काठमाडौं । उद्योगपति सिद्धार्थ शमशेर राणा पाँचौं पटक सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । सरकारले सातौं राष्ट्रिय कर दिवसका अवसरमा उनलाई व्यक्तिगत आयकर विधामा सम्मान गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले राणासहित सातौं राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरे ।
राणा पाँचतारे होटल सोल्टीसहित ट्रेडिङतर्फ टाटा गाडीको विक्रेता सिप्रदी ट्रेडिङ, जलविद्युततर्फ भोटेकोशी हाइड्रोपावर तथा ट्राभललगायत विभिन्न क्षेत्रमा संलग्न छन् ।
शाही परिवारका व्यापारिक साझेदारका रूपमा सधँ चर्चामा रहने राणाको कम्पनी राजतन्त्र अन्त्यपछि पनि उत्तिकै सफल छ । केही सेवामूलक तथा उत्पादनमूलक व्यवसायमा समेत संलग्न राणाले तारा म्यानेजमेन्टमार्फत जलविद्युत् क्षेत्रमा पनि लगानी गरेका छन् ।
कर दिवसका अवसरमा बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । यसअघि पनि दुई पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो ।
यस्तै, निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योग क्षेत्रतर्फ हिमाल पावर लिमिटेड, कृषि तथा पशुपक्षी क्षेत्रतर्फ प्रोवायोटिक उद्योग तथा सहकारीतर्फ छिमेकी लघुवित्त उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।
बैंक वित्तिय संस्थातर्फ नबिल बैंक, बीमामध्येबाट नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ नोबल मेडिकल कलेज, सूचना तथा प्रविधि सेवातर्फ एफवान सफ्ट इन्टरनेशनल प्रालि र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाता घोषित भएका छन् ।
व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालि तथा रु ४० करोड कारोवार भएका मध्येबाट नेपाल इन्भेष्टमेन्ट प्रालि, वार्षिक रु ४० देखि ८० करोड कारोवार गर्ने मध्येबाट नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र विगत १० वर्षदेखि नियमित र समयमै कर बुझाउने घोराही सिमेन्ट प्रालिलाई समेत सम्मान गरिएको छ ।
प्रतिक्रिया