Logo

राजनीति

डा. केसीको पहिलो अनसन आफ्नै सहकर्मी अरुण सायमीविरुद्ध, प्रश्नपत्र नै विक्री गर्थे सायमी


appharu
   ६ श्रावण २०७५, आइतबार


काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि १५ औं पटक अनसन बसिरहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसी पहिलोपटक भने आफ्नै सहकर्मी अरुण सायमीविरुद्ध अनसन बसेका थिए ।

डा. केसीको अनसन चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. अरुण सायमीले प्रश्नपत्र किनबेच र परीक्षामा धाँधली गरेपछि सुरु भएको हो । उनी २०६९ असार २१ मा पहिलो अनसन शिक्षण अस्पतालमै बसेका थिए ।

केसीको पहिलो अनसनमा तीन सूत्रीय मागअन्तर्गत धाँधली, भ्रष्टाचार, अनियमितता र पदको दुरुपयोगमा दोषी पाएका संस्थानका हाल पदमुक्त डिन लगायतका उच्च पदाधिकारीलाई कारबाहीसँगै पुनः नियुक्तिका लागि अयोग्य ठहर गर्नुपर्ने माग थियो ।

डा. केसी अनसन बस्नुपर्ने मुख्य कारण नै सायमीले भित्र्याएको बर्बादी भएको त्यहाँका चिकित्सकहरु बताउँछन् । डा. सायमी ०६६ सालमा त्रिभुवन विश्वविद्यालय (टियु)को पोस्ट ग्राजुयट परीक्षामा प्रश्नपत्र किनबेच र परीक्षामा धाँधली गरेको आरोप लागेका व्यक्ति हुन् । सो विवादको कारणले १९ दिन शिक्षण अस्पताल बन्द भएको थियो ।

पूर्व शिक्षासचिव जयराम गिरीको आयोगले छानविन गर्दा डाक्टर सायमीलाई दोषी ठहर गरेको थियो । तर उनलाई कुनै कारवाही भएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सायमीलाई साथ दिएपछि उनीमाथि कुनै कारवाही हुन सकेन ।

नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी निकट भएकैले राजनीतिक आस्थाका आधारमा सायमीले डिन पद पाए पनि यसको व्यापक दुरुपयोग गरेका थिए । सायमीको अनियमितताको विरोध गरेकैले एमाले पक्षधर डाक्टर तथा कर्मचारीले केसीलाई कांग्रेस भन्ने ट्याग भिराइदिएका हुन् । जुन आरोप आजसम्म लागिरहेको छ ।

सायमीसँग महराजगन्ज क्याम्पसका पूर्वप्रमुख डा. रामप्रसाद उप्रेती पनि सोहीकाण्डमा आरोपित थिए ।

सायमीको कार्यकाल सकिँदासमेत नयाँ नियुक्ति नभएपछि उनले पुरानै प्रवृत्ति देखाउन थालेपछि केसी अनसन बसेका हुन् । वरिष्ठताका आधारमा आइओएमको डीन नियुक्ति गरिनुपर्ने उनको पहिलो माग थियो ।

४ दिनसम्म अनसन बसेपछि वरिष्ठताका आधारमा डा. कुमुदकुमार काफ्ले डीन नियुक्त भएका थिए ।

केसीले पहिलो अनसनमै राजनीतिक हस्तक्षेप बन्द गरी वरिष्ठताका आधारमा आइओएममा डीन नियुक्त गरिनुपर्ने माग राखेका थिए । पहिलो पटकको अनशनको चौथो दिन (२०६९ असार २४) त्रिवि कार्यकारी परिषद्ले डा. केसीको माग सम्बोधन गर्दै वरिष्ठता सूचीमा पहिलो नम्बरमा रहेका डा. कुमुदकुमार काफ्लेलाई आइओएमको डीन नियुक्त गरेको हो ।

डा. काफ्लेले डीन भएको एक महिनामै उमेरका कारण अवकास पाए। त्रिविले पुनः वरिष्ठता अनुसार डीन नियुक्तिमा आलटाल गरेपछि डा.केसीले दोस्रो पटक सोही माग राखी आमरण अनशन बस्ने घोषणा गरेका थिए ।

प्रकाशित : ६ श्रावण २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह