Logo

मुख्य समाचार

दुई वर्षभित्र खहरेको समस्या समाधान गर्न नसके फेरि मत माग्न नआउने गगन थापाको घोषणा


GDP Nepal
   २६ कार्तिक २०७९, शनिबार


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

थापाले दुई वर्षमा खहरेको समस्या समाधान गर्न नसकेमा फेरि मत माग्न नआउने घोषणा गरे । खहरे खोलाको छेउमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले भने, ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्को पटक तपाईंहरुको बीचमा मत माग्न आउँदैनौं ।

उनले खहरेको छेउँमा रहेका घर अगाडिको फोहोरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन आग्रह गरे । “मैले तपाईहरुको घर अगाडिको फोहोर मात्रै हैन, देशकै फोहोर सफा गर्ने अठोट गरेको छु, त्यसका लागि तपाईहरुको साथ अनिवार्य हुन्छ, मलाई रुख चिन्हमा मतदान गरेर त्यो अठोट पूरा गर्ने अवसर प्रदान गरिदिनुहुन अनुरोध छ,” उनले भने । बुढानीलकण्ठ वडा नम्बर ११ र १२ हुँदै वडा नम्बर १० तिर बग्ने खहरे खोलाको छेउँमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गरेको छ ।

बाढीको समस्या समाधानका लागि आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाउन लागिएकाले त्यो निर्माण सम्पन्न भएपछि समस्या नहुने नेता थापाले जानकारी दिए । बाढीको समस्या समाधान गर्न आफ्नो भरमग्दूर प्रयासबाट काम अगाडि बढे पनि कतिपय व्यक्तिले भ्रमण फैलाउने प्रयास गरेकाले भ्रममा नपर्न पनि उनले स्थानीयबासीलाई आग्रह गरे । थापाका अनुसार बाढी नियन्त्रणका लागि पटक पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट पारेको छ र काम अगाडि बढीरहेको छ ।

विक्रम संम्वत २०५४ सालदेखि शुरु भएको खहरेको बाढीको समस्या समाधान गर्न कांग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाएका छन । उपत्यका विकास प्राधिकरणमार्फत अगाडि बढाइएको सो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेर गत महिना बोलपत्र पनि प्रकाशित गरेको छ । दैनिक घरदैलोका क्रममा नेता थापालाई अधिकांश मतदाताले पुरानो पुस्तालाई विस्थापित गर्न र राजनीतिमा पुस्तान्तरण गर्न सक्ने नेताका रुपमा लिएको बताउने गरेका छन् ।

प्रकाशित : २६ कार्तिक २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह