Logo

सूचना/प्रविधि

‘म विवादास्पद हैन चर्चितमात्र हुँ, म जत्तिको कुशल र सक्षम प्रशासक को छ ?’


appharu
   ११ पुस २०७५, बुधबार


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफू विवादित व्यक्ति नभएर चर्चितमात्र भएको पनि दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लबमा उनले भने– यो देशमा यदि दुई चार जना यदि कुशल प्रशासकको नाम आउँछ भने त्यसमा मेरो पनि नाम पर्छ । त्यसैले म चर्चित व्यक्तित्व हुँ । तर, विवादित होईन् ।

उनले आफू भ्रष्टाचारी सावित हुने त परको कुरा आजसम्म कुनै काण्डमा आरोपितसमेत नभएको दाबी गरे । यो–यो ठाउँमा दिगम्बर झाले गलत गर्यो भनेर कसैलेपनि आजसम्म औंलासमेत उठाउन नसकेको उनले स्पष्ट पारे ।

आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने उनले स्पष्ट पारेका छन् । उनले भने– मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।

साक्षात्कारमा अध्यक्ष झाले भने– म जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे होईन, म त काम गर्ने मान्छे हुँ । म सर्भिस डेलिभर गर्न चाहन्छु । म पनि स्वतन्त्र नागरिक हुँ । मेरोपनि मान, सम्मान र सामाजिक र पारिवारिक प्रतिष्ठा छ । मेरो प्रतिष्ठामाथि आँच पुर्याउनेगरि नेताज्यूहरुले बोल्नुभन्दा अगाडि कमसेकम अध्ययन गरिहाल्नुहोस् । कसैलाईपनि आरोप लगाउँदा अन्याय नहोस् भनेर सोच्नुपर्छ ।’

आफूले यसरी अहोरात्र काम गर्दापनि बिना कुनै कारण सत्तारुढ दल नेकपाका नेताहरुको राजनीतिक झगडामा आफूलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न भएकोमा उनले आपत्ति जनाए । उनले भने– मलाई बदनाम गरिएको छ । कुनै गल्ती नै नगरेको र आरोप नै नलागेको मजस्तो व्यक्तिलाई आज आरोपित गरिएको छ । उहाँहरुले त भ्रष्टाचारी नै ठहर गरिदिनुभएको छ । यसप्रति म निकै खिन्न छु । दुःखी छु । उहाँहरुको आफ्नो राजनीति होला, तर आफ्नो राजनीतिमा मलाई एउटा गोटीको रुपमा प्रयोग गरिँदैछ । यही दुःखको कुरा हो ।’

प्रकाशित : ११ पुस २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह