Logo

मुख्य समाचार

जन्मदेखि मृत्युसम्मको संस्कारमा सुन चाहिन्छ तर खै हामीले पाएको ?


GDP Nepal
   २२ फाल्गुन २०७८, आइतबार


-ज्योत्सना श्रेष्ठ
नेपालको धार्मिक, साँष्कृतिक तथा आर्थिक क्षेत्रको विकासमा जेम एन्ड ज्वेलरी क्षेत्रले पु¥याइरहेको योगदानका लागि म मेरा सबै व्यवसायी मित्रहरुलाई धन्यवाद ज्ञापन गर्दै हाम्रो क्षेत्रलाई नेपाल सरकारले आजसम्म नीतिगत रुपमा जे जसरी सहयोग गर्नुभयो, त्यसका लागि धन्यवाद ज्ञापन गर्न चाहान्छु । अहिलेको विश्व परिवेश अनुसार नेपाल सरकारका नीति नियमहरुमा समसामयिक परिवर्तन जरुरी छ र त्यसका लागि उदार रुपमा प्रस्तुत हुनुपर्छ ।

हाम्रो जेम एन्ड ज्वेलरी क्षेत्रमा रहेका समस्या, सम्भावना तथा चुनौतीका विषयमा केही जानकारी गराऔं । हामीले जहिले जहाँ कार्यक्रम गर्दा पनि भन्ने कुरा एउटै छ, त्यो हो– कच्चा पदार्थको अभाव । हामी जेम एन्ड ज्वेलरी क्षेत्रका लागि कच्चा पदार्थ नै भएन भने कसरी ब्यापार गर्ने ? कसरी बैंकको ब्याज तिर्ने ? घरभाडा र कर्मचारीको तलब भत्ता कसरी बुझाउने ? नेपाल सरकारका विशिष्ठ व्यक्तित्वहरुलाई एकपटक हाम्रो ठाउँमा बसेर सोचिदिन म विनम्र आग्रह गर्दछु ।

जेम एन्ड ज्वेलरीको बजार बर्सेनि बढिरहेको छ । हाम्रो अध्ययन र अनुभव अनुसार वार्षिक झन्डै १० प्रतिशतले बजार बढिरहे पनि हामीले पाउने सुनको कोटा भने विगतमा भन्दा घटेको अवस्था छ । हाम्रो लागि कच्चा पदार्थ भनेकै सुनचाँदी हो । तर, देशको अर्थतन्त्रमा अलिकता समस्या देखिनेवित्तिकै सुनचाँदीको कोटा घटाइन्छ । हाम्रो क्षेत्र भनेको सरकारको नजरमा अनुत्पादक मात्रै भएको छ । तर, नेपाली संस्कारमा जन्मदेखि मृत्यु संस्कारसम्म सुनचाँदी र गरगहना चाहिन्छ । हामीले हाम्रो संस्कार नै रोक्ने कि यस क्षेत्रलाई अब कसरी अघि बढाउने भनेर सोच्ने हो तपाइँहरु नै भनिदिनोस् ।

हामी पनि देशको अर्थतन्त्र संकटमा परेको हेर्न सक्दैनौं । यसैले भनिरहेका छौं कि हामीलाई पर्याप्त सुनचाँदी दिनुहोस्, हामी निकासी गरेर विदेशी पैसा ल्याउन सक्छौं र ब्यापार घाटा कम गर्न सहयोग गर्न तयार छौं । विदेशबाट कच्चा पदार्थ ल्याएर भ्यालू एड गर्दै फेरि विदेश पठाउँछौं भन्दा पनि सरकारले हाम्रो कुरा नबुझेको देख्दा दुःख लागिरहेको छ । विदेशबाट अर्डरअनुसार कच्चा सुन ल्याएर नेपालमा गहना बनाइ पुनः निकासी गर्नसक्ने नीति पनि ल्याइनु पर्छ भन्ने मेरो आग्रह हो ।

नेपालजस्तो भूपरिवेष्ठित देशका लागि निकासी लागतका हिसाबले पनि यस्तै ससाना तर बहुमूल्य वस्तु निकासी गर्नु उचित हुन्छ । निकासीका लागि बरु हामीले जनशक्ति प्रशिक्षणका कार्यक्रम गर्नेतर्फ सोचौं । देशमै रोजगारी सिर्जना पनि हुने र विदेशी मुद्रा पनि आउनेतर्फ ध्यान दिऔं । निकासीका लागि इन्स्योरेन्सको समस्या र ड्युटी ड्र ब्याकको व्यवस्था हुन सके हामी सक्षम छौं भनेर म आग्रह गर्न चाहान्छु ।

यतिमात्र होइन, सुनचाँदी भनेको राज्यकै सम्पत्ति पनि हो । भोलि कुनै पनि कारणले देशमा आर्थिक संकट आयो भने जनतासँग भएको सुनचाँदी बेचेरै भए पनि संकटबाट पार लगाउन सकिन्छ ।

अन्य वस्तु आयात र सुनचाँदीलाई एउटै तराजुमा राख्नु भएन । किनकी सुनचाँदीको मूल्य अरु बस्तुको जसरी कहिल्यै पनि डेप्रिसिएसन हुँदैन ।

हाम्रो धर्म संस्कृति र संस्कारसँग जोडिएको र जुनसुकै बेला यसलाई रुपैयाँ पैसामा कन्भर्ट गर्न सकिने सम्पत्तिका रुपमा सुनचाँदी र गरगहनालाई आम मानिसले लिइरहेका हुन्छन् । यसैले यसलाई अनुत्पादक नभनौं ।
बैंक तथा वित्तीय संस्थामा यतिबेला तरलता संकट छ भन्ने हामीलाई थाहा छ । यसका कारण हाम्रो व्यापार व्यवसायमा पनि उत्तिकै संकट छ । बैंकहरुले सुनचाँदीका गरगहना धितो राखेर लोन दिन छाडेका छन् । हामीले लिएको बैंकको ब्याजदर बढेको छ । यो समस्याको समाधान जरुरी छ ।

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा शतप्रतिशत क्यास मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि हामी व्यवसायी मारमा परेका छौं । यसले हाम्रो पैसा बैंकमा ब्याज बिना नै डम्प भएर बस्ने गरेको छ भने अर्कोतिर हामीले पहिल्यै भुक्तानी गरिसकेका कारण क्वालिटीको चाँदी नपाउने चिन्ता पनि उत्तिकै हुन्छ ।

यसैले चाँदीमा शतप्रतिशत क्यास मार्जिनको व्यवस्था परिमार्जनका लागि म सम्पूर्ण व्यवसायीको तर्फबाट जोडदार आग्रह गर्दछु । यो व्यवस्थाले हामी जेम एन्ड ज्वेलरी व्यवसायी मात्र नभइ हस्तकलाका व्यवसायी साथीहरुलाई पनि अप्ठेरो परिरहेको छ ।

हाम्रो क्षेत्रको समस्या समाधानका लागि दुई वर्षअघि बनेको कार्यदलले दिएका सुझाव अझै कार्यान्वयन भएका छैनन् । तत्कालीन मुख्यसचिव ज्यूको निर्देशनमा बनेको वाणिज्य सचिव ज्यूको अध्यक्ष रहेको कार्यदलले दिएका सुझाव समेत कार्यान्वयनमा आउन सकेनन भन्नुपर्दा मलाई दुःख लागेको छ । ड्युटी ड्र ब्याक देखि बिलबिनाको सुन खरिदसम्बन्धी व्यवस्था आजसम्म कार्यान्वयन हुन नसक्नु दुखद् कुरा हो ।

निकासीका लागि हामीले आफ्नै प्रयास गरिरहेका छौं । अन्तर्राष्ट्रिय बजारको अध्ययन, विभिन्न अन्तर्राष्ट्रिय मेलामा सहभागिता गर्दै आएका छौं र सम्भावना देखिएको छ । विदेशमा भएका नेपालीमार्फत पनि हाम्रो गहनाको माग बढ्दै गएको छ । तर, फेरि पनि कच्चा पदार्थको अभावकै कारण हामीले निर्यात गर्न सकेका छैनौं ।

कोभिड महामारीसँगै स्वदेश फर्किएका यस क्षेत्रका धेरै भारतीय कामदार अझै नेपाल फर्केका छैनन् । उनीहरुलाई नेपाल फर्काउनु भन्दा स्वदेशमै दक्ष जनशक्ति उत्पादन किन नगर्ने भन्ने हाम्रो सोचाइ हो । नेपालमै तालिमको व्यवस्थापनका लागि सरकार र निजी क्षेत्रले हातेमालो गर्दै रोजगारी सिर्जना गर्ने प्रस्ताव यहाँमार्फत नेपाल सरकारसमक्ष राख्न चाहान्छु ।

हाम्रो संस्था जेम क्षेत्रमा काम गर्ने भएकाले नेपालमा रहेका बहुमूल्य खानी सञ्चालनका लागि पनि म नेपाल सरकारसमक्ष आग्रह गर्दछु । हाम्रो कच्चा पदार्थ उत्खननमै समस्या छ भने उत्खनन भइहाले पनि प्रशोधनका लागि बाहिर पठाउँदा ठूलो मूल्य चुकाउनु परिरहेको छ ।

हामीसँग यसका लागि प्रविधि, प्राविधिक र पुँजी अभाव छ । यसैले हामीले प्रविधि ल्याएर भए पनि लगानी गर्नु आवश्यक छ । अहिले त हामी ट्रकमा कच्चा पदार्थ पठाएर डालोमा भित्र्याइरहेका छौं । हाम्रा दुर्लभ स्टोनहरुलाई नेपालमै जेमको रुप दिनमा अब ढिला गर्नु हुँदैन ।

जेम एन्ड ज्वेलरी व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक छ । नेपालको दिगो आर्थिक विकासका लागि स्वदेशी कला, सीपको विस्तार गर्नुपर्छ । जेम एन्ड ज्वेलरीको उपभोक्ता मात्र नभइ यस व्यवसायमा पनि महिला सशक्तीकरण को काम भइरहेको छ । यसले महिला उद्यमशीलताको विकास गर्ने भएकाले पनि सरकारको साथ जरुरी छ ।


नेपाल रत्न तथा आभूषण संघको १७ औं वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष ज्योत्सना श्रेष्ठले दिनुभएको स्वागत मन्तव्य

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह