Logo

विचार/दृष्टिकोण

कसरी सुध्रेला त्रिवि ? डा. दधि अधिकारी आफैंले पाएको सास्तीको जीवन्त चित्रण


GDP Nepal
   २६ श्रावण २०७८, मंगलबार


डा. दधि अधिकारी

त्रि.वि. अन्तर्गत अर्थशास्त्र के.शि.वि.ले यो पटकको पीएचडी कक्षा अन्तर्गतको डिजिटल ईकोनोमिक्स भन्ने विषयको केहि अंश पढाउने जिम्मेवारी मलाई दिएको छ । यो मौका दिएकोमा विभाग र विभागीय प्रमुख डा. शिब अधिकारी (Shiva Adhikari) प्रति आभारी छु ।

तर डिजिटल ईकोनोमिक्सको पढाई सुरु गर्दै गर्दा त्रि.वि.को डिजिटलाईजेसन प्रक्रिया भने उदेक लाग्दो छ । आज मैले गर्नु परेको दौडधुप, त्रि.वि. अन्तर्गतका विभाग र क्याम्पसका अस्तव्यस्तता, गैर जिम्मेवार जवाफ, केन्द्र देखि विभाग र क्याम्पस सम्म कोअर्डिनेसनको अभावले २१ औं सताब्दीको प्रविधिको युगमा पनि किन हामी यस्तो छौं भन्ने महशुस भयो ।

आफूले पढेको र पढाएको विश्व विद्यालयको यो अवस्थामा कसरी सुधार गर्न सकिन्छ भन्ने मनसायले मैले आज भोगेको समस्या र केहि समाधानका उपाय यहाँ लेख्न चाहन्छु । मेरो यो छोटो विचार कसै प्रति दोष दिने वा खुईल्याउने मनसायले नभएर विश्व विद्यालयमा रहनु भएका अग्रज र मेरा आफ्नै साथीहरुलाई मेरो अनुभवको आधारमा सुधार गर्नु पर्ने क्षेत्र र चालिनु पर्ने केहि कदमहरुको बारेमा विचार साझा गर्नु हो ।

पहिले समस्याको कुरा गरौं, अहिले त्रि.वि.ले एम.ए. दोश्रो सेमेस्टरको परिक्षाकोलागि परिक्षा फाराम भर्न सूचना प्रकाशित गरेको छ । सूचना डिन कार्यालयको वेबसाईटमा राखेको छ र सोहि सूचना क्यापसले आफ्ना विद्यार्थीलाई पनि ईमेलमा पठाएको छ । ईमेलमा स्पष्ट रुपमा के लेखेको छ भने विद्यार्थीले उक्त वेबसाईटबाट फाराम डाउनलोड गरेर, फाराम भरेर रु.१५०० तिरी फाराम सम्बन्धित क्याम्पसमा बुझाउनु पर्ने छ । यहाँ ख्याल गर्नु पर्ने कुरा के हो भने फाराम भौतिक रुपमै क्याम्पसमा बुझाउन भनिएको छ । रु.१५०० कुन बैंक र कुन खातामा बुझाउने हो स्पष्ट छैन । सूचनामा दिएको खाता नम्बरले विद्यार्थी लाई झुक्यउन सक्छ । सूचनामा दिएको खाता नम्बर सम्बन्धित क्याम्पसले विद्यार्थीबाट लिएको पैसा जम्मा गर्नको निमित्त हो भन्ने जानकारी दिन्छ ।

मैले मेरी श्रीमतीको एम.ए. अंग्रजी दोश्रो वर्षको फाराम भरिदिनु पर्ने थियो । त्यसैले क्याम्पसले पठाएकाृ सूचनाको आधारमा फाराम डाउनलोड गरि पाटन क्याम्पस गएँ । परिक्षा शाखामा सम्बन्धित कर्मचारी हुनु हुँदो रहेनछ (उहाँ जाँचको इनभिजिलेट हुनु हुँदो रहेछ) । त्यसै व्यवस्थापन संकयको परिक्षामा बस्ने एकजना म्याडमलाई फाराम कहाँ बुझाउने भनेर सोधें । उहाँले डाउनलोड गरेको फाराम बुझाउन पाईंदैन । यहाँबाट हार्ड कपी लिएर जानुस र भरेर ल्याउनुस भन्नु भयो । मैले हरियो रंगको एउटा फाराम लिएँ । अनि पैसा कति बुझाउनु पर्ने भनेर पनि सोधे । उहाँलाई त्यो कुरा थाहा रहेनछ ।

म मानविकीकै परिक्षा शाखामा बस्ने म्याडमलाई खोज्दै उहाँले ईनभिजिलेसन गरि राखेको कोठामा पुगें । तर उहाँले हामीले हार्ड कपि फाराम लिने गरेका छैनौ । अनलाईन नै भर्ने हो भन्नु भयो । पैसा रु १५०० नै त होला भन्नु भयो ।मैले अनलाईन फाराम भर्ने वेबसाईट कुन हो त भनेर सोधे । उहाँले भित्तामा टाँसेको सूचनामा छ भन्नु भयो । तर सो सूचना त्यहि डिन कार्यालयको सूचना थियो जहाँ फाराम भौतिक रुपमै बुझाउने लेखिएको छ ।

फाराम भर्ने कुरा अस्पष्ट भए पछि मैले डिन कार्यालयमा फोन गरें । डिन कार्यलयमा एक त फोन नै उठ्दैन । फोन उठे पनि राम्रो जवाफ पाईंदैन । मलाई पनि त्यस्तै भयो । धेरै पटक फोन गरे पछि मात्र फोन उठ्रयो तर फोन उठाउने लाई फाराम भर्ने प्रक्रिया के हो भन्ने नै थाहा रहेन छ । अन्तमा म फाराम नभरेर नै फर्किएँ । भोलि फेरी एक पटक युद्धमा होमिने विचार छः फाराम भर्ने युद्ध ।

एउटा सामान्य फाराम भर्ने कुरामा हामीहरुको यो अवस्था छ भने हाम्रो डिजिटाईजेसनको प्रक्रिया के होला? अनुमान गर्न सकिन्छ । यो फाराम भर्ने पक्रियाकै सन्दर्भमा निम्न कार्य गर्दा राम्रो हुन्थ्यो ।

१. प्रत्येक सेमेस्टरका विद्यार्थीको ईमेल र फोन क्याम्पसले राख्ने । फाराम भर्दा ईमेल र फोन मागिएको हुन्छ । ति ईमेल र फोनको लिस्ट बनाई राख्ने ।

२. फाराम भर्ने सुचना र फाराम कहाँ भर्न सकिन्छ भन्ने लिङ्क संगै पठाउने ।

३. अनलाईन फारामको व्यवस्था गर्ने (यहाँ धेरै ठाऊँमा पीडीएफ फाईल राखेर अनलाईन भन्ने चलन छ) । उक्त फाराममा आवश्यक जानकारी भर्ने ठाऊँ मात्र नभएर फोटो अपलोड गर्ने र कार्डबाट पैसा तिर्ने व्यवस्था पनि मिलाउने ।

४. यदि कसैलाई अनलाईन फाराम भर्ने सुविधा नहुने भए क्याम्पसमा नै गएर फाराम भर्ने व्यवस्था मिलाउने ।

५. अझ सजिलोको लागि त एक पटक भर्ना भैसकेका विद्यार्थीलाई बर्षेनी यत्रो लामो फारम भर्ने झंझट नै नदिनु पर्ने । अनलाईनमा नै विद्यार्थीको एउटा पेज बनाउने र जाँच दिनु पर्ने विषय छनौट गरेर र पैसा तिरे पछि फाराम स्वतः भरिनु पर्ने ।

अन्त्यमा, त्रि.वि.मा डिजिटाईजेसन गर्न अझ धेरै बाँकी छ । डिजिटाईजेसन गर्नको निमित्त धेरै खर्च लाग्दैन खाली भिजन (डिजिटाईजेसन मार्फत के गर्न सकिन्छ र आवश्यक्ता के हो भन्ने थाहा हुनु पर्यो) र तत्परता चाहियो ।अहिलेको सन्दर्भमा एम ए दोश्रो सेमेस्टरको फाराम अनलाईन भर्ने हो वा हार्ड कपी बुझाउनु पर्ने हो थाहा पाउन पाए कृतज्ञ हुने थिएँ । अनलाईन भर्ने हो भने त्यो वेबसाईट कहाँ छ भन्ने जानकारी र हार्ड कपी बुझाउनु पर्ने हो भने सम्बन्धित क्याम्पसलाई सोहि अनुसार निर्देशन दिएमा आभारी हुने थिएँ ।

प्रस्तुत आलेख त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका उपप्राध्यापक डा. दधि अधिकारीको फेसबुकबाट साभार गरिएको हो ।

प्रकाशित : २६ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह