काठमाडौं । पछिल्लो तीन दिन घटेको सेयर बजार बिहीबार भने उकालो लागेको छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १७.६० अंकले बढेर ३०९४.०५ विन्दुमा पुगेको छ ।
बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर, फाइनान्स र विकास बैंक समूहको सूचांक बढेको छ भने करिब दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा १२ करोडमा झार्न अधिकतम १ वर्पसम्मको समय दिइएसँगै बजार प्रभावित बनेको हो । तर बिहीबार भने तीन दिनको करेक्सनपछि फेरि विस्तारै सम्हालिन थालेको देखियो ।
अधिकांश सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आइसकेकोले बजार अब स्वाभाविक गतिमा अघि बढ्ने देखिएको छ । वित्तीय विवरणपछि अब लाभांश घोषणा र साधारण सभाको समय आउँदैछ ।
बिहीबार २३२ कम्पनीको २ करोड १६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । ९३ करोड ८४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली र रिडी हाइड्रोपावर परेका छन् ।
प्रतिक्रिया