देश्यबारे ऐनमा यस्तो लेखिएको छः
अन्तर्राष्ट्रिय जगतमा नेपाललाई एक आकर्षक पर्यटन स्थलको रूपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धन गर्नको लागि नेपाल पर्यटन बोर्डको नामबाट एउटा बोर्डको स्थापना गरिएको छ ।

बोर्ड सदस्य कृृष्ण शाहले अर्थमन्त्रीसँग भेट गरेको पुष्टि गर्दै लेखेका छन्ः
पर्यटन ब्यवसायीमा कोभिड्को माहामारिले पारेको आर्थिक प्रभाव र नेपाल सरकारले पर्यटन क्षेत्र र ब्यवसायीलाई दिनु राहत प्याकेजको विषयमा नेपाल पर्यटन बोर्ड्मा निजि क्षेत्रबाट प्रतिनिधित्व गर्ने हामी बोर्ड्का उपाध्यक्ष श्री चन्द्र रिजाल ज्यु सदस्यहरु पम्फा धमला, बिप्लब पौडेल, ङावा निमा शेर्पा र कृष्ण शाहले ध्यानाकर्षण पत्र बुझाउदै छलफल भयो । माननीय मन्त्री ज्यु पर्यटन ब्यवसायीको समस्याको बिसयमा जानकार रहेको र साना पर्यटन ब्यवसायी लाई आवस्यक सम्बोधन गर्ने र अरु लाई क्रमिक सम्बोधन गरिने आश्वासन प्राप्त भयो ।

बोर्ड सदस्यले अर्थमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र

प्रकाशित : १५ श्रावण २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह