Logo

राजनीति

चिनियाँ पत्रकारको नजरमा कस्तो छ नेपाल ?


GDP Nepal
   १२ फाल्गुन २०७८, बिहिबार


काठमाडौं । चिनियाँ पत्रकार चाउ सेङपिङ करिब एक दशकदेखि नेपालमा छन् । नेपालको राजनीतिमा पछिल्लो एक दशक निकै संवेदनशील पनि रह्यो । नयाँ संविधान निर्माणदेखि राजनीतिक पार्टीहरु जुट्ने फुट्ने क्रमले यो अवधि निकै महत्वपूर्ण रह्यो । नेपाली राजनीतिको महत्वपूर्ण समयलाई नजिकबाट नियाल्ने अवसर पाएका छन् चिनियाँ पत्रकार चाउ सेङपिङले ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाको काठमाडौं ब्युरो प्रमुख हुनुको नाताले उनको सम्बन्ध र पहुँच नेपालको उपल्लो तहदेखि तल्लो तहसम्म सहज छ । यसैले सेङपिङ यहाँको भू–राजनीति, कूटनीतिक, पर्यटन, संस्कृति, पर्यावरण लगायतका विषयमा गहिरो जानकार राख्छन् । पछिल्लो समय नेपालमा चर्चाको शिखरमा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसीसीका सम्बन्धमा पनि उनले अध्ययन गरेका छन् ।

पत्रकार चाउ सेङपिङले नेपालका समसामयिक मुद्दा तथा यहाँका सुषुप्त समस्याहरुको उठान गर्दै एक पुस्तक लेखेका छन् । अंग्रेजी भाषामा लेखिएको उनको पुस्तक ‘मेन्ड अर इन्ड’ (सुधार कि समाप्त होऊ) को नेपाली अनुवाद हालै प्रकाशित भएको छ । जनता सञ्चार गृहले प्रकाशन गरेको यो पुस्तकमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, चीनविज्ञ मदन रेग्मी, पूर्व राजदूत लिलामणि पौड्याल, वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला लगायतको भूमिकाले पुस्तकलाई झनै ओजपूर्ण बनाएको छ ।

‘चिनियाँ पत्रकारका नजरमा नेपाल (सुधार वा समाप्त होऊ’ शीर्षकको पुस्तकमा लेखकले राजनीति, अर्थशास्त्र, संस्कृति र शिक्षा, समाज र पर्यावरण र यात्रा तथा पर्यटन शीर्षकमा लेखहरु संगृहित गरेका छन् ।

पत्रकारका रुपमा आफूले तयार पारेका टिपोटहरु र समाचार विश्लेषण, आफ्नो नेपाल बसाइका अवधिमा आफूले सम्पर्क गरेका राजनीतिज्ञ, विभिन्न क्षेत्रका विज्ञहरु, उद्योगपति तथा बौद्धिक व्यक्तित्वहरुसँग भएका विचार–विमर्श र लिएका अन्तर्वार्ता लिने क्रममा निस्किएको निष्कर्षमा आधारित लेखहरु पुस्तकमा समावेश छन् ।

पुस्तकमा भएका पाँच खण्डमध्ये राजनीति र अर्थशास्त्र बढी पठनीय लाग्छन्। त्यसमा पनि राजनीति खण्डमा समावेश लेखले परिवर्तनको प्रक्रियामा रहेको नेपालका सबल र दुर्बल पक्षलाई केलाउने काम गरेको छ। आकारमा चीनभन्दा निकै सानो भए पनि इतिहास, भू–बनोट, संस्कृति, प्राकृतिक सुन्दरता र आर्थिक विकासका लागि आवश्यक सामर्थ्यको सम्भावनाका कारण विश्वकै ध्यान खिच्न सक्छ नेपालले। तर, हामीमा लघुताभाषको समस्या छ। यसकै कारण नेपाल माथि उठ्न नसकेको बताएका छन् सेङपिङले ।

समाचार संस्थाको प्रतिनिधिका हैसियतले सबै क्षेत्र नेपालीहरुसँग साक्षात्कार गर्ने मौका पाए उनले। त्यसैले त आफ्नो नेपाल बसाइका दौरान पुस्तक नै लेखेका छन् ।

दुई शक्तिशाली छिमेकी चीन र भारतको बीचमा रहेर पनि तिनका उपलब्धि आफ्नो स्वार्थमा उपयोग गर्नुको साटो दलीय स्वार्थमा अल्झिँदा नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको निष्कर्ष छ। व्यक्तिगत, गुटगत तथा दलगत स्वार्थका कारण नेपालले गति पक्रिन नसकेको बताएका लेखकले अहिलेको अन्योलपूर्ण अवस्थाको निदानको पनि संकेत गरेका छन्। उनले गरेका संकेत यथार्थपरक छन्, उनले प्रस्तुत गरेका विश्लेषण र निचोड व्यावहारिक पनि लाग्छन्।

नेपालको आर्थिक विकासका सम्भावना, प्रकृतिले उपहारस्वरुप प्रदान गरेका विकासका पूर्वाधारको व्यवस्थापन गर्न सक्ने अनुकूल अवस्था र पूर्वाधार बनाउन आवश्यक पर्ने पुँजी व्यवस्थापनबारे पनि लेखकले विश्लेषण र टिप्पणी गरेका छन्। नेपालमा आर्थिक विकासको प्रचुर सम्भावना भएको तर ती सम्भावनालाई यथार्थमा बदल्ने दूरदृष्टि भएको नेतृत्व नहुँदा ती सम्भावनाहरु सम्भावनामै सीमित भएको टिप्पणी सेङपिङले गरेका छन्।

सर्वसम्मत एवं सुविचारित राष्ट्रिय नीति र त्यो नीतिअनुसारको कार्ययोजना अनि कार्ययोजना कार्यान्वयन गर्न आवश्यक तत्परता, अनुशासन र समर्पण भएमात्र कुनै पनि देश समुन्नतिको बाटोमा अघि बढ्ने लेखकको विचार यथार्थपरक लाग्छ।

पछिल्लो समय एक देशले अर्को देशलाई शोषण गर्ने साम्राज्यवादी नीतिको विकल्पमा सबै राष्ट्रहरुबीचको सहकार्य र सबैको हितको रक्षाका लागि भन्दै बीआरआई परियोजना अगाडि सारेको छ। बीरआईका बहुआयामिक पाटाहरुको बारेमा बहस जारी छ। पुस्तकमा बीआरआईको त चर्चा छ नै, नेपाल–चीन सम्बन्धका विभिन्न पक्षहरु, एमसीसीको भू–राजनीति, नेपालमा चिनियाँ लगानी आदिबारे पनि लेखकले केलाएका छन्।

पुस्तकमार्फत सेङपिङले आफ्नो देशको निकटतम छिमेकी देश नेपाललाई थुप्रै बहुआयामिक सुझावहरु दिएका छन्। आफ्नो गन्तव्यमा पुग्न अलमलिरहेको नेपाललाई बुझ्न यो पुस्तक राम्रो सन्दर्भ सामग्री हुन सक्छ। पुस्तकमा नेपालको बिग्रेको अवस्थाबारे त चिन्ता व्यक्त गरिएको छ नै, लेखक सेङपिङले नेपालप्रतिको प्रेमभाव पनि व्यक्त गरेका छन्।

नेपाललाई चिनियाँ विद्धानहरुले कसरी हेर्छन् भन्ने दृष्टिकोणको परिपक्व प्रस्तुति पनि पुस्तकमा छ। सेङपिङले भनेका छन्– नेपाल एक्लो छैन, उसको साथमा चीन छ। लेखकले नेपालमा रहेका सम्भावनाहरु पनि औंल्याएका छन्। कृषि, जडीबुटी, खानी, पर्यटन, जलविद्युत आदि क्षेत्रमा नेपालले हासिल गर्न सक्ने प्रगतिको बारेमा उनले पुस्तकमा उल्लेख गरेका छन् ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह