Logo

बिजनेस होम

नेपाली विद्यार्थीलाई मुम्बई युनिभर्सिटीको आकर्षण


GDP Nepal
   ३० जेष्ठ २०७९, सोमबार


काठमाडौं । नेपाली विद्यार्थी उच्च शिक्षाका निमित्त लाखैं खर्चेर अष्ट्रेलिया, युरोप, अमेरिका पुग्ने गरे पनि नेपालको छिमेकी भारतमै उक्त मुलुकका सरह गुणस्तरीय शिक्षा सम्भव छ । उच्च शिक्षामा तेस्रो मुलुकको विकल्प भारतको मुम्बई विश्वविद्यालय हुने सरोकारवालाहरु बताउँछन् ।

मुम्बई विश्वविद्यालय भारतको सबैभन्दा पुरानो र प्रमुख विश्वविद्यालयहरू मध्ये एक हो । भारतको महाराष्ट्र राज्यकै सबैभन्दा पुरानो र सबैभन्दा ठूलो यो विश्वविद्यालय करिब ६ सय वर्गकिलोमिटरमा फैलिएको छ । महाराष्ट्रको ठाणे जिल्लादेखि सिन्धुदुर्ग जिल्लासम्म यसको फैलावट रहेको छ ।

मुम्बई विश्वविद्यालयमा नेपाली विद्यार्थीका रोजाईका विषयहरु पठनपाठन हुने आइतबार राजधानीमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. सुहाष पेड्नाकरले जानकारी दिए । उनले आफ्ना विद्यार्थीलाई आत्मनिर्भर, जिम्मेवार र परिपक्व नागरिकमा रूपान्तरण गर्ने नीति रहेको बताए ।

काठमाडौंको रोयल सिंङ्घी होटलमा आयोजित उक्त कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै उपकुलपतिले भने, “हाम्रो विश्वविद्यालय विश्व स्तरका सुविधाहरू सिर्जना गर्न र कायम राख्न प्रतिबद्ध छ, नेपाली विद्यार्थी हामीलाई आफ्नै मुलुकका नागरिकजस्तै लाग्छ र अहिलेसम्म जेजति नेपाली विद्यार्थीले यहाँबाट उच्च शिक्षा हासिल गरेका छन्, उनीहरु यस विश्वविद्यालयका ब्रान्ड एम्बेसडरका रुपमा रहेको पाएका छौं ।”

मुम्बई युनिभर्सिटीमा हाल ५६ विभागसहित १२ विशेष केन्द्रहरू, ७८१ सम्बद्ध कलेजहरू, २ मुख्य क्याम्पसलगायत ‘स्कूल अफ इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस’ सञ्चालनमा रहेको विश्वविद्यालयका नेपाल प्रतिनिधि तथा चिफ एम्बेसडर जीतेश नौलखाले जानकारी दिए । उनका अनुसार मुम्बई युनिभर्सिटीमा नेपाली युवा विद्यार्थीको पछिल्लो समय आकर्षण बढ्दो क्रममा रहेको छ । शिक्षण–सिकाइ, अनुसन्धान, परामर्श, र नवप्रवर्तन यस विश्वविद्यालयका सबल पक्ष रहेको नौलखा बताउँछन् ।

डा. सुनिल एस. पाटिल (दायाँ) र प्रतीक गान्धी (बायाँ)को बीचमा नेपाल प्रतिनिधि जीतेश नौलखा ।

कार्यक्रममा एडुल्याब एजुकेसनल एक्सचेञ्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रतीक गान्धीले विश्वका विभिन्न मुलुकका विद्यार्थीको आकर्षको केन्द्र रहेको युनिभर्सिटी अब मुम्बईमा नेपाली विद्यार्थीका लागि सहज हुने बताए । भाषा संस्कृतिमा निकटताका कारण नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि तेस्रो मुलुक जानुभन्दा मुम्बईमा राम्रो भएको उनको भनाइ छ ।

डा. सुनिल एस. पाटिल

नेपाली विद्यार्थीलाई ढोका खोल्दैछौं

डा. सुनिल एस. पाटिल
डाइरेक्टर, डिपार्टमेन्ट अफ स्टुडेन्ट डेभलपमेन्ट

तपाईको नेपाल भ्रमणको खास उद्देश्य के हो ?
नेपाली विद्यार्थीलाई युनिभर्सिटी अफ मुम्बईका विषयमा जानकारी गराउनु र यहाँका सबल पक्षबारे आश्वस्त पार्नु मेरो नेपाल भ्रमणको मुख्य उद्देश्य हो । हामी नेपाली विद्यार्थीले अन्य मुलुकमा गएर अध्ययन गर्ने मुख्य विषयहरु साइन्स एन्ड टेक्नोलोजिज, कमर्स, ह्युमानिटीजजस्ता संकायमा विभिन्न विषय अध्ययन अध्यापन गराइरहेका छौं । यो भ्रमणबाट नेपाली विद्यार्थीलाई हाम्रो विश्वविद्यालयको ढोका खुला गर्ने लक्ष्य लिएका छौं ।

नेपाली विश्वविद्यालय वा अन्य शैक्षिक प्रतिष्ठानसँग तपाइँहरुको कुनै सहकार्य छ ?
हाम्रो सहकार्य सीमित क्षेत्रमा भइरहेको छ । खासगरी रिसर्चका क्षेत्रमा सहकार्य भइरहेको छ, अहिलेसम्म स्टुडेन्ट एक्सचेन्जको कार्यक्रम हुन सकेको छैन ।

नेपाली विश्वविद्यालयसँग सहकार्यबाट भविष्यमा कत्तिको उपलब्धि हासिल हुने देख्नुभएको छ ?
अहिलेसम्मको सहकार्य उपलब्धिमूलक नै छ । हामीले विज्ञान प्रविधिका क्षेत्रमा यसको औचित्य देखिरहेका छौं । हाम्रो अत्याधुनिक ल्याब र प्रविधिका कारण नेपाली विद्यार्थीले फाइदा लिन सक्नेछन् । हामीले यसबाट केही शिक्षकहरुलाई प्रशिक्षित पनि गरेका छौं ।

मुम्बई युनिभर्सिटीमा विशेष विषयहरु कुनकुन रहेका छन् ?
खासगरी भोकेसनल विषयहरुमा हाम्रो विश्वविद्यालयको विशेष दक्षता रहेको छ । बायोटेक्नोलोजी, साइन्स लगायतका क्षेत्रमा हाम्रो विशिष्ट पहिचान छ भने फरेन ल्याङ्वेजमा डिपार्टमेन्ट हाम्रो युनिभर्सिटीको अर्को आकर्षण पनि हो । म्युजिक, थियटर एकेडेमी पनि हाम्रो पहिचान हुन् ।

नेपाली विद्यार्थीलाई कुनै सुविधा छ ?
हामीले सार्क मुलुकका विद्यार्थीका लागि अन्य विदेशी मुलुकको तुलनामा सस्तो शुल्क लिने गरेका छौं । भारतीय विद्यार्थीको दाँजोमा सार्क मुलुकका विद्यार्थीलाई दुईगुणा र अन्य मुलुकका विद्यार्थीलाई ५ गुणा शुल्क रहेको छ । छात्रवृत्तिका सन्दर्भमा एकद्वार प्रणाली रहेकाले इच्छुक विद्यार्थीले दूतावासमार्फत नै आवेदन गर्नुपर्छ ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह