Logo

Banner-news

के मणिपाल मेडिकल कलेज बेच्न मिल्छ ?


GDP Nepal
   ११ भाद्र २०७८, शुक्रबार


पोखरा । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट हात झिक्ने भारतीय लगानीकर्ताको निर्णय निश्चय पनि सुखद् थिएन, बारम्बारको कर्मचारी आन्दोलनका कारण भने लगानीकर्ता लामो समयदेखि फर्कन चाहिरहेका थिए ।

नेपालको पहिलो निजी मेडिकल कलेज हुनुको सौंदर्य गुमाउँदै गएको अवस्थामा भारतीय कम्पनीले आफ्नो विरासत धान्ने लगानीकर्ता खोजिरहेको अवस्थामा जोडिएका हुन् बतास र अटोवेज समूह ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को मात्र नभइ निजी लगानीमा मुलुकमै पहिलोपटक खुलेको मणिपाल मेडिकल कलेजलाई राज्यले यथोचित सुविधा उपलब्ध गराएकै हो । जसको पछाडि गुणस्तरीय चिकित्सा शिक्षा नेपालमै उपलब्ध गराउने मात्र नभइ नेपाल एफडीआईमा उदार छ भन्ने सन्देश दिनु पनि थियो । यतिमात्र नभै पर्यटनको राजधानी पोखरामा ‘मेडिकल टुरिजम’को अर्को आयाम थप्ने लक्ष्य पनि थियो ।

सुरुवाती वर्षमा निकै राम्रो गरिरहेको मणिपाल ग्रुपले पछिल्लो दशकमा भने अपेक्षित रुपमा सफलता हासिल गर्न सकेन । कर्मचारी–व्यवस्थापनबीच हरेक वर्ष हुने तनावदेखि श्रम ऐन कार्यान्वयन लगायतका मुद्दाका कारण अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न नसक्दा शाख गिर्दो अवस्थामा थियो । मुलुकभित्रै चिकित्सा शिक्षामा बढ्दो प्रतिस्पर्धा र आन्तरिक व्यवस्थापन पनि कारणका रुपमा थपिए । यी र यस्तै कारणले भारतीय कम्पनी मणिपाल बिक्रीको निर्णयमा पुग्यो ।

पोखरा क्षेत्रका लागि मणिपाल ढुकढुकी पनि हो । यसैले मणिपाल मेडिकल कलेजलाई पुनर्जीवन आवश्यक छ । यसमा ठूलो जोखिम मोलेर सामाजिक उद्यमी आनन्दराज बतास र नारायण पौडेलले हात हालेका छन् । पछिल्ला वर्षमा निजी लगानीमा मेडिकल कलेज राख्ने कि नराख्ने भन्ने बहस चलिरहेका बेला पोखरेलीले गर्व गर्ने संस्थालाई ढल्न नदिन बतास र पौडेलको तत्परता प्रशंशालायक छ ।

मणिपाल मेडिकल कलेज

के मणिपाल बिक्री गर्न मिल्दैन ?
भारतीय कम्पनीले मणिपाल छाड्ने निर्णय जति दुखद् थियो, त्यति नै सुखद् समाचार भने यसको स्वामित्व हस्तान्तरणको निर्णयसँगै सञ्चार भएको छ । मणिपालको स्वामित्व स्वदेशी लगानीकर्ताले खरिद गर्ने र त्यो पनि पोखरामा आर्थिक, सामाजिक रुपमा स्थापित घराना नै जोडिएकाले यसबाट पोखरामा मात्र नभइ मुलुकभर सुखद् समाचारका रुपमा लिइएको छ ।

कतिपयले भने मणिपाल एजुकसेन एन्ड मेडिकल ग्रुपले मेडिकल कलेज बिक्री गर्नै नमिल्ने तर्क गरिरहेका छन् । उनीहरूको तर्क सरकारसँग ५० वर्षे सम्झौता गरेका कारण यो ग्रुपले मेडिकल कलेज छाड्न नहुने रहेको छ । तर, संसारका सबै मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीमा समस्या आएमा सहजै छाड्नसक्ने व्यवस्था गरिएको हुन्छ । एफडीआई भित्र्याउने र बाहिरिने सहज प्रक्रियाकै कारण थप लगानी सम्भव हुने भएकाले यो सर्वमान्य र सर्वस्वीकार्य व्यवस्था पनि हो ।

मणिपाल ग्रुपलाई नेपालमा रहेको मेडिकल कलेज बिक्री गर्न पाउँदैन भन्ने तर्क वैदेशिक लगानीलाई ‘ढोका थुनेर बिरालो कुट्ने’ नियतका रुपमा व्याख्या गर्न सकिन्छ । नेपालको प्रचलित कानुनअनुसार त यस्तो व्याख्या कहिँ कतै नभए पनि विद्वान भनिएकाहरूबाटै आइरहने यस्ता तर्कले थप वैदेशिक लगानीलाई समेत निरुत्साहित गर्ने देखिन्छ । एफडीआईको विषयमा विश्वव्यापी मान्यता तथा नेपालको कानुनको सामान्य जानकारी समेत नहुनेबाट यस्ता टिप्पणी हुने गरे पनि आम सर्वसाधारणमा भने यसले भ्रम फैलाउन सफल भएको देखिन्छ । जुन दुर्भाग्यपूर्ण छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा २० मा लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउनेसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । यसकारण मणिपालले मेडिकल कलेज बिक्री गर्न पाउने कि नपाउने भन्ने विवाद मेडिकल कलेजको शाख माथि उठ्न नदिने प्रपञ्चमात्र हो भनेर बुझ्न कठिन छैन ।

मणिपालमा यसरी जोडिए बतास र पौडेल
कोरोना कहर बढ्दै जाँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आफैं ठूलो बीउ पुँजी राखेर रकम जुटाएका बतास र पौडेलका लागि स्वास्थ्य क्षेत्रमै केही गरौं भन्ने हुटहुटी थियो ।

सरकारी अस्पताललाई एक तहको सहयोगपछि उनीहरू सधैँ त्यसमा आवद्ध रहिरहन सम्भव थिएन । त्यसैले उनीहरूका लागि शाख गुमाइरहेको तर पूर्वाधारले सम्पन्न र पोखराकै इतिहासको गौरव बोकेको मणिपाल मेडिकल कलेजलाई पुनर्जीवन दिन उचित अवसर पर्खिरहेको थियो ।

यस्तो अवसरको सदुपयोग गर्न बतास र पौडेल चुकेनन् र फलतः मणिपाल मेडिकल कलेज खरिदका लागि नेगोसिएसन र स्रोत व्यवस्थापनमा सुषुप्त रुपमा लागिरहे । परिणाम खरिदबिक्री सम्झौता सम्भव भयो ।

सञ्चालनमा अझै चुनौती
मणिपाल मेडिकल कलेज स्थापनापछि साविककै अवस्थामा सञ्चालन सम्भव छैन । साढे ३ अर्बमा खरिद गरिएको यो मेडिकल कलेजमा थप डेढ अर्ब लगानी गर्ने घोषणा अध्यक्ष बतासले गरिसकेका छन् ।

मणिपाललाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरेर यसको नाफामा साझेदारी गर्ने र वित्तीय विवरण पारदर्शी बनाउनेसम्मका योजनामा नयाँ लगानीकर्ता देखिन्छन् । कलेजमा प्यारामेडिकल कोर्स, बीबीए तथा एमबीए एन्ड इञ्जिनियरिङ र बीडीएस अध्ययन सुरु गर्ने योजना पनि छ । यसले अस्पतालप्रति सर्वसाधारणको अपनत्व बढ्ने र सेवा प्रवाह तथा अध्ययन अध्यापन पुनः लयमा फर्कने विश्वास गरिएको छ ।

अस्पताल नाफामुखी कि सेवामुखी ?
भारतीय लगानीकर्ता फर्केसँगै अस्पताल नाफामुखी हुने कतिपयले टिप्पणी गरेका छन् । तर, अस्पतालको शुल्क आफैं निर्धारण गर्नसक्ने अवस्था छैन । विगतमा आफूखुसी निर्धारण गरिएका चिकित्सकीय शुल्कसमेत फिर्ता भइ सरकारले तोकेकै शुल्क लागू भइरहेको अवस्था छ ।

अस्पतालमा लगानीकर्ताको ठूलो पुँजी लगानी भएको तथा बैंकको ब्याज, सेवा विस्तार तथा प्रतिफल लगायतका कारणले पनि यसले नाफा कमाउनैपर्छ । तर, त्यो नाफा राज्यले तोकेको सीमाभित्र हुनुपर्छ र कुशल व्यवस्थापनका माध्यमले त्यो सम्भव पनि छ । अन्य कम्पनी सञ्चालनको अनुभवका आधारमा बतास र अटोवेज समूह यसमा सफल हुनसक्ने आधार धेरै छन् ।

पोखरावासीका लागि गौरव
पोखरावासीका लागि आफ्नै क्षेत्रका उद्यमीले अस्पताल खरीद गर्नु गौरवको विषय हुनुपर्नेमा कतिपयले यसलाई शंकाको नजरले हेर्ने गरेको पाइन्छ । खासगरी अस्पतालले उपयोग गरिरहेको जग्गाका विषयमा यस क्षेत्रका कतिपय जनप्रतिनिधिले समेत भ्रमपूर्ण टिप्पणी गरेको देखिन्छ ।

४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले थप १ सय रोपनी जग्गा लिजमा लिएको छ । अस्पतालको मुख्य भवन संरचना आफ्नै भवनमा रहेको तथा अन्य जग्गाको लिज पनि झन्डै २५ वर्ष बाँकी रहेकाले यसमा व्यर्थको विवाद निम्त्याउन खोजिएको देखिन्छ ।

सम्झौताअनुसार निर्धारित समय पूरा भएपछि अस्पतालले सरकारी जग्गामा निर्माण भएका संरचना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्छ भन्नेजस्तो सामान्य विषय अर्बौं लगानी गर्ने लगानीकर्तालाई जानकारी नहुने विषय नै होइन । त्यसबेला सरकारले आवश्यक देखेमा र लगानीकर्ताले औचित्य पुष्टि गर्न सकेमा नवीकरण पनि हुन सक्नेछ । तर, यसलाई शंकाको नजरले हेर्नेहरूको आफ्नै स्वार्थ देखिन्छ ।

नयाँ लगानीकर्ताको आफ्नै व्यावसायिक योजना अवश्य पनि छ र यसका लागि अझै धेरै समय बाँकी भएकाले अहिल्यै व्यर्थको विवाद झिक्न खोज्नु भनेको बतास र अटोवेज समूहले लिएको जोखिमप्रति इश्र्यामात्र हो भन्ने बुझ्न कठिन छैन ।

मणिपाल मेडिकल कलेजको सेवा सुविधाको क्षेत्र तथा गुणस्तर वृद्धि गरेर सेवाग्राही तथा जनशक्तिको संख्या बढाइ विगतमा पाएको १५० एमबीबीएस कोटा पुनः प्राप्त गर्नेदेखि उच्च तहको पढाइका लागि आधार तय गर्नु नयाँ लगानीकर्ताका लागि मुख्य चुनौती हो । यससँगै गण्डकी प्रदेशसहित आसपासका क्षेत्रबाट उपचारका लागि काठमाडौंसम्म जानुपर्ने अवस्थाको अन्त्य यो मेडिकल कलेजको नयाँ व्यवस्थापनले गर्नुपर्ने देखिन्छ ।

गुणस्तरीय स्वास्थ्य सुविधा र दक्ष जनशक्ति उत्पादनका लागि मणिपाल मेडिकल कलेज र बतास–अटोवेज समूहलाई शुभकामना !

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह