Logo

Banner-news

प्रधानमन्त्री कार्यालयमा अर्थतन्त्र बुझेका काबिल तीन सचिव, संयोगले जुराएको अवसर !


GDP Nepal
   २० श्रावण २०७८, बुधबार


काठमाडौं । प्रधानमन्त्री कार्यालयमा यतिबेला आठ सचिव कार्यरत छन् । पाँच सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा दरबन्दीअनुसार अझै एक सचिव रिक्त रहे पनि अन्य चार जना भने अतिरिक्त समूहमा राखिएका छन् । जसमध्ये केही हालै बढुवा भएका कारण पदस्थापन हुन बाँकी छ ।

प्रधानमन्त्री कार्यालयमा यतिबेला अर्थ मन्त्रालय र मातहतका निकायमा लामो अनुभव भएका सचिवहरुको बाहुल्यता रहेको छ । सचिवहरु शिशिरकुमार ढुंगाना, लक्ष्मण अर्याल र डा. वैकुण्ठ अर्याल तीन जना नै मुलुकको अर्थतन्त्रबारे गहिरो ज्ञान राख्ने सक्षम सचिवका रुपमा स्थापित छन् ।

ढुंगाना र अर्याल यसै साता प्रधानमन्त्री कार्यालयमा सरुवा भएर आएका हुन् भने डा. अर्याल यसअघि नै प्रधानमन्त्री कार्यालयमा थिए । अर्थमा मधु मरासिनीको सरुवा भएसँगै ढुंगानाको सरुवा प्रधानमन्त्री कार्यालयमा भएको हो । स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको बढुवा भएकाले प्रशासनतर्फका सचिव लक्ष्मण अर्याल प्रधानमन्त्री कार्यालय ल्याइएका हुन् । डा. अर्गाल भने यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा वित्त आयोगमा कार्यरत थिए ।

यसरी प्रधानमन्त्री कार्यालयमा देशको अर्थतन्त्र नै नेतृत्व गर्नसक्ने काबिल तीन सचिव रहनु संयोग नै भए पनि यसलाई उपयोग गर्न सकेमा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल सफल बन्न सक्छ । क्षमता र अनुभवका हिसाबले ढुंगाना, अर्याल र डा. अर्याल तीन जना नै अब्बल मानिन्छन् भने उनीहरु यसअघिको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

छिमेकी भारतमा पनि प्रधानमन्त्रीको सचिवालयमा काबिल सचिवहरु छनोट गरी लैजाने प्रचलन छ । प्रधानमन्त्री सचिवालय बलियो भए मात्र सरकार सफल हुन्छ भन्ने विश्वास रहने गरे पनि नेपालमा भने प्रधानमन्त्री कार्यालयलाई सचिवहरु थन्क्याउने ठाउँका रुपमा चित्रण गरिन्छ ।

तर, प्रधानमन्त्रीको सचिवालका सचिवहरु आफैंमा शक्तिशाली हुने र मन्त्रिपरिषदका निर्णयमा समेत उनीहरुकै प्रभाव रहने भएकाले यसपटक तीनजना नै सचिवहरुको क्षमता उपयोग गर्न प्रधानमन्त्री देउवा कत्तिको तत्पर हुन्छन् भन्ने हेर्न बाँकी छ ।

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह