काठमाडौं । । ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायतका १५१ बुँदे मागहरु अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारेमा प्रभावकारी छानविन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ ।
कार्यक्रममा अभियानका अभियन्ता तथा अधिवक्ता बालकृष्ण नेउपानले नेता र उनीहरुको आफन्तहरुको नाममा अकुत सम्पत्ति रहेको भन्दै तत्काल छानबिन गर्नुपर्ने माग गरे ।
नेउपानेले सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र तीनका आसेपासे, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा तथा देउवाकी पत्नी आरजु राणा देउवा र नेकपाकै वरिष्ठ नेता झलनाथ खनालको नाममा रहेको र उनीहरुका आफन्तहरुको नाममा भएको अकुत सम्पतिको छानबिन गर्न माग गरेका हुन् ।
शनिबार रिपोर्टसै क्लबमा उनले भने– पहिलो लटमा माथि उल्लेखित गरेका व्यक्तिको अकुत सम्पति राष्ट्रियकरण गरियोस्, त्यसपछि अर्को लटमा अरु व्यक्तिहरुको पालो आउँछ, दुई तिहाई बहुमतको सरकार छ, सरकार जनताको गार्जियन हो, जनताको हकहित, दुःख र सुखमा साथ दिनुपर्छ, तर सरकार जनताका यी विषयमा उदासिन देखियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य १५ सय जोडी ईसाईको आर्शिवाद लिन लाईनमा बसेको देखिएको उनको भनाई छ । उनले भने, ‘धर्मपरिर्वतनमा स्वयम् हाम्रो सरकार लागेको छ, सत्ता, शक्ति र सम्पतिको चरम रुपमा दुरुपयोग भएको छ ।’
नेउपानेले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको भनेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । अभियानले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ– बलात्कारी, भ्रष्टचारी र राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्नेहरुलाई सरकारले कानुनको दायरामा ल्याई कारबाही गर्नसमेत चासो देखाएको छैन् ।
अभियानका अभियन्ता डा.सुरेन्द्र भण्डारीले वाइडबडी खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको खबरहरु आईरहेको बताउँदै यसकाबारेमा एक हप्ताभित्र प्रभावकारी छानबिन आयोग गठन गर्न सरकारसँग माग गरे ।
प्रतिक्रिया