Logo

घुमफिर

पर्यटन बोर्ड सीईओमाथि छानबिनः स्पष्टीकरण मागिने, पदमुक्तको सम्भावना कति ?


GDP Nepal
   २२ कार्तिक २०७८, सोमबार


काठमाडौं । मदिरा सेवन गरेर भन्सारका कर्मचारीमाथि हातपात गर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीसँग विभागीय मन्त्रालयले स्पष्टीकरण सोधेको छ । राजनीतिक पहुँच र प्रभावका आधारमा मनमौजी व्यवहार गरिरहेका रेग्मीसँग पछिल्लो घटनाको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै स्पष्टीकरण लिने भएको हो ।

वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर लन्डनबाट स्वदेश फर्किँदा ५ बोतल ह्वीस्की बोकेका सीईओ रेग्मीलाई कर्मचारीले कानुनविपरीत कोटाभन्दा बढी मदिरा ल्याएको भन्दै जफत गर्न खोज्दा उनले नासु तहका भन्सार कर्मचारीलाई नै हातपात गरेका थिए ।

सोमबार यस घटनाका सम्बन्धमा बिजमान्डू डटकम लगायतका विभिन्न मिडियामा समाचार सार्वजनिक भएसँगै सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर मन्त्री प्रेम आलेले मौखिक स्पष्टीकरण सोधेका थिए । मन्त्रीले भन्सारका कर्मचारीसँग भएको घटनाबारे जानकारी लिएका थिए ।

मन्त्री तथा मन्त्रालयका उच्च अधिकारीहरुले दुवै पक्षसँग कुराकानी गरेसँगै मन्त्रीले बोर्डका सीईओसँग लिखित स्पटीकरण माग गर्न निर्देशन दिएका हुन् ।

बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले लिखित स्पष्टीकरण माग गर्ने जनाएका छन् ।

सीइओ स्वयमले अनलाइनखबरसँगको अन्तरवार्तामा घटनाबारे पुष्टि गरे पनि पर्यटन बोर्डले भने विज्ञप्ति जारी गर्दै उनको बचाउ गरेको छ । बोर्डले सामान्य घटनालाई उचालेर ठूलो बनाइएको दावी गरेको छ ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको जोडबलमा सीईओ नियुक्त भएका रेग्मीले दुई वर्षको अवधिमा बोर्डलाई तहसनहस बनाएको तथा आफ्नो जिम्मेवारीबाट पन्छेर माथिल्ला निकाय रिझाउन खोजेको भन्दै कर्मचारी पनि आन्दोलित छन् ।

बोर्डबाट हुने हरेक खरिदसम्बन्धी निर्णयमा उनको व्यापारिक स्वार्थ जोडिने गरेको आरोप समेत लाग्दै आएको छ ।

सीईओ रेग्मीले पर्यटनमन्त्री आलेसँग सम्बन्ध सुधार भएको आफूनिकटसँग बताउँदै आए पनि आले स्वयं भने उनलाई बचाउने पक्षमा छैनन् । विभिन्न विवादमा मुछिएका र पर्यटन बोर्डको छवि नै धूमिल हुने गतिविधि गरेका कारण उनलाई थप स्पष्टीकरण सोधेर बिदा गर्ने पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह