Logo

अर्थनीति

कोभिड महामारी उच्च भएको वर्ष नै खुले ८३ हजार घरेलु उद्योग, कसले गर्‍यो लगानी ?


GDP Nepal
   १६ मंसिर २०७८, बिहिबार


काठमाडौं । मुलुकभर ४ लाख ८७ हजार ६४३ लघु घरेलु उद्योग रहेको तथ्यांकले देखाएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको लघु घरेलु उद्योगसम्बन्धी तथ्यांकअनुसार कोभिड संक्रमण उच्च रहेको आर्थिक वर्ष २०७७/७८ मै सबैभन्दा बढी उद्योग दर्ता भएका छन् ।

विभागका अनुसार गत आवमा मात्र ८३ हजार ३८६ उद्योग थपिएका छन् । थपिएका उद्योगमध्ये सेवामूलक बढी रहेको विभागको तथ्यांक छ । अघिल्लो आवमा ४८ हजार ५८४ उद्योग थपिएका थिए ।

वैदेशिक रोजगारीमा गएर फर्केकाहरुले नयाँ उद्योग स्थापना गर्ने क्रम बढेकाले उद्योगको संख्यामा बढोत्तरी भएको विभागका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार विदेशमा रोजगारी गुमाएर फर्किएका तथा महामारीका कारण विदेश नजाने सोच बनाएकाहरुले लघु घरेलु उद्योग दर्ता गरेका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ सम्ममा दर्ता कायम रहेका ४ लाख ८७ हजार ६४३ उद्योगमध्ये सेवामूलक उद्योगको संख्या सबैभन्दा उच्च १ लाख ७८ हजार ६६२ संख्यामा रहेको छ ।

दोस्रो स्थानमा रहेको कृषि तथा वनजन्य उद्योगको दर्ता तथा नवीकरण संख्या १ लाख ३९ हजार १७६ रहेको छ भने उत्पादनमूलक उद्योग तेस्रो स्थानमा रहेको छ ।

विभागका अनुसार आव २०७७/७८ सम्ममा दर्ता तथा नवीकरण भएका उत्पादनमूलक उद्योगको संख्या १ लाख ७ हजार ७७९ रहेको छ ।

यसबाहेक पर्यटनतर्फ ५० हजार ९४० तथा निर्माणतर्फ ९ हजार ६०८ उद्योग दर्ता तथा नवीकरण भएका छन् ।

यस्तै, ऊर्जातर्फ ५८३ लघु घरेलु उद्योग दर्ता हुँदा खनिजतर्फ ४८३ र सूचना प्रविधिका क्षेत्रमा ४१२ उद्योग दर्ता र नवीकरणसहित अद्यावधिक भएको तथ्यांक छ ।

वित्तीय क्षेत्र विकास रणनीति, २०७४—२०७७/७८ अनुसार नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान गरेका छन् । यस्तै यी उद्योगबाट झन्डै १७ लाख रोजगारी सिर्जना भएको छ ।

संसारका कतिपय उदीयमान मुलुकहरुमा एसएमइहरुले कुल रोजगारीमा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशतसम्म योगदान गरेको पाइन्छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह