Logo

राजनीति

डा. केसीका पक्षमा हजारौं सडकमा, सुशीला कार्कीले दिइन् आगो बल्ने चेतावनी


appharu
   ५ श्रावण २०७५, शनिबार


काठमाडौं । अनसनरत चिकित्सक गोविन्द केसीका सबै माग पूरा गर्न सरकारलाई दबाब दिन हजारौं नागरिक एकसाथ सडकमा ओर्लेका छन् ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्री डा. वावुराम भट्टराई, नायिका मनिषा कोइराला, करिश्मा मानन्धर, नागरिक अगुवा कृष्ण पहाडी, श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला, सांसद गगन थापासहितका नागरिक अगुवाले सडकमै ओर्लेर केसीका माग पूरा गर्न सरकारलाई चेतावनी दिए ।

उनीहरु डा. केसीको समर्थनमा शनिबार माइतीघरबाट बानेश्वरसम्मको प्रदर्शनमा सहभागी भएका थिए ।


कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केसीले राखेका चिकित्सा सुधारका माग पूरा नभए देशमा आगो बल्ने चेतावनी दिइन् । उनले डाक्टर केसीलाई कहिले कांग्रेस भनिएको र कहिले कुन पार्टीको भनिएको भन्दै राजनीतिक रङ लगाउने चेष्टा नगर्न पनि आग्रह गरिन् ।

‘यो सामाजिक आन्दोलन हो, राजनीतिक होइन। सरकारले जनताले भनेको मान्नुपर्छ मानेन भने सरकार अनपपुलर हुन्छ’ उनले भनिन्, ’डाक्टर केसीका माग पूरा भएन भने देशमा आगो बल्छ।’

सरकारले डाक्टर केसीका माग पूरा गरी शिक्षा र स्वास्थ्यलाई गरिब जनताको पहुँचमा पुर्याउनु पर्ने उनले बताइन्। केसीका माग सरकारले नसुनेपछि बाध्य भएर सडकमा उत्रिएको उनले बताइन् ।

कार्यक्रममा लेखक खगेन्द्र संग्रौलाले डा. केसी आफ्ना लागि नभई आम नेपालीका लागि लडिरहेको भन्दै सरकारले डाक्टर केसी मरेको हेर्न चाहेको जस्तो देखिएको बताए ।

कार्यक्रमलाई नायिका मनिषा कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहे पनि प्रहरीको अश्रुग्यासले असर गरेका कारण उनी बहिरिएकी थिइन् ।

तरुण दलका कार्यकर्ता र प्रहरीबीचको झडपका कारण कार्यक्रम चलिरहेकै बेला वानेश्वर क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो । प्रहरीले आधा दर्जन अश्रुग्यास प्रहार गरी लाठीचार्ज गर्दा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित केही घाइते भए ।

प्रकाशित : ५ श्रावण २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह