Logo

घुमफिर

कञ्चनगढी नजिकमा प्राचीन चमेरे गुफा


GDP नेपाल
   ६ माघ २०७९, शुक्रबार


आन्तरिक तथा बाह्य दृष्टिकोणले प्रचुर पर्यटकीय सम्भावना बोकेको जिल्लाको बर्दघाट नगरपालिका–५ स्थित कञ्चनगढी नजिक प्राचीन चमेरे गुफा फेला परेको छ ।

नेपालका एक सय पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्य मध्येको एक महत्वपूर्ण स्थलका रुपमा रहेको कञ्चनगढी क्षेत्रभन्दा करिब डेढ किलोमिटर उत्तरमा प्राचीन चमेरे गुफा फेला परेको हो ।

विभिन्न प्रकृतिका आकृति देखिने पहरासँगै पानीको छहरामा रहेको उक्त चमेरे गुफा क्षेत्रलाई अब कञ्चनगढीकै अर्को महत्वपूर्ण स्थलका रुपमा विकास गरेर अघि बढ्ने बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

स्थानीय वडावासी विष्णु पोखरेलले त्यो स्थानमा पानीको छहरा र पहरासँगै पहरामा गुफासमेत रहेकाले त्यसको विशेषता अझ बढी हुनसक्ने भएकाले त्यसको खोज अनुसन्धान हुन जरुरी रहेका बताउनुभयो ।

नगरपालिकाले कञ्चनगढी क्षेत्रको विकासका लागि तयार गरेको रु १४ करोडको लागत अनुमानअनुसार पर्यटकीय पूर्वाधारका लागि पहिलो चरणमा रु चार करोड ५६ लाखको लागतमा भौतिक निर्माण कार्यलाई तीव्रता दिइरहेका बेला चमेरे गुफासमेत फेला परेपछि अब त्यस क्षेत्रलाई बृहत् विकास क्षेत्रअन्तर्गत रहेर विकासको काम गर्ने नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो ।

उहाँले कञ्चनगढीदेखि चमेरे गुफाबीचको स्थानमा पर्ने कञ्चन छहरा र चमेरे गुफाभन्दा माथि रहेको हात्ती दहलाई समेत समेटेर लघु जलविद्युत्सहित सिँचाइलाई समेत जोडेर त्यसको विकास गर्न सकिने भएकाले सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।

प्रमुख प्रसाशकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कञ्चनगढी क्षेत्र आसपासको १२÷१५ बिघा क्षेत्रमा बहुवर्षे फलफूलका बिरुवा रोप्नेदेखि गौशाला निमार्ण लगायतको कार्यलाई समेटेर गुरुयोजना बनाउने गरी अघि बढ्न सकिने सम्भावना देखिएको बताउनुभयो ।

पुरातात्विक, धार्मिक तथा ऐतिहासिक एवं पर्यटकीयस्थलका रुपमा रहेको कञ्चनगढी क्षेत्रको संरक्षण र प्रचारप्रसार गरे पर्यटन प्रवद्र्धनसँगै समग्र नगर नै समृद्ध हुनसक्ने प्रचुर सम्भावना रहेको बताइएको छ ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह