Logo

मुख्य समाचार

महासंघ उपाध्यक्ष अञ्जन श्रेष्ठद्वारा व्यावसायिक एकताका लागि अपिल


GDP Nepal
   १९ माघ २०७८, बुधबार


काठमाडौं । पछिल्लो समय निजी क्षेत्रमाथि सरकार र विभिन्न निकायबाट अनावश्यक हस्तक्षेप बढिरहे पनि आम व्यवसायीहरु एकजुट हुन सकेका छैनन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न वस्तुगत संघ संगठनहरुले व्यवसायीमाथि भइरहेको आक्रमणको विरोध गरेका छन् । तर, आम व्यवसायीबीच यसमा मतैक्यता देखिन सकेको छैन । कतिपय व्यवसायीले सरकारको कारबाही तथा अख्तियार दुरुपयोग अनुसन्धन आयोगका काम कारबाहीको खुलेरै स्वागत गरिरहँदा व्यवसायीबीच विभाजन देखिएको हो ।

व्यवसायीहरुबीच यसरी फाटो बढ्न नदिन कतिपय व्यवसायी सक्रिय देखिएका छन् । प्रायः मध्यमार्गी भूमिकामा देखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ ले व्यावसायिक एकताका लागि अपिल गरेका छन् ।

श्रेष्ठले राज्यका निकायले निजी क्षेत्रप्रति आकर्षित नै हुन नसक्ने ऐन नियमलाई प्रयोग गरी निजी क्षेत्रका व्यवसायीलाई दुःख दिने कार्य गरिरहेको भन्दै यसमा निजी क्षेत्रले सशक्त आवाज उठाउनु पर्ने अवस्था सृजना भएको बताए ।

“नेपालमा जस्तोसुकै व्यवस्था परिवर्तन भए पनि हामी व्यवसायीहरुलाई सधैं पीडित र प्रताडित बनाएको विगत र वर्तमान हामीसँग छ,” उपाध्यक्ष श्रेष्ठ भन्छन, “शासक र प्रशासकहरुले विभिन्न नीति, नियम र कानुनको गलत व्याख्या गर्दै सधैं निजी क्षेत्रलाई दबाउने र उनीहरुलाई डरमा बाँच्न बाध्य पार्ने कार्य गर्दै आएको प्रस्टै देखिन्छ ।”

श्रेष्ठका अनुसार अहिले उसलाई वा त्यसलाई परेको हो भनेर पन्छिने छुट निजी क्षेत्रका संघ संस्था र व्यवसायीलाई छैन ।

“यस्ता किसिमका क्रियाकलापको एक जुट भएर विरोध गरौं र समस्या समाधानमा सार्थक पहल गरौं, यस कार्यको लागि हामी व्यवसायी बीच अभुतपूर्व एकताको खाँचो छ । हामी एकबद्ध छौं र जस्तोसुकै समस्यासँग लड्न सक्छौं भन्ने देखाउँदै सबै व्यवसायीको सहअस्तित्वलाई सम्मान गरौँ,” उनले अपिलमा भनेका छन् ।

यस घडीमा समस्यामा परेका व्यवसायीहरूको मनोबल उच्च राख्न सबैले आफ्नो क्षेत्रबाट सहयोग र समर्थन गर्नुपर्ने लक्ष्मी समूहका कार्यकारी निर्देशक समेत रहेका महासंघ उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रकाशित : १९ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह