Logo

अर्थनीति

अर्थतन्त्रको अवस्था भयावहः रेमिट्यान्स घट्यो, शोधनान्तर घाटा २ खर्ब ४१ अर्ब !


GDP Nepal
   २६ माघ २०७८, बुधबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो छ महिनामा अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको पुस मसान्तसम्मको मुलुकको आर्थिक स्थितिअनुसार अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको देखाएको छ ।

केन्द्रीय बैंकका अनुसार पुससम्म विप्रेषण (रेमिट्यान्स) आप्रवाह ५.५ प्रतिशतले कमी आई ४ खर्ब ६८ अर्ब ४५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्यामा उल्लेख्य रुपमा वृद्धि भए पनि रेमिट्यान्स घटेको छ । श्रम स्वीकृति लिनेको संख्या भने १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति समीक्षाअन्तर्गत पुस मसान्तसम्म चालू खाता ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो । यो घाटा हालसम्मकै उच्च हो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।

यद्यपि, यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रहेको थियो ।

शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको छ ।

यस्तै, वैदेशिक व्यापारतर्फ पनि निराशाजनक अवस्था छ । ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई ११८ अर्ब ८५ करोड पुगेको छ । तर, कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु.९९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो ।

यसरी कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११६५ अर्ब ८० करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई १०१५ अर्ब ५९ करोड कायम भएको छ ।

छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रकाशित : २६ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह