Logo

मुख्य समाचार

७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको पहुँच


GDP Nepal
   २३ माघ २०७८, आइतबार


काठमाडौं । नेपाल टेलिकमको ग्राहक संख्या २ करोड २७ लाख नाघेको छ । मंसिर मसान्तसम्मको यो तथ्यांकका आधारमा मुलुकको करिव ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीको १८ औं वार्षिकोत्सवमा निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले दिएको जानकारीअनुसार कोभिड १९ बाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद आव २०७७/७८ मा कम्पनीको कुल आय ४२ अर्ब २१ करोड पुगेको तथा खुद मुनाफा ७ अर्ब १३ करोड भएको जनाइएको छ ।

यस्तै, पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड राजस्व प्राप्त गरेको छ । कम्पनीले आव २०७७/७८ मा सबैखाले कर तथा गैरकर गरी राजस्वमा २७ अर्ब ७३ करोड रकम योगदान गरेको उनले जानकारी दिइन् ।

कम्पनीले अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषता सहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको छ । “हाल मुलुकको करिव ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ,” उनले भनिन् ।

वैद्यका अनुसार जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १६ लाख ४५ हजार, सीडीएमए सेवाका ४ लाख ३८ हजार र पीएसटीएन सेवाका ग्राहक ५ लाख २९ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक १ लाख ७४ हजार तथा एफटीटीएच.डाटा सेवाका ग्राहक १ लाख ५९ हजार रहेका छन् । २०७८ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५४ प्रतिशत रहेको छ ।

इन्टरनेट डाटा सेवातर्फ २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता कुल २ करोड २० लाख ९७ हजार भन्दा बढी पुगेका छन् ।

वार्षिकोत्सवमा अफरै अफर
कम्पनीको १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ ल्याएको छ । यस अन्तर्गत २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनसम्म, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म र ६९ रुपैयाँमा माघ १७ गतेदेखि फागुन ३ गते (फेब्रुअरी १ देखि १५) सम्म हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिने अफर ल्याएको छ । वार्षिकोत्सवको दिन माघ २२ गते २४ घण्टाका लागि कम्पनीको नेटवर्कभित्र भिओएलटीई कल निःशुल्क गरिएको थियो ।

प्रकाशित : २३ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह