काठमाडौं । विदेशी मुद्रा सञ्चिती घटेसँगै नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको छ ।
आइतबार सूचना जारी गर्दै केन्द्रीय बैंकले सुनको कोटा दैनिक १० किलो निर्धारण गरेको हो । यसअघि वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे । नेपालमा सुन आयातको जिम्मेवारी वाणिज्य बैंकहरुलाई मात्रै रहेको छ ।
पछिल्ला महिनामा रेमिट्यान्स दर घटिरहेको छ भने व्यापारघाटा पनि उच्च छ । जसका कारण विदेशी मुद्राको सञ्चिती घट्न गइ सरकारले आयात प्रतिबन्धात्मक नीति अख्तियार गरिरहेको छ ।
केन्द्रीइ बैंकले भने मौद्रिक नीतिको समीक्षमार्फत नै उसले विलाशीताको वस्तुमाथि नियन्त्रण गर्ने बताएको थियो । सुनचाँदीलाई विलाशी बस्तुको सूचीमा राखिएको छ ।
मुलुकमा चालू आर्थिक वर्षको माघसम्म नेपालमा ३ हजार ६४३ किलो सुन आयात भइसकेको छ । उक्त परिमाणमा सुन आयातका लागि मुलुकबाट २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया