Logo

अर्थनीति

घरजग्गाको मूल्यवृद्धिः मालपोतमा १२.५७% र वाणिज्य बैंकमा १६.३१%


GDP Nepal
   ३ मंसिर २०७८, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा मूल्य सूचकांकाले मालपोत कार्यालय र वाणिज्य बैंकको मुद्रास्फीति फरक रहेको देखाएको छ ।

राष्ट्र बैंकले पहिलोपटक शुक्रबार सार्वजनिक गरेको घरजग्गाको मुद्रास्फीति तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को प्रथम नौ महिनामा मालपोतमा १२.५७ प्रतिशत र वाणिज्य बैंकको तथ्यांकमा १६.३१ प्रतिशत मूल्य बढेको पाइएको छ ।

सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मद्रास्फीति २६.४५ प्रतिशत रहेको थियो भने मालपोत कार्यलयहरूबाट प्राप्त तथ्याङ्कको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को प्रथम नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ प्रतिशत र १२.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को प्रथम नौ महिनामा घरजग्गाको कारोवारमा केही शिथिलता आएकोले मद्रास्फीति केही कम रहेको छ ।

केन्द्रीय बैंकले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल प्रभाव पार्न सक्ने सम्भावना भएकाले यस क्षेत्रको मूल्य स्थिति सम्बन्धमा जानकारी राख्नुपर्ने जनाएको छ । यसका लागि घरजग्गा क्षेत्रको मूल्य सूचकाङ्क निर्माण गरी घरजग्गा मुद्रास्फीति मापन कार्य आवश्यक भएको उसको भनाइ छ ।

मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको लागि समेत घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण रहेको बैंकको भनाइ छ ।

घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माण गरिएको हो । यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकाङ्क त्रैमासिक रूपमा नियमित प्रकाशन गर्न लागिएको जनाइएको छ ।

घरजग्गा मूल्यको तथ्याङ्क २० वटा जिल्लाका मालपोत कार्यालय र क वर्गका ६ वटा वाणिज्य बैंकहरूबाट लिने गरी सर्वेक्षण सम्पन्न गरिएको छ । तथ्याङ्कका स्रोतबाट नमूनाहरू छनोट गर्दा धेरै नमूनाको प्रति वर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यमा धेरैजसो कारोवार हुने गरेको देखिएकोले त्यस्ता प्रति इकाई सममूल्य भएका नमूनामध्येबाट तुलनात्मक रूपमा थोरै पर्ने गरी नमूना छनोट गर्दा सूचकाङ्क थप विश्वसनीय हुने दावी गरिएको ।

नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण कार्य सम्पन्न गरिएको हुँदा अन्य देशले जस्तो जग्गाको लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको साइज, मोहडा, व्यापारिक तथा आवासीयजस्ता चरहरूलाई सूचकाङ्कमा समावेश गर्न भने नसकिएको केन्द्रीय बैंकले जनाएको छ ।

घरजग्गाको बढी कारोवार हुने स्थानहरू छिटोछिटो परिवर्तन हुने भएकोले अद्यावधिक मूल्य सर्वेक्षण कार्य ५ वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने देखिन्छ । सर्वेक्षणको अन्तराल लामो भएमा एकातर्फ सूचकाङ्कलाई चाहिने तथ्याङ्कको मात्रा अपुग भई सही सूचकाङ्क नआउन सक्ने जोखिम रहेको प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह