Logo

अर्थनीति

खुल्ला त तातोपानी नाका ? कोदारी राजमार्ग भने दसैंलगत्तै मर्मत हुने !


appharu
   २८ आश्विन २०७५, आइतबार


काठमाडौं । भूकम्पपछि पूर्ण रुपमा बन्द रहेको नेपाल र चीनबीचको सबैभन्दा ठूलो नाका तातोपानी सुचारु गर्न चीनले आलटाल गरिरहेका बेला नेपाली पक्ष भने राजमार्ग स्तरोन्नतिमा जुटेको छ ।

चीनले विभिन्न बहाना देखाउँदै तातोपानी नाका खुलाउन नचाहिरहे पनि नेपाली पक्षले भने बाह्रै महिना चल्ने र ठूला ट्रक तथा कन्टेनरसमेत सजिलै ल्याउन सकिने भएकाले यही नाका सुचारु गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कोदारी राजमार्गको मर्मत सम्भारको काम दसैँलगत्तै अगाडि बढाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन पनि दिइसकेका छन् ।

आइतबार उक्त राजमार्गको स्थलगत निरीक्षणका क्रममा सिन्धुपाल्चोकको बाह्रबिसे, मितेरी पुलसम्म पुगेका मन्त्री महासेठले पहिरो नियन्त्रणको काम दसैँलगत्तै सुरु गर्न र त्यसका लागि आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणका क्रममा सो नाका आगामी चैत अन्तिम सातादेखि खुलाउने विषयमा सहमति भएको बताइएको छ । तर, नेपाली पक्ष उक्त मितिमा चीनले यो नाका सुचारु गर्नेमा ढुक्क भने हुन सकेको छैन ।

मन्त्री महासेठसँगै सिन्धुपाल्चोकबाट सांसद अग्निप्रसाद सापकोटा, प्रदेश नं ३ का वन, वातावरण तथा उद्योगमन्त्री अरुण नेपाल लगायत स्थलगत निरीक्षणमा पुगेका थिए ।
उनीहरुले पहिरो नियन्त्रण, राजमार्गको मर्मत सम्भारलाई प्राथमिकतामा राखी काम गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएपछि मन्त्री महासेठले यस्तो निर्देशन दिएका हुन् ।

तातोपानी नाका बन्द हुँदा चीनसँगको समग्र व्यापार नै प्रभावित भएको छ भने त्यस क्षेत्र सुनसान भएको छ ।

मन्त्री महासेठले सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठलाई राजमार्ग मर्मतको कार्ययोजना तत्काल तयार पार्न निर्देशन दिएका छन् भने सोही अवसरमा डिभिजन कार्यालय चरिकोटका सिनियर डिभिजनल इञ्जिनियर अशोक तिवारीले केही दिनभित्रै पूर्ण कार्ययोजना तयार पारी पेश गर्ने प्रतिबद्धता जनाए ।

यता, चीन सरकारको लगानीमा सिन्धुपाल्चोकको लार्चामा निर्माण भइरहेको सुक्खा बन्दरगाहको कामसमेत अगाडि बढेको छ ।

राससका अनुसार भूकम्पपछि नियमित मर्मत सम्भार हुन नसक्दा राजमार्गमा दर्जनौँ पहिरो खसेका छन् । यातायात सञ्चालनमा ल्याउने गरी राजमार्गको मर्मत गर्ने र आगामी चैतदेखि नाकासमेत खुल्ने भएकाले भन्सार, अध्यागमन कार्यालयलाई समेत थप व्यवस्थित गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

प्रकाशित : २८ आश्विन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह