Logo

Banner-news

धितोपत्र बोर्ड नेतृत्वले पूर्वाग्रह साँधेको भन्दै स्टक ब्रोकर एशोसिएसनको आपत्ति


GDP Nepal
   २७ असार २०७९, सोमबार


काठमाडौं । सरकारले धितोपत्र दलाल (स्टक ब्रोकर) थप्ने प्रक्रिया अघि बढाएपछि स्टक ब्रोकर एसोसिएसनले आपत्ति जनाएको छ ।धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली संशोधनका सम्बन्धमा धितोपत्र बोर्डले आफूहरुसँग कुनै परामर्श नगरेको भन्दै एसोसिएसनले आपत्ति जनाएको हो ।

नियमावली संशोधनका लागि तयार गरिएको मस्यौदामा धितोपत्र दलाल व्यवसायीको संख्या तथा पुँजी बढाउने उल्लेख छ । यसरी व्यवसायीको संख्या बढाउँदा प्रतिस्पर्धा भई सेवा विस्तार हुने बोर्डको भनाइ छ ।

हाल संचालनमा रहेका धितोपत्र दलाल व्यवसायीको संगठन स्टक ब्रोकर एसोसिएसनले यसमा विरोध जनाउँदै बोर्डमा ज्ञापन पत्र बुझाको छ । मस्यौदा गर्नुपूर्व कुनै सुझाव नलिई अस्वभाविक हतारोमा रातारात ल्याइएको एसोसिएसनको आरोप छ ।

संचालनमा रहेका व्यवसायीबाट भौगोलिक रुपमा बजार तथा सेवाको विस्तार हुन नसकेको भन्ने आरोप तथ्यहीन रहेको भन्दै एसोसिएसनले धितोपत्र बजारको विकासका लागि आफूहरुले दिनरात काम गरे पनि अहिले विस्थापित हुने वातावण सृजना गरिएको टिप्पणी गरेको छ ।

‘विगत तीन दशकदेखि यस बजारको सारथीका रुपमा रहेका हामी व्यवसायीले ओपन आउट क्राइ, सेमी अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालीको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पूर्ण रुपमा सहयोग गर्दै आएकै हौं’ बोर्डलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ‘धितोपत्रको भौतिक प्रमाणपत्र कारोबार हुँदाका विभिन्न झमेला र कामको बोझ सहेर रातभर कार्यालमै बसी राफसाफ कार्यलाई नियमित गरेकै थियौं ।’

धेरै बाधा र व्यवधान सहेर बजारलाई आजको यो अवस्थामा ल्याउन आफूहरुको भूमिका रहे पनि अब व्यवसाय सुधार हुन खोज्दा अरु व्यवसायी थप्ने तयारीले आफूहरुलाई अत्यन्तै मर्माहित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीको पुँजी बढाउने सम्बन्धमा पनि एसोसिएसनले विरोध जनाएको छ ।

‘विकसित देशहरुको भन्दा पनि धितोपत्र दलाल व्यवसाय मात्र गर्न व्यवसायीको पुँजी कयौं गुणाले उच्च राख्न लगाउनु भनेको नियामकले सुक्ष्म अध्ययनबिना नै हचुवाको भरमा अल्पदृष्टि राखी निर्णय गरेको प्रष्ट हुन्छ’ एसोसिएनले भनेको छ ।

बोर्डको हालको नेतृत्वले व्यवसायीप्रति पूर्वाग्रह राखेको ब्रोकरको आरोप छ । लगानीकर्ताले धितोपत्र बजारको पहुँचलाई विस्तार गर्न बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनुपर्ने, ब्रोकरको संख्या थप्नुपर्ने लगायतका माग राख्दै आएका थिए । सो अनुरुप धितोपत्र व्यवसायी नियमावली संशोधनको प्रक्रिया थालिएको छ ।

प्रकाशित : २७ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह