काठमाडौं । पुँजी बजारमा सूचीकृत भएको छोटो समयमै प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा बढी सेयर मूल्य पुगेको महिला लघुवित्तको रेकर्ड अर्को लघुवित्तले तोडेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको २८ औं दिनमा कम्पनीको सेयर मूल्य ५ हजार नाघेको हो ।
कारोबार सुरु भएयता सबैजसो दिन १० प्रतिशत हाराहारीमा सेयर मूल्य बढेर सर्किट ब्रेकर लाग्नेगरी कारोबार भइरहेको जीवन विकासको सेयरको भाउ बिहीबार ५१९८ रुपैयाँ पुगेको छ । बिहीबार पनि अघिल्लो दिनको तुलनामा यसको १० प्रतिशत अर्थात ४७२ रुपैयाँ मूल्य बढेको थियो ।
जीवन विकासको नेप्सेमा ६० लाख ८४ हजार १०० कित्ता सेयर सूचीकृत भएको छ । साउन १४ गतेदेखि कारोबार सुरु भएको यस कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज दिइएको थियो ।
यता, निरन्तर बढिरहेको महिला लघुवित्तको सेयर मूलय भने पछिल्लो समय ५ हजारको आसपासमा स्थिर रहेको छ । चैत ३ गतेदेखि कारोबार सुरु भएको यस कम्पनीलाई पनि नेप्सेले ओपनिङ रेञ्ज १३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँसम्मको दिएको थियो । यस कम्पनीको ४ लाख कित्ता सेयर सेयर सूचिकृत रहेको छ ।
बिहीबार भने महिला लघुवित्तको सेयर मूल्य ४८ रुपैयाँले घटेर ४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया