Logo

अर्थनीति

निर्माण व्यवसायी महासंघको पहिलो कामः पप्पु कन्स्ट्रक्सनको बचाउ


appharu
   १५ आश्विन २०७५, सोमबार


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पप्पु कन्स्ट्रक्सन कम्पनीका विषयमा विभिन्न सञ्चार माध्यमहरुमा आइरहेका समाचारप्रति आपत्ति जनाएको छ ।

महासंघको नयाँ कार्यसमिति गठन पछि पहिलोपटक विषयगत विज्ञप्ति जारी गर्दै रौतहट जिल्लाको लालबकैया नदीमा निर्माणाधीन पुलको विषयमा पप्पुलाई अनावश्यक रुपमा बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएको हो ।

रौतहटको टिकुलियामा भएको दुःखद डुङ्गा दुर्घटना र त्यसबाट हुनगएको मानवीय क्षतिले महासंघलाई समेत स्तब्ध बनाएको उल्लेख गर्दै महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– मानवीय जीवन र संवेदनासँग जोडिएको विषयलाई पुल निर्माण कार्यसँग जोडेर समाचार प्रकाशनमा आएकोप्रति महासंघको बिमति रहेको छ ।

महासंघले उक्त पुल निर्माणका लागि ३ वर्षभित्र काम सक्ने गरी २०७१ असारमा सम्झौता भएको चार महिनासम्म पनि साइट उपलब्ध नभएको दावी गरेको छ ।

पुलका लागि उपलब्ध गराउने जग्गाको विवादमै चार महिना बितेको र २०७२ साल बैशाखको भूकम्पले गर्दा निर्माण कार्य रोक्न सडक विभागबाट सूचना प्रकाशित भएको थप ४ महिना सम्मपनि साइट उपलब्ध नहुँदा काम अवरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ ।

त्यसलगत्तै निर्माण सामग्रीको अभाव र ८ महिनालामो मधेस आन्दोलनका कारण काम अघि बढ्न नसकेको महासंघले जनाएको छ । महासंघका अनुसार पर्याप्त रकम विनियोजन भएमा निर्माण कम्पनीले ६ महिना थप अवधिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

१५ करोड रुपैयाँको योजनामा हाल सम्म ६ करोड मात्र बजेट विनियोजन भएको हुँदा रकम अभावका कारणले काम प्रभावित भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुल निर्माण कार्य सुरु हुनुभन्दा पहिलेदेखि नै उक्तखोलामा डुङ्गा सञ्चालन हुने गरेको र दुर्घटनाको प्रकृति हेर्दा माझीले पुलको दक्षिणतर्फबाट डुङ्गा तार्नुपर्नेमा पुलको उत्तरतिरबाट तार्न खोज्दापानीको बहावले डुङ्गा पल्टाएर पुलको पिलरमा ठोक्किन गएको देखिने विज्ञप्तिमा जनाइएको छ ।

यसरी, खोलामा भएको दुर्घटनामा पुल निर्माणको जिम्मा लिएको कम्पनीलाई दोषी देखाउन खोज्नु आफैंमा पूर्वाग्रह प्रेरित देखिने महासंघले जनाएको छ ।

सडक विभागको प्रक्रियागत र परिस्थितिजन्य कारणले हुनगएको ढिलाइ नदेखे झै गरी निर्माण कम्पनीको टाउकोमा दोष खन्याउने काम न्यायोचित नभएको भन्दै महासंघले मुलुक निर्माणमा होमिएका १२ हजार ५ सय भन्दा बढी निर्माण व्यवसायीहरुलाई हतोत्साहित नपार्ने गरी सत्य तथ्यबुझेर मात्र समाचार सम्प्रेषण गरिदिन अनुरोधसमेत गरेको छ ।

प्रकाशित : १५ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह