Logo

बैंक / बिमा /शेयर

इतिहासकै ठूलो बिमा सम्झौता: ४२० रुपैयाँ बिमा शुल्कबाट १० लाखसम्म उपचार खर्च पाइने !


appharu
   २९ कार्तिक २०७५, बिहिबार


काठमाडौं । कर्मचारी सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा १ लाख तथा घातक रोगको उपचारका लागि १० लाख रुपैयाँको बिमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कोषका प्रशासक तुलसीप्रसाद गौतम र बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेको यो बिमा योजना मंसिर १ गतेदेखि लागू हुनेछ ।

समझदारीसँगै कोषमा कोषकट्टी गराउँदै आएका सञ्चयकर्ताले बिरामी हुँदा औषधोपचारका लागि १ लाख र कडा खालका रोगको उपचारका लागि १० लाख रुपैयाँसम्म बिमाबापतको आर्थिक सहायता पाउनेछन् ।

समझदारी आगामी तीन वर्षसम्म कायम रहने र आपसी सहमतिमा अवधि थप गर्न सकिने सहमतिसमेत भएको छ । उक्त समझदारीले कोषमा नियमित कोषकट्टी रकम जम्मा गर्ने सञ्चयकर्तालाई अतिरिक्त उमेर हद वा पदावधिका कारण अवकास भई सो मितिले छ वर्षसम्म कोषबाट भुक्तानी नलिएका सञ्चयकर्तालाई समेटेको छ ।

समझदारीअनुसार बिमा शुल्क प्रतिवर्ष प्रतिसञ्चयकर्ता ४ सय २० का दरले जम्मा २५ करोड २० लाख हुनेछ । बिमा अवधि समाप्त भई नवीकरण गर्दा अघिल्ला वर्षमा दाबी भुक्तानी भएको रकम थपघट भएको सञ्चयकर्ताको सङ्ख्यासमेतको अधारमा बिमा नवीकरण शुल्कमा पुनरावलोकन हुनेछ ।
बिमा शुल्कबापतको रकम कोषबाट एकमुष्ठ भुक्तानी भएको मितिदेखि कम्पनीले एक वर्षका लागि बिमालेख जारी गर्नेछ ।

घातक रोगको उपचारका लागि भएको वास्तविक खर्च वा १० लाखमध्ये कम हुन आउने रकम प्रदान गरिने कोषले जनाएको छ । हृदयाघात, मिर्गौला खराबी, अर्बुद, अल्जाइमर, पार्किङ्सन, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र कलेजो रोगलाई घातक रोग मानिएको छ ।

यस्तै बिमा अवधिमा अधिकतम १ लाखमा नबढ्ने गरी न्यूनतम रु तीन हजार वा वास्ताविक खर्चको १५ प्रतिशत कट्टा गरी एकै पटकमा वा पटकपटक गरी रु ३० हजारमा नबढ्ने गरी ‘सर्जन’ वा ‘एनेस्थियाटिष्ट’को दस्तुर तथा शल्यक्रिया कक्षको शुल्कबापतको खर्च सञ्चयकर्तालाई प्रदान गरिनेछ ।

सहमतिअनुसार एक वर्षमा अधिकतम् २० हजार (एक पटकको उपचारमा रु १० हजारसम्म) चिकित्सकको जाँच शुल्क, एक्सरे वा विशेषज्ञ सेवाशुल्क वा ‘प्याथोलोजिस्ट’ शुल्क वा रोग निदान उपकरण शुल्क प्रदान गरिनेछ । अस्पतालमा भर्ना शुल्क प्रतिदिन २ हजारमा नबढ्ने गरी एक वर्षमा २५ हजारसम्म उपलब्ध गराइन्छ ।

सर्जिकल सामग्री खरिदको लागि एक वर्षमा अधिकतम जम्मा ८ हजार (तीन हजारसम्मको कृतिम हात वा खुट्टासमेत समावेश गर्न सकिने), एक पटकमा ५ हजार नबढ्ने गरी अधिकतम् १५ हजारसम्मको औषधि खरिद खर्च सञ्चयकर्ताले पाउनेछन् । बढीमा दुई पटकको लागि एक पटकमा ४ हजार ५०० सम्मको प्रसूति खर्च प्रदान गरिने कोषले जनाएको छ ।

दुर्घटनाबाहेक प्रतीक्षा अवधि बिमालेख जारी भएको मितिले औषधोपचारको हकमा ३० दिन र घातक रोगको हकमा ९० दिन हुनेछ । बिमालेख नवीकरण गर्दा प्रतीक्षा अवधि लागू हुने छैन ।

सञ्चयकर्ताले अस्पतालबाट घरफिर्ता भएको ३५ दिन वा बिरामी भएको ६० दिनभित्र कम्पनीलाई सोको जानकारी गराउनुपर्नेछ । दाबीको लागि आवश्यक कागजपत्रसहित सञ्चयकर्ताले कम्पनीसमक्ष अस्पतालबाट घरफिर्ता भएको सामन्यतः छ महीनाभित्र पेश गरिसक्नुपर्ने छ ।

शाखा कार्यालयमार्फत रु २५ हजारसम्मको दाबी रकमको भुक्तानी १५ दिनभित्र, रु २५ हजारदेखि एक लाखसम्मको दाबी ३० दिनभित्र र घातक रोगका लागि ४५ दिनभित्र केन्द्रीय कार्यालयमार्फत दाबी गर्न सकिने समझदारीमा उल्लेख छ ।

बिमा रकम दाबी गर्न कम्पनीले तोकेको ढाँचामा सञ्चयकर्ताको निवेदन, कम्पनीबाट उपलब्ध गराइएको फारम, अस्पतालको छाप, सम्बन्धित चिकित्सकको दस्तखत र नेपाल मेडिकल काउन्सिलले उपलब्ध गराएको दर्ता नम्बर, चिकित्सको सक्कलै पूर्जा र ‘डिस्चार्ज स्लिप’सहित कोषको प्रमाणित पत्र पेश गर्नुपर्नेछ ।

दुर्घटनाबाट उपचार गर्नुपर्ने बाहेक दाँतको उपचार वा शल्यक्रिया, आँखाको सामान्य जाँच वा चश्मा खरिद, श्रवण उपकरण खरिद र ‘कस्मेटिक सर्जरी’, मादक पदार्थ वा लागूपदार्थ सेवन तथा अनधिकृत तवरबाट अन्य औषधिको सेवनका कारण सिर्जित रोग तथा चोटपटकको उपचारमा बिमा दाबी गर्न नसकिने कोषले स्पष्ट पारेको छ ।

दुई मुलुकबीच भएको घोषित वा अघोषित लडाईं, आमहड्ताल, हुलदङ्गामा सहभागी हुँदा भएको चोट पटक वा उपचार खर्च तथा बिमालेख प्रारम्भ हुनुभन्दा अगाडि लागेका रोगको उपचारका क्रममा भए÷गरेका खर्च र बिमालेख जारी भई प्रतीक्षा समय सीमाभित्र भएका खर्च बिमाले नसमेट्ने कोषले जनाएको छ ।

आयुर्वेदिक औषधिका खर्च तथा उपचार उपकरणको प्रयोगमा बिमा दाबी गर्न पाइने छैन तर कमलपित्तको आयुर्वे्दिक उपचारमा भने बिमा दाबी गर्न सकिनेछ । विदेशमा गरेका उपचार तथा खर्चहरु चिकित्सकको सिफारिशमा बिमालेखको सीमाको अधिनमा रही भुक्तानी दिन सकिनेछ ।

कोष र बिमा कम्पनीबीच भविष्यमा सञ्चयकर्ताको परिवार तथा अवकाश प्राप्त सञ्चयकर्तालाई समेत समावेश गरी सम्वन्धित व्यक्तिले बिमा गर्न चाहेमा आवश्यक व्यवस्था गर्न सकिने समझदारीसमेत भएको छ ।

प्रकाशित : २९ कार्तिक २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह