Logo

अर्थनीति

निक्षेपमा ब्याजदर वृद्धिको निर्णयमा किन बोल्यो उद्योग वाणिज्य महासंघ ?


GDP Nepal
   २९ माघ २०७८, शनिबार


काठमाडौं । सामान्यतयाः ब्याजदर वृद्धि हुँदा आम सर्वसाधारण लाभान्वित हुन्छन् । ब्याजदर वृद्धिका अप्रत्यक्ष असर बढी नै भए पनि ठूलो संख्यामा सर्वसाधारण लाभान्वित हुने भएकाले यसलाई लोकप्रिय कदम नै मानिन्छ ।

नेपालमा पनि ब्याजदर घटबढ स्वाभाविक रुपमा हुँदै आएको छ । नेपाल बैंकर्स संघले संस्थागत निर्णय गर्दै त कहिले बैंकहरुले आफूखुसी ब्याजदर तोक्दै आएका छन् ।

खुला बजार अर्थनीतिको सौंदर्य नै यो हो कि बजारमा अत्यधिक तरलता भएको बेला स्वाभाविक रुपमा कम ब्याजदर निर्धारण गरिन्छ र तरलता संकुचन हुँदै गएमा निक्षेपमा ब्याजदर बढाएर आकर्षित गरिन्छ ।

यसै क्रममा शुक्रबार निक्षेपमा ब्याजदर वृद्धि गर्ने बैंकहरुको निर्णयविरुद्ध निजी क्षेत्रको प्रमुख संगठन नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति सार्वजनिक ग¥यो ।

महासंघ अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा दुई उपाध्यक्षसमेत नेपालबाहिर रहेको बेला महासंघबाट जारी भएको विज्ञप्तिले धेरैलाई झस्काएको छ । कतिपयले यसलाई महासंघको लेटरहेडको दुरुपयोग समेत भन्ने गरेका छन् ।

महासंघको विज्ञप्तिमा ब्याजदर वृद्धिप्रति चिन्ता हुनु स्वाभाविक भए पनि निक्षेपकर्ताको हित प्रतिकूल हुने भएकाले यसलाई सर्वसाधारणसमेतले सहज रुपमा लिन सकिरहेका छैनन् ।

कतिपय बैंक तथा वित्तीय संस्था नै महासंघ एशोसिएट सदस्य रहेको अवस्थामा यसरी सबै सदस्यहरुको भावनाको प्रतिकूल हुनेगरी विज्ञप्ति निकालिनुलाई स्वाभाविक मान्न नसकिने एक पदाधिकारी बताउँछन् ।

महासंघको विज्ञप्ति यस्तो छः

कोभिडका कारण साना ठूला सवै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् । एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा संचालन हुन सकेका छैनन भने उत्पादित वस्तुहरुको विक्री वितरणबाट उठनु पर्ने रकम समेत बजारबाट उठन सकिरहेको अवस्था छैन । बैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको छ ।
बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेकै हो । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता छ । हरेक त्रैमासमा निक्षेपमा व्याज दर वृद्धि हुदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने हाम्रो ठहर छ । यसरी व्याज दरमा अस्थिरता कायम रहंदा मुलुकमा व्यवसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत नहुने हाम्रो बुुझाई छ । विगतका अनुुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा हाम्रो वलियो विश्वास छ । व्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दवावमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्दछ । व्यापार घाटाको दायरा निकै बढीरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा व्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने र त्यसले आन्तरिक उत्पादननै ठप्प हुन जाने अवस्था आउनेतर्फ हामी सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउछौं ।
यसर्थ अनपेक्षितरुपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउं पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघ राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गर्दछ । साथै थलिएका उद्योग व्यवसायहरुलाई सुुसंचालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैकिङ क्षेत्रसंग आग्रह गर्दै यसका लागि निरन्तर संवाद र सहकार्यमा रहन नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्दछ ।

प्रकाशित : २९ माघ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह