Logo

बिजनेस होम

चेम्बरले महासंघको सदस्यता त्याग्यो, काउन्टरमा ‘काठमाडौं उद्योग वाणिज्य संघ’ गठन हुँदै


appharu
   २२ श्रावण २०७५, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यबाट अलग हुने चेम्बर अफ कमर्सको बोर्ड बैठकको निर्णयपछि यतिबेला निजी क्षेत्रमा बहस तातेको छ । चेम्बरको यो निर्णय अनपेक्षित त थिएन नै, सँगसँगै यो निर्णयबाट चेम्बरलाई फाइदा नै पुग्ला भन्ने कमैलाई मात्र विश्वास छ ।

चेम्बरले महासंघसँग संस्थागत सदस्यता त्यागेपनि चेम्बरका अधिकांश सदस्य कुनै न कुनै रुपमा महासंघसँग आवद्ध छन् । महासंघका वस्तुगत समितिका सदस्यहरु चेम्बरका पनि सदस्य हुन् भने एशोसियटमा प्रत्यक्ष सदस्य पनि छन् ।

महासंघका देशभर रहेका १०५ वटा जिल्ला नगर उद्योग वाणिज्य संघमध्ये चेम्बरले सदस्यता त्यागेपछि १०४ वटा हुनेछ भनेर संख्यात्मक गणना गर्ने भुल महासंघले ग¥यो भने पहिलो दुर्भाग्य हुनेछ भने चेम्बर बाहिरिए पनि महासंघ आवद्धताको लागि काठमाडौं उद्योग वाणिज्य संघ गठन हुनसक्ने भएकाले यसबाट चेम्बरलाई प्रत्यक्ष प्रतिस्पर्धी पनि जन्मिन सक्छ ।

काठमाडौंमा चेम्बरकै कारण अन्य उद्योग वाणिज्य संघ गठन हुन सकेका थिएनन् । काठमाडौंको सहरी क्षेत्रका उद्योगी व्यवसायीको नेतृत्व चेम्बरले गरिरहेकाले अन्य इच्छुक व्यवसायीलाई महासंघले संघ गठनका लागि साथ दिन सकेको थिएन ।

चेम्बर बाहिरिएसँगै काठमाडौं उद्योग वाणिज्य संघ गठन हुनेछ र सम्भवतः त्यो देशभरका १०४ संघभन्दा बलियो हुनेछ । यसले देशव्यापी विस्तार भइरहेको चेम्बरलाई काठमाडौंमै आफ्नो सौता भित्रिएपछि परिस्थिति थप जटिल बन्ने देखिन्छ ।

काठमाडौं उद्योग वाणिज्य संघ स्थापनाका लागि महासंघका केही वर्तमान र पूर्व पदाधिकारीहरुबीच अनौपचारिक सहमतिसमेत भइसकेकाले चाँडै नै यो गठन हुने देखिन्छ ।

काठमाडौं महानगरपालिकामा मात्र नभइ कीर्तिपुर, साँखुलगायतका क्षेत्रमा उद्योग वाणिज्य संघ स्थापनाको प्रयाश यसअघि पनि भएका हुन् । तर, चेम्बरकै दवावका कारण त्यो हुन नसके पनि अब भने बाटो खुलेको छ ।

अब काठमाडौंमा जिल्ला उद्योग वाणिज्य संघदेखि महानगरसहित दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बूढानिलकण्ठ, गोकर्णेश्वर, शंखरापुर, कागेश्वरी मनोहरा नगरपालिकामा छुट्टाछुट्टै उद्योग वाणिज्य संघ स्थापना हुन सक्छन् ।
चेम्बरले महासंघसँगको ५२ वर्षदेखिको नाता तोड्ने स्वेच्छिक निर्णय गरे पनि यो निर्णय अन्ततः उसैलाई भारी पर्ने देखिएको छ । तर, महासंघ नेतृत्वसामु संस्थापक सदस्य (चेम्बर)लाई बचाउन नसकेको भन्ने आरोप भने लाग्ने छ ।

चेम्बरसँगको विवादपछि महासंघका तत्कालीन जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले नै काठमाडौं जिल्ला उद्योग वाणिज्य संघको अवधारणा अघि सारेका थिए । तर, अध्यक्ष कुशकुमार जोशीले रोकेपछि यो योजना पूरा भएको थिएन ।

राष्ट्रिय निर्देशन ऐनअनुसार गठन भएको चेम्बरलाई पनि महासंघलाई जस्तै संघीय संरचनामा जान मन्त्रिपरिषदले विधान संशोधनको स्वीकृति दिएपछि चेम्बरले संगठन विस्तार सुरु गरेको हो । जसमध्ये अधिकांश जिल्लामा उद्योग वाणिज्य संघमा पराजीत रहेकाहरुलाई लिएर चेम्बरले संगठन विस्तार सुरु गरिसकेको छ ।

चेम्बरले सदस्यता त्याग्ने निर्णयसहितको पत्र महासंघलाई सोमबार पठाएको छ । चेम्बर २००७ सालमा स्थापना भएको चेम्बर आफैं संस्थापक बसेर महासंघ स्थापना गरे पनि यी दुई संस्थाबीच सम्बन्ध लामो समयदेखि त्यति सुमधुर हुन सकेको थिएन ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह