Logo

बैंक / बिमा /शेयर

होङ्सी शिवमलाई १६ अर्ब कर्जा: लगानी विदेशी, पुँजी भने स्वदेशबाटै ?


appharu
   २० भाद्र २०७५, बुधबार


काठमाडौं । नेपालको हालसम्मकै ठूलो वैदेशिक लगानीको उद्योग हो– होङ्सी शिवम् सिमेन्ट । ५२ अर्ब लागतको चिनियाँ लगानीको यो उद्योगका नेपाली साझेदारहरुमा पहिले शिवम् सिमेन्टका प्रवद्र्धकहरु नै छन् ।

वैदेशिक लगानीको यो उद्योगले नेपालका वाणिज्य बैंकहरुबाट १६ अर्ब कर्जा पाएको छ । नेपाली बैंकिङ इतिहासमाहालसम्मकै सबैभन्दा ठूलो कर्जा प्रवाह भएपछि यसबाट मुलुकमा नयाँ बहस सिर्जना भएको छ ।

त्यो बहस हो– एफडीआईका उद्योगले नै स्वदेशी बजारबाट पुँजी संकलन गर्न थालेपछि नेपाली लगानीकर्ता ऋण खोज्न कहाँ जाने ? त्यसै पनि नेपाली बैंकहरुले कर्जायोग्य रकम अर्थात तरलताको अभाव देखाउँदै ब्याजदरमा मनोमानीमात्रै गरिरहेका छैनन् कि आवश्यक परेका बेला ऋण दिनसमेत सकिरहेका छैनन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा प्रभावशाली सदस्य तथा इष्टर्न कसमस सिमेन्टका कार्यकारी निर्देशक प्रबलजंग पाण्डेले होङ्सी शिवमलाई बैंकहरुले कर्जा दिने समाचार प्रकाशित भएपछि यस्तो लेखे–

५२ अर्बको उद्योगलाई १६ अर्ब कर्जा, लगानी विदेशी पुँजी स्वदेशबाटै ?

नेपालको सबैभन्दा ठूलो बिदेशी लगानीमा भर्खरै सन्चालनमा आएको सिमेन्ट उद्योगले सबै लगानी बिदेशबाटै ल्याउँछ भनेको त नेपाली बैकहरुबाटै ऋण लिएर प्रतिफल बिदेश जाने रै छ । नेपाली पुंजी नै लगानी हुने हो भने नेपाली नै लगानीकर्ता भएको भए त प्रतिफल बिदेश जाने त थिएन, जबकी नेपाली कै लगानीमा नेपाल सिमेन्टमा आत्मनिर्भर उन्मुख भैरहेको थियो ।

पाण्डे आफैं सिमेन्ट उद्योगी भएकाले उनको तर्कमा आग्रह पूर्वाग्रह देखिएला । तर, उनले नेपाली बैंकबाट ऋण लिएर लगानी गरी लाभांश विदेश लैजाने चिनियाँ लगानीकर्ताको योजनाप्रति तिखो व्यंग्य गरेका छन् ।

त्यसो त उनी आफैं पनि बैंकका लगानीकर्ता हुन् तर बैंकहरुको नीतिप्रति सँधै आलोचक । नेपाली सिमेन्टमा यो स्केलको विदेशी लगानी आउनु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने बहस अब पुरानो भइसके पनि मूल प्रश्न भने विदेशी लगानीकर्ताले कतिसम्म नेपाली बजारबाट पुँजी जुटाउन पाउने भन्ने प्रश्न महत्वपूर्ण हो ।

नेपाल आफैं भुक्तानी सन्तुलनको पीडामा रहेका बेला एफडीआईका रुपमा आउने लगानीकर्ताले स्वदेशी बजारबाटै पुँजी जुटाएर लाभांशमात्र लैजान सके भने त्यसलाई पक्कै पनि स्वाभाविक मान्न सकिँदैन ।

यसअघि भैरहवामा निर्माण भएको वैदेशिक लगानीको टाइगर प्यालेश होटलले समेत यसैगरी स्वदेशी पुँजीबाटै होटल निर्माण गरेको पाइएको छ ।

होङ्सी शिवमको विज्ञप्तिमा भने परियोजना अब सफलतापूर्वक सम्पन्न हुने क्रममा पुगेको छ । १६ अर्ब रुपैयाँको यस सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि एक प्रमुख बैंकको रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ, सह–प्रमुख बैंक नेपाल इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरु प्रभु बैंकको ३ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख छ ।

७ वर्षको अवधि रहेको यस ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक सुरक्षण जमानत दिएका छन् । होङसी शिवम् सिमेण्टमा होङसी होल्डिङ लि.अन्तर्गतको एक सहायक प्रतिष्ठान हङकङ रेड लायन सिमेण्ट नम्बर ३ को ७० प्रतिशत हिस्सा र शिवम् सिमेण्ट लि.को एक सहायक प्रतिष्ठान शिवम् होल्डिङ प्रा.लि.को ३० प्रतिशत हिस्सा रहेको छ । होङसी शिवम् सिमेण्टले धितो पत्र बोर्ड र नेपाल राष्ट्र् बैंकबाट ९.८२ अर्ब रुपैयाँको एफडीआई स्वीकृति लिएको विज्ञप्तिमा उल्लेख छ ।

कारखाना पूर्ण क्षमतामा संचालन भए पश्चात् यसको प्रतिदिन क्लिन्कर र सिमेण्ट उत्पादन क्षमता ६००० टन (१२०,००० बोरासिमेण्ट प्रतिदिन) पुग्नेछ ।साथै कारखाना आफैले पनि कारखाना संचालनका लागि आवश्यक पर्ने ५० मेगावाट मध्ये १२ मेगावाट विद्युत फोहर वस्तुको तापबाट उत्पादन गर्ने लक्ष्य लिएको जनाइएको छ ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह