Logo

अर्थनीति

गत वर्ष गणतन्त्रपछिकै कम मूल्यवृद्धि, काठमाडौं ३.३ प्रतिशतमात्र !


appharu
   ६ भाद्र २०७५, बुधबार


काठमाडौं । गत आर्थिक वर्षमा पछिल्लो १३ वर्षयताकै कम मूल्यवृद्धि भएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (२०७४/७५)मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित रहेको छ ।

अघिल्लो वर्ष पनि मुद्रास्फीति जम्मा ४.५ प्रतिशतमात्रै रहेको थियो । राष्ट्र बैंकका अनुसार गत आवको मुद्रास्फीति आर्थिक वर्ष २०६१/६२ पछिको सबैभन्दा न्यून हो । आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।

तर, २०७५ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । यसले पछिल्ला दिनमा मुद्रास्फीतिको चाप बढ्दै गएकाले चालू वर्ष भने बढ्नसक्ने देखिन्छ ।
वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दवावमा रहन सक्ने जोखिमको संकेत गरेको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति हिमालमा ५.९ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष यस्तो मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ६.४ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको थियो ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २०७५ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.६ प्रतिशत र भारतमा ४.२ प्रतिशत रहेकोले यी दुई मुलुकहरुबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः २.७ प्रतिशत र २.४ प्रतिशत रही मुद्रास्फीति अन्तर ०.३ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा वार्षिक औसत थोक मुद्रास्फीति १.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा कृषिजन्य वस्तुहरुको वार्षिक औसत मूल्य सूचकांकमा ०.३ प्रतिशतले ह्रास आएको छ भने स्वदेशमा उत्पादित वस्तुहरुको वार्षिक औसत मूल्य सूचकांक ५.३ प्रतिशतले र आयातीत वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क ४.१ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित : ६ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह