Logo

बिजनेस होम

गहना निर्यात गर्ने भए चाहिएजति सुन लैजानुस्ः गभर्नर नेपाल


appharu
   ३ भाद्र २०७५, आइतबार


काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले गरगहना निर्यात गर्ने भए जति पनि सुन उपलब्ध गराउन तयार रहेको बताएका छन् ।

गभर्नर नेपालले सुनचाँदी व्यवसायीहरुले स्वदेशी बजारमात्र नहेरी गरगहना निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । नेपाल रत्न तथा आभुषण संघको १४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै गर्भनरले सुनचाँदी व्यवसायीहरुले निर्यात हाउसमार्फत निर्यात गर्ने भए जतिपनि सुन दिन तयार रहेको बताए ।

‘एक्सपोर्ट हाउस खोल्नुस् र हामीलाई यति केजी सुन चाहियो भन्नुस् हामी दिन तयार छौं,’ गर्भनर नेपालले भने । यद्यपि, भुक्तानी सन्तुलनको विषयमा भने आफूहरु सतर्क रहेको उनको भनाइ छ ।

गर्भनर नेपालले व्यवसायीहरुको फरक संघअनुसार माग पनि फरक हुने गरेको भन्दै फुट्ने भन्दा पनि जुटेर आएमा उनीहरुको माग पुरा गर्ने बताए । ‘हरेक व्यवसायीक संघहरु फुट्ने गरेको हुँदा तपाईँहरु सबै संघ एउटै हुनुस् र आउनुस् हामी तपाईँहरुको सबैजसो माग पूरा गरिदिन्छौं, तर फेरी फुट्नु भएन,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले सुनचाँदी व्यवसायलाई गलत तरिकाले ब्याख्या गरिने गरेको भन्दै यसले देशको अर्थतन्त्रमा निकै योगदान पुर्याएको बताए । यो व्यवसायले मूल्य अभिवृद्धि गर्ने गरेको, रोजगारी सिर्जना गरेको र निर्यातको निकै संभावना बोकेको उनको भनाई थियो ।

यस्तै, नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाली सिपको प्रयोग भएको सुनचाँदी व्यवसायले नेपाली हस्तकलाको प्रबद्र्धन गरेको बताए । उनले नेपालको व्यापार घाटा कम गर्न एक्सपोर्ट हाउस बनाएर लैजानुपर्नेमा जोड दिए ।
मल्लले बैंकलाई मात्र सुन आयात गर्न दिने नियम परिवर्तन गरेर सबैको लागि खुला गरिनुपर्ने माग गरे ।

संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले सरकारले बैंकहरु बाहेक निजी क्षेत्रलाई पनि सुनको आयात गर्न सक्ने नीतिगत व्यवस्था गर्नुपर्ने स्पष्ट पारिन् । त्यस्तै हालको ५० हजार रुपैयाँ भन्दा बढी मुल्यको सुन खरिद गर्न चेकबाट भुक्तानी गर्ने व्यवस्थालाई बढाएर ५ लाख रुपैयाँ भन्दा बढी पुर्याउनुपर्ने माग गरिन् ।
‘सुन खरिदको लागि व्यवसायीहरुले सबै बाणिज्य बैंकहरुमा खाता खोल्नुपर्ने बाध्यता रहेको छ, त्यस्तो व्यवस्था हटाएर एक वा दुई बैंकमा भएको खाताहरुबाट सुन खरिद गर्न सक्ने व्यवस्था गरियो्,’ उनले भनिन् ।
अध्यक्ष श्रेष्ठले सुनचाँदीमा लगाईने भन्सार दर बेस रेट मूल्यमा नै तोक्नुपर्ने, हालको दैनिक सुन आपूर्तिको कोटालाई बढाउनुपर्ने, बहुमुल्य पत्थरहरुको उत्खनन, प्रशोधन र बिक्री बितरणका लागि सरकारले नीति बनाउनुपर्ने, कालिगढहरुलाई तालिमको व्यवस्था गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षित गरिन् ।

प्रकाशित : ३ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह