Logo

बिजनेस होम

मनकारी एनआरएनः जसले ७२९ भूकम्पपीडितको सेयर आफैं हाल्दिए


appharu
   ११ भाद्र २०७५, सोमबार


नेपालमा अहिले एउटा गीत निकै चर्चामा छ– धन बिनाको मन ठूलो कि मन बिनाको धन ? चर्चित वालगायक अशोक दर्जीलाई चिनाउने यो गीतमा गरिएको प्रश्नको जवाफ दिन जो कोहीलाई पनि गाह्रै पर्छ ।

तर, धन र मन दुवै भएका केही नेपालीको कर्म देखेर जो कोहीलाई भित्रैदेखि नमन गर्न मन लाग्छ र तिमध्ये एक हुन्– दिपक खड्का ।


दोलखाको खोपाचागु पुख्र्यौली घर भएका इन्जिनियर खड्का मूलतः अष्ट्रेलियामा स्थापित नेपाली व्यवसायी हुन् । खड्का अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत समेत हुन् ।

लामो समय हङकङ बसेर अष्ट्रेलियामा स्थानान्तरण भएका खड्का गैरआवासीय नेपाली संघ (एनआरएनए)को राजनीतिभन्दा निकै पर रहेकै कारण नेपाली डायस्पोरमा त्यति चर्चित छैनन् ।

खड्काको स्वभाव पनि चर्चाका लागि कुनै काम नगर्ने र आफूले गरेका काम सकेसम्म प्रचारमा नल्याउने भएकाले उनका विषयमा धेरै नेपालीलाई थाहा छैन ।

खड्काले हालैमात्र यस्तो काम गरेका छन्, जसले उनीप्रति निकै श्रद्धा बढाउँछ । माथिल्लो तामाकोसीको सेयर भर्ने पैसा नभएका आफ्ना गाउँलेलाई उनले सेयर भर्न रकम दिए र त्यो पनि ऋणका रुपमा नभै अनुदान स्वरुप ।

विगू गाउँपालिका–८ खोपाचागुका स्थानीयवासीलाई तामाकोसी आयोजनामा सेयर लगानीका लागि खड्काले आवश्यक रकम उपलब्ध गराएका छन् । खोपाचागुका ७ सय २९ घरपरिवारका भूकम्पपीडितको लाभग्राही सूचीमा परेका स्थानीयलाई जनही ५ हजारका दरले उक्त रकम उपलब्ध गराएका हुन् ।

खड्काले खोपाचागुमा शनिबार आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरे । आर्थिक अभावकै कारण माथिल्लो तामाकोसीजस्तो राष्ट्रिय गौरवको आयोजनामा सेयर हाल्ने अवसरबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले आर्थिक सहयोग उपलबध गराएको उनले बताए ।

कार्यक्रममा विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, उपप्रमुख सञ्जिव ओलीसहित अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा तथा प्रदेशसभा सांसदद्वय पशुपति चौलागाईं र विशाल खड्का, कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्कालगायत सहभागी थिए ।

भूकम्पपछि घर बनाउँदा ऋणले थलिएका स्थानीयलाई मनकारी खड्काले सेयर हाल्ने रकम दिएपछि स्थानीयमा खुसियाली छाएको छ । खड्काले यसअघि पनि भूकम्पलगायतका विभिन्न समयमा समस्यामा पर्दै आएका सर्वसाधरणलाई सहयोग गर्दै आएका छन् ।

प्रकाशित : ११ भाद्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह