काठमाडौं ।
लकडाउनको समयमा समेत गुनासो व्यबस्थापनको काम सुचारु छ । हेलो सरकारमा प्राप्त आर्थिक अनियमितता र भ्रष्टाचार सम्बधि उजुरीको कारवाही प्रक्रिया का विषयमा आख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल टेलिभिजनको कार्यक्रमः सुशासन सवाल आज सांझ: ७ः२५ वजे, धन्यवाद ।
हेलो सरकारको सबैभन्दा पछिल्लो ट्वीट हो यो । अप्रिल २८, २०२० अर्थात २०७७ वैशाख १६ मा यो ट्वीटसँगै हेलो नेपालको ट्वीटर खाता निष्कृयजस्तै छ । त्यसयता हेलो सरकारले गुनासोकर्ता अर्थात सेवाग्राहीलाई जवाफ फर्काउन पनि छाडेको छ ।
यसअघि विभिन्न ‘फन्नी’ जवाफका कारणले समेत चर्चित हेलो सरकारलाई आम सेवाग्राहीले मेन्सन गर्दै गुनासो गर्न भने छाडेका छ्रैनन् । हेलो सरकारको ह्यान्डलबाट सिधा जवाफ आउन थालेपछि भने त्यसमा केही कमी आएको छ ।
के हेलो सरकार बन्द भएकै हो त ? २ लाख ५३ हजारभन्दा बढी उसका ट्वीटर फलोअरहरुले यसबाट नियमित सूचना पाउन झन्डै दुई वर्षदेखि नपाएका कारण यसलाई बन्द भएको भन्न पनि सकिन्छ ।
तर, प्रधानमन्त्री कार्यालयले भने हेलो सरकार बन्द नभएको र नियमित काम भइरहेको जनाएको छ । विगतमा जस्तो साामाजिक सञ्जालमा आफैं सक्रिय नरहे पनि हेलो सरकारले विगतमा जे जसरी काम गरिरहेको थियो, अहिले पनि सोही गतिमा काम गरिरहेको प्रधानमन्त्री कार्यालयको दावी छ ।
प्रधानमन्त्री कार्यालयको दोस्रो त्रैमास अवधिको प्रगति विवरण हेर्ने हो भने पनि हेलो सरकारले सक्रियतापूर्वक नै काम गरिरहेको देखिन्छ ।
दोस्रो त्रैमासिक अवधिमा हेलो सरकार शाखाबाट सम्पादन भएका मुख्य–मुख्य कामहरू शीर्षकमा दिइएको जानकारी अनुसार हेलो सरकार कक्षमा विभिन्न माध्यम (हेलो सरकार वेब पोर्टल, फेसबुक, भाइबर, ट्वीटर, इमेल, फोन सम्पर्क तथा प्रत्यक्षरुपमा कक्षमा नै उपस्थिति भइ) कूल २५३१ गुनासा प्राप्त भएका छन् ।
यसरी विभिन्न माध्यमबाट प्राप्त भएका गुनासा र फछ्यौटका लागि पुनः प्राप्त भएका समेत) गुनासोहरुलाई अध्ययन गरी सम्वन्धित निकायमा पठाउन उपयुक्त देखिएका गुनासो आवश्यक कार्वाहीका लागि सम्वन्धित निकायमा पठाईएको छ । यस अवधिमा सम्वन्धित निकायबाट समाधान भई आएका मध्ये फछ्यौट गर्न उपयुक्त देखिएको जम्मा १,०९७ (यो अवधि भन्दा अगाडि सम्वन्धित निकायमा पठाईएका, सम्वन्धित निकायमा नपठाई कक्षबाट नै फछ्यौट गरिएका समेत) गुनासो फछ्यौट गरिएको छ ।
गुनासोहरुको सम्बोधनमा तीव्रता ल्याउने उद्देश्यले वेब, फोन, एस.एम.एस., भाईबर तथा ईमेलका माध्यमबाट गुनासोहरु सम्बोधनका लागि ताकेता गरिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा हेलो सरकार शाखाबाट सम्पादित भएका कार्यहरुको वार्षिक प्रतिवेदन तयार गर्नका लागि शासकीय सुधार महाशाखा हेर्ने सचिवको संरक्षकत्वमा र महाशाखा प्रमुखको संयोजकत्वमा प्रतिवेदन तयारी समिति गठन भै प्रतिवेदन को अन्तिम मस्यौदा तयार गरिएको छ ।
मिति २०७६ साउन १ देखि संचालनमा आएको नयाँ विद्युतीय पोर्टलमा हालसम्म प्राप्त गुनासो मध्ये ६४.०६ प्रतिशत गुनासो फछ्यौट भएको छ ।
गुनासो व्यवस्थापनसँग सम्बन्धित अन्य नियमित तथा आकस्मिक कार्यहरु साथै शाखाका प्रशासनिक कार्यहरु निरन्तररुपमा सम्पादन गरिएको उल्लेख छ । यस्तै, तत्कालै सम्बोधन गर्नुपर्ने गुनासोहरु सोही समयमा नै सम्बन्धित निकायमा खबर गरी आवश्यक कार्वाहीको लागि पहल गरिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।
प्रतिक्रिया